कला


रामकृष्ण ढकालले गरे ‘लता मंगेशकर लभ इन मेमोरी’ कार्यक्रम

रामकृष्ण ढकालले गरे ‘लता मंगेशकर लभ इन मेमोरी’ कार्यक्रम

नेपालखबर
माघ २४, २०८१ बिहिबार १४:२४, काठमाडौँ

चर्चित गायक रामकृष्ण ढकालले भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको तेस्रो वार्षिक पुण्यतिथिको अवसरमा काठमाडौँमा विशेष कार्यक्रम गरेका छन्।

ढकालले ‘लता मंगेशकर लभ इन मेमोरी’ शीर्षकमा कार्यक्रमको आयोजना गरी श्रद्धाञ्जली व्यक्त गरेका हुन्। कार्यक्रममा सुनील हरिजन, साहिल महर्जन, सुष्मा राजभण्डारी, मदन श्रेष्ठ, रमेश कुँवर, सुजन वीर बज्राचार्य, विनोद गिरीलगायत पेन्टिङ आर्टिस्टहरूले मंगेशकरको प्रत्यक्ष चित्र बनाएका थिए।

मंगेशकरप्रति शोक व्यक्त गर्दै एक मिनेट मौन धारण गरिएको थियो। गायक ढकाल तथा सङ्गीतकर्मीहरूले लता मंगेशकरको तस्बिरमा माल्यार्पण गरे। कार्यक्रममा यसअघि ढकाल र मंगेशकरको युगल गायनमा रहेको बहुचर्चित गीत ‘बाचुञ्जेलीलाई’को लताको एकल स्वरमा सार्वजनिक गरियो।

सो अवसरमा गायक ढकालले यो गीत रेकर्ड गर्दाको अनुभव सुनाएका थिए। ‘नेपाली गीत-सङ्गीतलाई प्रतिनिधित्व गर्दै मैले लतासँग गाउन पाउनु मेरो लागि सौभाग्य हो। यसमा मलाई सहकार्य गर्ने वरिष्ठ गीतकार आनन्द अधिकारी र चर्चित सङ्गीतकार शिखर सन्तोष, सङ्गीत संयोजक किरण कँडेल, छायाकार स्व। विदुर पाण्डे तथा निर्देशक भूषण दाहाललगायतको टिमप्रति आभारी छु,’ढकालले बताए।

यो गीत नेपाली सङ्गीत क्षेत्रको लागि उपहार र अमूल्य निधि भएको जनाउँदै ढकालले लताको आवाजमा रेकर्ड भएको अन्तिम गीत पनि यही नै भएकोले झनै महत्त्वपूर्ण रहेको सुनाएँ। ढकालले अन्तिम गीतको रूपमा यसलाई एकल स्वरमा सार्वजनिक गर्नुको अर्थ संसारभर रहेका लताका समर्थकको लागि विशेष उपहार रहेको जिकिर गरे।

कार्यक्रममा गायक ढकालका अभिभावक गोपाल कर्माचार्य, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, वरिष्ठ गीतकार राजेन्द्र थापा, नेपाल साङ्गीतिक सङ्घका अध्यक्ष मिलन मोक्तान, व्यवसायी रुद्र शर्मा, वरिष्ठ सङ्गीतकार राजु सिंह, वरिष्ठ अभिनेता कृष्ण मल्ल लगायतको उपस्थिति थियो। यो गीत लताले गाएको तेस्रो गीत हो।

लताले नेपालका तत्कालीन राजा महेन्द्र वीर विक्रम शाहको गीत ‘आकाशका तिरमिरे तारा, म गन्न सक्दिनँ’ पहिलो नेपाली गीतका रूपमा गाएकी थिइन् भने दोस्रो गीत ‘माइतीघर’ चलचित्रका लागि ‘तिमीलाई शुभकामना’ शीर्षकमा गाएकी थिइन्।

मंगेशकरले सन् १९४२ देखि गायन करियर सुरु गरेकी थिइन् भने उनले ७५ वर्षको समयावधिमा विभिन्न १४ भाषामा ५० हजार भन्दा धेरै गीतमा स्वर दिएकी थिइन् । उनको पहिलो गीत ‘नाचू या गाडे, खेलु सारी मनि हौस भारी’ हो, जुन मराठी चलचित्रको लागि थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad