आगामी चैत्र १५ गते रिलिज हुने फिल्म ‘डोरी’ को पहिलो गीत सार्वजनिक गरिएको छ। ‘चुच्चे ढुङ्गो उही टुङ्गो’ बोलको गीतमा राजनराज सिवाकोटी र अन्जु पन्तको स्वर सुन्न सकिन्छ।
शिवाकोटीकै शब्द र संगीत रहेको गीतमा राजन ईशानले सङ्गीत संयोजन गरेका छन्। सहायक स्वर सुनी थापाले दिएकी छिन्।
गायक, गीतकार तथा सङ्गीतकार राजनराज सिवाकोटी नेपाली समाजमा प्रचलित ठेट शब्दहरूलाई गीतमा लयबद्ध गर्न माहिर मानिन्छन्। यस गीतमा उनले उसिनेको आलु, नुन खुर्सानी, गुन्द्रुक, ढिँडो, घट्ट, मुरी अन्न, डोको जस्ता ठेट नेपाली शब्दहरूको प्रयोग गरेका छन्, जसले गीतलाई नेपाली मौलिकताको झल्को दिएको छ।
सार्वजनिक गीतको भिडिओमा फिल्मका मुख्य कलाकार आर्यन सिग्देल र अञ्जना बराइलीलाई देख्न सकिन्छ। कविराज गहतराजको कोरियोग्राफीमा दुबैले राम्रो नृत्य गरेका छन्।
गीतको भिडिओलाई सौरभ लामाले खिँचेका हुन्।
यसअघि ‘डोरी’का पोस्टरहरू सार्वजनिक गरिएको थियो, जसले चलचित्र थ्रिलर तथा हरर श्रेणीको हुनसक्ने सङ्केत दिइएको थियो। तर, सार्वजनिक गीतमा अभिनेता आर्यन र अञ्जनालाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ। यसअघि आर्यन र अञ्जना सुपर हिट चलचित्र पुजार सार्कीमा सँगै अभिनय गरेका थिए।
दिनेश भट्टराई निर्माता रहेको ‘डोरी’को लेखन तथा निर्देशन अरुण लामाले गरेका हुन्। यस फिल्ममा प्रवीण खतिवडा, शिशिर बाङ्देल, प्रकाश घिमिरे, अरुण लामा, अञ्जना बराइली, राज पौडेल, कविता आले, नूतन, राज थापा, वीरेन्द्र सिंह कुशवाहा लगायतका कलाकारहरूको अभिनय रहेको छ।
Shares

प्रतिक्रिया