कला


फिल्म निर्माणमा व्यापारिक घराना: टिक्न भने मुस्किल, शेखर भन्छन्- कर्पोरेट कल्चर भित्र्याउँछु

फिल्म निर्माणमा व्यापारिक घराना: टिक्न भने मुस्किल, शेखर भन्छन्- कर्पोरेट कल्चर भित्र्याउँछु

लक्ष्मी बलायर
माघ १४, २०८१ सोमबार १९:४०, काठमाडौँ

गत बिहीबार बाइस्कोप सिनेमा प्रालिले फिल्म ‘परान’ निर्माण घोषणा गर्‍यो। दीपक आचार्य (काकु)को लेखन र निर्देशनमा बन्ने यो फिल्मको खबर सिनेक्षेत्रका लागि ‘सरप्राइज’ थियो। कारण : यस चलचित्रमार्फत नेपालका चर्चित उद्योगपति शेखर गोल्छा पहिलोपटक फिल्म निर्माणमा आए। 

गोल्छा ग्रूप हाँक्ने शेखर नेपाल उद्योग वाणिज्य महासंघका निर्वतमान अध्यक्ष पनि हुन्। त्यसैले सिनेक्षेत्रमा शेखरको प्रवेशले एउटा तरंग पनि ल्याएको छ। किनकि नेपालमा फाट्टफुट्टबाहेक उद्योगपतिहरूले फिल्मक्षेत्रमा लगानी गर्न खासै चासो दिएको देखिँदैन।  

गत कार्तिकमा रिलिज भएको ‘पूर्ण बहादुरको सारंगी’ले बक्स अफिसमा नयाँ इतिहास रचेको छ। यस फिल्मले घरेलु बक्सअफिसमा ५० करोड बढीको व्यापार गरिसकेको छ भने देशभित्र तथा बाहिर गरेर १ अर्ब नै कमाएको दाबी पनि गरिँदै छ। साथै यो वर्ष अन्य नेपाली फिल्महरूले पनि राम्रो कमाइ गरे। जसले नेपाली फिल्मको बजार विस्तार भएको देखिन्छ।

गोल्छाको भनाइमा पनि ‘पूर्ण बहादुरको सारंगी’को कमाइ तथा सफलताले पनि उनलाई फिल्मक्षेत्रमा आउन प्रेरित गरेको हो। 

‘तर, हाम्रो फिल्म प्रोडक्सन कम्पनी ९ वर्षअघि नै दर्ता गरेका थियौँ,’ उनी भन्छन्। 

वास्तवमा नेपालमा पछिल्ला वर्षहरूमा उद्योग तथा व्यवसायमा मन्दी आएको छ। अर्थतन्त्रको चालक मानिने निजीक्षेत्र पनि निराश छ। यही क्रममा लगानीका नयाँ क्षेत्रको खोजी गर्दा फिल्मी क्षेत्रमा शेखरको आँखा परेको हो।

पछिल्ला वर्षहरूमा नेपाली फिल्मको संख्या तथा स्तर पनि बढेका कारण राम्रै व्यापार पनि हुन थालेको छ।

‘नयाँ व्यवसाय खोजी गर्ने क्रममा पछिल्लो समय मैले फिल्म तथा शिक्षा क्षेत्रमा नयाँ आशा देखेँ,’ उनी भन्छन्, ‘त्यसैले मैले फिल्म प्रोडक्सन हाउस र कलेजमा लगानी गरेँ।’ 

‘कर्पोरेट हाउस फिल्म उद्योगमा आउनु सकारात्मक’
व्यापारिक घरानाहरूको आगमनलाई फिल्म क्षेत्रले सकारात्मक मानेको छ। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी पनि कर्पोरेट हाउस सिनेमामा आउनु निकै सुखद रहेको बताउँछन्।

‘कर्पोरेट हाउस र बिजनेसम्यान आइदिनुभयो भने एककिसिमको संस्कार बस्छ। विविध क्षेत्रको लगानी भएपछि एउटा फिल्म हिट हुँदैमा उद्योग बनिहाल्ने र एउटा फिल्म फ्लप हुँदैमा उद्योग सकिइहाल्ने भन्ने हुँदैन। कर्पोरेट हाउस आएपछि लगानीमा निरन्तरता हुने र सिस्टम सुरु हुने भएकाले उद्योग राम्रो स्थितिमा हुन्छ। त्यसलाई मैले सकारात्मक रूपमा लिएको छु,’ उनी भन्छन्। 

