कला


सैफलाई आक्रमणबारे मुम्बई प्रहरीले बताएका ६ महत्त्वपूर्ण कुरा

सैफलाई आक्रमणबारे मुम्बई प्रहरीले बताएका ६ महत्त्वपूर्ण कुरा

मंगलबार पत्रकार सम्मेलनमा अतिरिक्त प्रहरी आयुक्त परमजित सिंह दाहिया र आक्रमणका कारण घाइते सैफ अली खानको फाइल तस्बिर।


नेपालखबर
माघ १५, २०८१ मंगलबार १९:२१, काठमाडौँ

बलिउड अभिनेता सैफ अली खानलाई भएको चक्कु आक्रमणका सम्बन्धमा मुम्बई प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरेको छ।

अतिरिक्त प्रहरी आयुक्त परमजित सिंह दाहियाले भने, 'हामीले यस प्रकरणमा शरिफुल इस्लामलाई पक्राउ गरेका छौँ। उनी नै वास्तविक अभियुक्त हुन्। हामीसँग यस अभियुक्तविरुद्ध धेरै बलिया प्रमाण छन्।’

अतिरिक्त प्रहरी आयुक्त दाहियाले केही रिपोर्टले सैफको घरबाट भेटिएका औँठाछाप (फिंगरप्रिन्ट) र शरिफुलको औँठाछाप मेल नखाएको दाबी गरिरहेका भए पनि यसको अनुसन्धान जारी रहेको र अहिलेसम्म कुनै निष्कर्षमा नपुगेको बताए।

जनवरी १६ राति २ बजे मुम्बईको बान्द्रास्थित सैफ अली खानको घरमै पसेर कसैले उनलाई चक्कुले हानेको थियो। चक्कुले सैफका हात, मेरुदण्ड र ढाडमा चोट लागेका थिए। गम्भीर घाइते अवस्थामा मुम्बईस्थित लीलावती अस्पताल पुर्‍याइएका उनी ५ दिनको उपचारपछि घर फर्किएका थिए। 

मुम्बई प्रहरीले पत्रकार सम्मेलनमा बताएका ६ महत्त्वपूर्ण बुँदा-

१. आक्रमणको जानकारी सैफले होइन, अस्पतालले दिएको थियो।

२. फिंगरप्रिन्ट रिपोर्ट अझै प्रहरीलाई बुझाइएको छैन। यसका नमुना सीआईडीलाई दिइएको छ।

३. अभियुक्त शरिफुलको सम्पर्कमा रहेका सबै व्यक्तिसँग सोधपुछ भइरहेको छ।

४. शरिफुल नै अभियुक्त हुन् भन्ने कुरामा प्रहरीलाई कुनै शंका छैन। भौतिक, प्राविधिक र मौखिक प्रमाणका आधारमा उनलाई पक्राउ गरिएको हो।

५. सैफ अली खान अस्पताल बिहान ४:११ बजे होइन, ३ बजे पुगेका थिए। यो कुरा लीलावती अस्पतालको सीसीटीभी क्यामेराले पुष्टि गरेको छ।

६. अभियुक्त शरिफुल बंगलादेशका हुन्। मुम्बई आउनुअघि उनी कोलकातामा पनि बसेका थिए। पश्चिम बंगालमा पनि एउटा टोलीले अनुसन्धान गरिरहेको छ। 

पश्चिम बंगालबाट महिला पक्राउ

सैफ आक्रमणको घटनामा मुम्बई प्रहरीले जनवरी २७ मा पश्चिम बंगालको नादिया जिल्लाबाट एक महिलालाई पनि पक्राउ गरेको छ। यसअघि मुम्बईबाट पक्राउ परेका शरिफुलले प्रयोग गरेको सिम ती महिलाको नाममा दर्ता भएको अनुसन्धानबाट खुलेको स्रोतले बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad