करिब १५ वर्षदेखि अमेरिकामा बसोबास गर्दै आएका ललितपुरका निर्मल कार्कीले यूट्यूबमार्फत ‘फूलझैँ मन्द बास्ना’ बोलको आधुनिक गीत सार्वजनिक गरेका छन्।
सानैदेखि गीत–सङ्गीतमा रुचि राख्ने कार्कीको जन्म ललितपुरको लगनखेलमा भएको थियो।
गायकद्वय मधु क्षेत्री र सुन्दर श्रेष्ठको स्वर रहेको ‘घर त लगनखेल’ लगायतका गीत सुन्दै हुर्किएका कार्कीले हाल बसोबास र काम गर्ने अमेरिकामा अहिले पनि विविध शैलीका गीत तथा भजन गाउने गरेका छन्। उनी आफ्नो छोरा, छोरी र श्रीमतीसँग बोस्टनमा बस्छन्।
नौ वर्षको कलिलो उमेरमा गोपाल योञ्जनको सङ्गीत रहेको ‘गीत मन्जरी’ नामक बालगीत एल्बमको लागि गीत गाएका कार्की विद्यालय र विश्वविद्यालयमा विभिन्न साङ्गीतिक समूहमा आबद्ध थिए।
हरेक आइतबार बोस्टन सहरको प्रसिद्ध पशुपति बुद्ध मन्दिरमा भजन गायनमा व्यस्त रहने गरेका कार्की ‘मिड लाइफ क्राइसिस (एमएलसी)’ नामक नेपाली–अमेरिकी युवाहरुको सांगीतिक समूहमा समेत सक्रिय छन्।
उनको नयाँ गीत ‘फूलझैँ मन्द बास्ना’को रचना केशव मिश्रले गरेका हुन् भने त्यसमा प्रभुराज ढकालको सङ्गीत र प्रज्ज्वल लामाको सङ्गीत संयोजन रहेको छ। प्रेमरसले भरिएको उक्त गीतको छायाङ्कन काभ्रेको धुलिखेल र बोस्टन शहर क्षेत्रमा गरिएको थियो जसलाई मिनाक्षी कोइरालाले निर्देशन गरेकी छिन्।
कलाकार बिना राउत र सुप्रिम पाण्डेले प्रेमिल जोडीको भूमिका निर्वाह गरेका छन्।
कार्की निकट भविष्यमा दुई थप गीतहरु सार्वजनिक गर्ने तयारीमा छन्।
बोस्टन शहरमा एक बायोटेक्नोलोजी कम्पनीमा ग्लोबल सेल्स म्यानेजरको रूपमा कार्यरत कार्कीले सन् २०२० मा कोरोना कहरको बेला काठमाडौँ विश्वविद्यालका सङ्गीत विभाग प्राध्यापक प्रभुराज ढकालको मार्गदर्शनमा आफ्नो पुरानो गायकी सीपलाई ब्युँताउँन सफल भएका हुन्।
‘नेपालबाट टाढा भएपछि मैले नेपाली गीत सङ्गीतप्रतिको मेरो मायामोह झनै गहिरो भएको छ,’ उनले भने, ‘अमेरिका पुगेपछि मलाई यसको अभाव झनै खट्किएको छ। म जहाँ रहेपनि नेपाली गीतरभजन गाएर नेपाली सङ्गीत क्षेत्रमा लगातार योगदान दिइरहने निधो गरेको छु।’

प्रतिक्रिया