निर्देशक तथा लेखक मनोज पण्डित पनि शेखर गोल्छाजस्ता उद्योगपतिले फिल्ममा चासो दिनु नेपाली सिनेमा उद्योगको लागि ठूलो कुरा मान्छन्। कर्पोरेट हाउसको प्रवेशले फिल्मक्षेत्रलाई व्यवस्थित बनाउने भन्दै उनी यसलाई अवसर र उत्साहित सम्भावनाको रूपमा पनि हेर्छन्।

पण्डित कर्पोरेट हाउसहरू फिल्मक्षेत्रमा आउँदा थुप्रै फाइदा देख्छन्। कर्पोरेट क्षेत्रको प्रवेशले सर्जकहरूको सिर्जनाको उडानलाई सहज बनाउने उनको विचार छ। 

‘चलचित्र निर्माणमै खर्च धेरै गर्न सकिँदैन भन्ने हाम्रो पहिलो दृष्टिकोण हुन्छ। जसले सोचमै सीमितता ल्याउँछौँ। हामीले कथाका आधारभूत तत्वहरूलाई विनाश गरेर वा त्यसलाई सिर्जनात्मक र काल्पनिकतामा जुन किसिमको आयाम दिनुपर्ने हो, त्यो नगरी बजेटको सीमितताको मनोविज्ञानले एकदमै खुम्च्याइदिएको छ,’ पण्डितले भने, ‘राम्रो कर्पोरेट हाउसहरू आउँदा सर्जकको सिर्जनाको काल्पनिक उडानलाई चाहिँ सहज बनाउन सक्ने सम्भावना हुन्छ। बजेटको सीमितताको कुण्ठित मनोविज्ञानभित्र बसेर हामीले जुन सिनेमाहरू सोचिरहेका र लेखिरहेका छौँ, त्यसबाट हामीलाई मुक्त बन्ने सम्भावना बन्छ।’

पण्डितका अनुसार कर्पोरेट हाउससँग बजार व्यवस्थापनलाई हेर्ने अनुभवी तथा छुट्टै संयन्त्र हुन्छ। बजार व्यवस्थापनदेखि विज्ञापन गर्न सक्ने भएकाले सिनेमालाई उत्पादनको रूपमा धेरैभन्दा धेरै दर्शकसँग पुर्‍याउन सक्ने सामथ्र्य पनि हुन्छ। त्यसले गर्दा फिल्मको बजार फराकिलो बनाउन वा वृद्धि गर्न सक्ने उनको भनाइ छ। 

कर्पोरेट हाउसहरूको उद्देश्य नाफा कमाउने भए पनि उत्पादनमा आवश्यक पर्ने स्रोतसाधनमा उसले राम्रै लगानी गर्छ। जसले फिल्मको उत्पादनदेखि गुणस्तर प्रणालीमा पनि सकरात्मक फाइदा हुने पण्डित दाबी गर्छन्। 

डीसी पनि पहिलेभन्दा नेपाली सिने उद्योगमा सुधार आएको बताउँछन्। 

उनी भन्छन्, ‘अब स्थिति पहिलेको भन्दा निकै फरक छ। प्रशस्त मात्रामा हलहरू छन्, जुन गुणस्तरीय पनि छन्। अहिले दर्शकहरूलाई सिनेमा हेर्ने बानी परेको अवस्था पनि छ। झण्डै अर्ब ग्रस कलेक्सन गर्ने चलचित्रको व्यापार देखिसकेपछि सिनेमाक्षेत्रलाई उद्योगको रूपमा लान सकिन्छ भनेर उहाँहरू आउनुभयो होला लाग्छ। र, अरु त्यसैअनुसार आउनुहुन्छ होला जस्तो लाग्छ।’

पहिल्यैदेखि फिल्म निर्माणमा व्यापारिक घराना 
वि.सं २०२४/२५ सालमा फिल्म ‘माइतीघर’ बनेको थियो। जुन निजी क्षेत्रको लगानीबाट बनेको पहिलो फिल्म हो। त्यसयता व्यक्तिको लगानीबाट निरन्तर फिल्महरू बनिरहेका छन्। 

यद्यपि, नेपाली फिल्मक्षेत्रमा उद्योगपतिहरूको उपस्थिति निकै कम देखिन्छ। तर, यसअघि पनि केही व्यापारिक घरानाले फिल्म निर्माणमा हात नहालेका भने होइनन्।

कुनै समय डलर अर्बपति विनोद चौधरीले पनि फिल्म निर्माणमा लगानी गरेका थिए। २०४० सालमा कलाकार नीर शाहसँग मिलेर चौधरी गु्रपले फिल्म ‘वासुदेव’ बनाएको थियो। 

त्यतिबेला १२ लाख रूपैयाँ लगानीमा बनाइएको वासुदेवको चर्चा राम्रै भए पनि कमाइ भने राम्रो गर्न सकेन। त्यतिबेला चौधरीको लागि पनि यो रकम ठूलै थियो। किनकि त्यो बेला उनको वाइवाइ कारखाना समेत खुलिसकेको थिएन। त्यसैले फिल्म बक्सअफिसमा सफल नभएपछि चौधरीले अरु चलचित्रमा लगानी गरेनन्।

फिल्मले पैसा नकमाए पनि आफूले आत्मसन्तुष्टि भने पाएको चौधरीले बताउँछन्। 

उनले एक स्टाट्समा लेखेका छन्, ‘त्योबेला मैले वासुदेवमा १२ लाख लगानी गरेको थिएँ। त्यो बेला सो रकम एकदम ठूलो थियो मेरो लागि। त्यति रकमले त्यो समयमा काठमाडौँमा ५/६ रोपनी जग्गा नै आउँथ्यो। त्यो फिल्मले खासै पैसा कमाइनँ। तर त्यो पैसाभन्दा त्यो फिल्मले दिएको आत्मसन्तुष्टि छुट्टै छ।’

त्यस्तै, अन्य व्यवसायीहरूले पनि फिल्म निर्माणमा हात नहालेका होइनन्। आईएमएस ग्रुफका अध्यक्ष दीपक मल्होत्राले पनि फिल्म ‘सौता’ बनाएका थिए। जसमा भुवन केसी र करिश्मा मानन्धरको अभिनय थियो। ‘सौता’ले पनि बक्सअफिसमा कमाल गर्न सकेन। घरजग्गा व्यवसायी तथा नेपाल चेम्बर्स अफ कमर्सका वरिष्ठ उपाध्यक्ष मल्होत्रा पूर्वमिस नेपाल जेनिसा मोक्तानका ससुरा पनि हुन्। 

त्यस्तै, धेरै वर्षअघि विराटनगरका व्यावसायिक घराना धनावत पनि फिल्म निर्माण आएको थियो। सुशील धनावत, सुरेश धनावत र गोपाल धनावतले मिलेर फिल्म ‘सौभाग्य’ बनाएका थिए। धीरेन शाक्य र मौसमी मल्लको अभिनय रहेको यो फिल्म पनि खासै चलेन। त्यतिबेला पुस्तैनी उद्योग धनावत बिँडी कारखानासँगै विभिन्न उद्योग व्यापार चलाइरहेका सुशीलले त्यसपछि भने फिल्म निर्माणबाट हात झिके।

पछिल्लोपटक सिजी इन्टरटेनमेन्टले फिल्म ‘भिसा गर्ल’ निर्माण गरेको थियो। यस फिल्ममा ऋचा शर्मा र विनय श्रेष्ठको मुख्य भूमिका थियो। व्यापक प्रचारप्रसार भए पनि २०६९ को असोजमा रिलिज भएको यो फिल्म पनि बक्सअफिसमा असफल भयो। त्यसयता भने चौधरी ग्रुप पनि फिल्म निर्माणमा फर्किएको छैन। 

टिक्नै गाह्रो
अहिलेसम्मको ट्रेन्ड हेर्ने हो भने नेपालमा जति पनि उद्योगपति फिल्म निर्माणमा होमिए, उनीहरूका फिल्मले खासै दर्शकहरूको साथ पाउन सकेका छैनन्। जसकारण उद्योगपतिहरूले फिल्म निर्माणलाई निरन्तरता दिइरहेको पाइँदैन। 

तर, शेखरको योजना भने फरक छ। उनको फिल्म प्रोडक्सन हाउस ‘बाइस्कोप’ले एक वर्षमा तीनदेखि चारवटासम्म फिल्म बनाउने योजना बनाएको छ। 

‘पहिलो फिल्म त फ्लोरमा गइसकेको छ, अरु तीन कथामा काम हुँदैछ,’ आफनो सफलताप्रति आश्वस्त शेखर बताउँछन्।

शेखरको उत्साह देख्दा लामो समय चौधरी ग्रुपसँग जोडिएर काम गरेका डीसीको भनाइ अब भने परिवर्तन हुने देखिन्छ। किनकि डीसीको विचारमा चलचित्रको प्रणालीमा विश्वास नहुँदा चौधरी ग्रुपले फिल्म निर्माणमा निरन्तरता दिन नसकेको हो। 

‘त्यो बेला विनोदजीले नीर शाहसँगको सामीप्यमा फिल्म बनाउनुभयो। तर, त्यतिबेला व्यापारिक हिसाबले न संरचना बनेको थियो, न सिनेमाहल नै पर्याप्त थिए। त्यसले सिस्टममा विश्वास नहुँदा उहाँहरू आउनुभएन होला लाग्छ,’ उनले भने, ‘अरु फिल्महरू बनाउने कुरा पनि थियो। बिजनेस गरिरहेका मान्छेलाई यताको सिस्टममा असहज भएको हुनुपर्छ। किनकि हाम्रोमा कर्पोरेट कल्चर छैन। बिस्तारै विकास हुँदैछ, अब राम्रो होला।’ 

डीसीले भनेझैँ नेपाली फिल्म क्षेत्रमा कर्पोरेट कल्चर भित्र्याउने आफ्नो इच्छा रहेको शेखर बताउँछन्। 

डीसीका अनुसार फिल्म नबनाए पनि चौधरी ग्रुप ओटीटी प्लाटफर्मका कन्टेन्ट र अन्तर्राष्ट्रिय प्रोजेक्टसँग सहकार्य गर्न इच्छुक छ। 

फिल्म समीक्षक तथा लेखक सामीप्यराज तिमल्सेना कर्पोरेट हाउस फिल्मक्षेत्रमा आउनुभन्दा टिक्नु ठूलो कुरा रहेको सुनाउँछन्। 

‘कर्पोरेट हाउस आउनुपर्छ भनेर हामीले लामो समयदेखि लबिइङ गरिरहेकै हो। संगठित लगानी आउँदा मात्रै बल्ल उद्योगजस्तो बन्छ। तर, पहिल्यै जसरी एकदुईजना फ्याट्ट आउने तर असफलताबाट भागेर टाढा बस्ने थिए। त्यस कारणले क्षणभरको खुसीजस्तो थियो,’ तिमल्सेनाले भने, ‘कति लामो समयलाई टिक्ने गरि आएको भन्ने कुरा यस फिल्मले देखाउला। यदि उहाँहरू फिल्म बनाउने मनसायले आएको हो भने ठिक छ।’

तर, शेखरको बाइस्कोप प्रोडक्सनको तयारी हेर्दा भने लामो समय फिल्ममा टिक्ने उदेश्यले आएको देखिन्छ। शेखरका अनुसार नेपाली फिल्मक्षेत्रको राम्रो अनुसन्धान गरेर यो प्रोडक्सन हाउस सुरु गरिएको हो। 

निर्देशक पण्डित पनि कर्पोरेट हाउसहरूलाई अनुसन्धान गरेर मात्रै फिल्म क्षेत्रमा आउन आग्रह गर्दछन्। 

‘यो क्षेत्रमा आउँदा अनुसन्धानमा काम गर्नुपर्छ। यो उद्योगमा सिर्जनात्मक सहकार्य गर्दा कर्पोरेट हाउस धेरै समय टिक्न सक्छन्। कर्पोरेट हाउसले सिर्जनाको क्षेत्रमा आएको छु भन्ने कुरा आत्मसात गरेपछि बल्ल उद्देश्य पूरा हुन्छ,’ उनी भन्छन्। 

तिमल्सेना पनि सुरूवाती फिल्मको नाफाघाटाभन्दा दीर्घकाललाई सोचेर आउन सुझाउँछन्। 

उनी भन्छन्, ‘अहिले उद्योगलाई दीर्घकालीन सोचसहित आउने मान्छेको खाँचो छ। एउटा फिल्म बनाएर पर्ख र हेर गर्ने हो कि परिणाम जेसुकै होस्, अरु पनि काम गर्ने हो भनेर आएको हो, त्यो कुराले फरक पर्छ। पहिलो फिल्म नाफा भए गरौँला भनेर फर्किने हो भने काम छैन।’ 

पण्डितका अनुसार कतिपय अवस्थामा चलचित्र राम्रो बन्दैमा चलिहाल्छ भन्ने हुँदैन। जसकारण कर्पोरेट हाउसहरूले निर्माणमा निरन्तर दिनुपर्ने तर्क राख्छन्। जसले फिल्मक्षेत्रको जोखिम समेत कम गर्ने निर्देशक पण्डितको धारणा छ। 

उनी भन्छन्, ‘कर्पोरेट हाउसहरूले एउटा सिनेमाको असफलताबाट आत्तिनु हुन्न। कर्पोरेट हाउसले लामो समयको बारेमा सोचेको हुन्छ। सिनेमा निर्माणको लागि व्यवस्थित तरिकाले लाग्दा रिस्क फ्याक्टर कम हुन्छ। त्यो कारणले एउटा फिल्ममै खुम्चिएर बस्नु हुन्न। सिनेमाको व्यावसायिकताको डरबाट एउटा व्यक्ति खुम्चिनुपर्ने हाम्रो जुन बाध्यामकता छ, उहाँहरू आउँदा त्यसबाट मुक्त बनाउने सम्भावना हुन्छ।’ 

कर्पोरेट हाउसले सिनेमालाई सिर्जनात्मक उत्पादन भनेर बुझ्न आवश्यक रहेको पण्डित बताउँछन्। 

‘कपोरेट हाउसहरूले यो सिर्जनात्मक उत्पादन हो भनेर बुझ्नुपर्छ। यसको दुइटा मुख्य पाटा हुन्छन्। एउटा चलचित्र निर्देशन र अर्को चलचित्र लेखन। उनीहरूले सुरुमा निर्देशक र लेखकलाई सम्मान गर्नुपर्छ। पैसा छ भनेर हस्तक्षेप गर्नुहुन्न। स्रष्टाहरूलाई सिर्जनात्मक स्वतन्त्रता दिनुपर्छ,’ उनले भने।

यसरी संगठित रूपमा काम गर्दा नेपाली फिल्म क्षेत्र पनि उद्योगको रूपमा विकास हुन सक्छ। र, विश्वमा मनोरञ्जन तथा फिल्म उद्योगले धेरै मुलुकका अर्थतन्त्रमा राम्रो योगदान गरेको पाइन्छ। जस्तै, भारतीय फिल्म उद्योगले अर्थतन्त्रमा ६,८४६ करोड भारतीय रूपैयाँ (१.५ अर्ब अमेरिकी डलर) योगदान गरेको अनुमान गरिएको छ। जुन भारतीय अर्थतन्त्रको लगभग ०.१३ प्रतिशत हो। यसका साथै भारतीय फिल्म उद्योगले अनुमानित ४.२ लाख कुल रोजगारी सिर्जना गरेको अनुमान गरिन्छ।

यस्तै, अमेरिकी अर्थतन्त्रमा फिल्म उद्योगले मात्र सन् २०२१ मा करिब ४६८.९ अर्ब डलर योगदान गरेको बताइन्छ। इसका साथै, चलचित्र र टेलिभिजन उद्योगले १ लाख २२ हजार भन्दा बढी व्यवसायहरू सहित लाखौँ रोजगारी सिर्जना गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad