कला


आमा गुमाएको दशकपछि पनि उनकै यादमा कविता कोरिरहेका नाजिर (भिडिओ)


अनिल यादव
माघ २६ , काठमाडौँ

‘के उपहार दिऊँ त आमा?’ नाजिर हुसेनले सोधेका थिए। 

‘मलाई एकपल्ट हवाइजहाज चढाएर राजधानी लग्दे न कान्छा,’ आमा मीना बेगमको जवाफ थियो। 

त्यो दिन नाजिर हुसेनकी आमा बेगमको ५१ औँ जन्मदिन थियो। नाजिर जम्मा १६ वर्षका ठिटो थिए। आफैँ त हवाइजहाज चढेका थिएनन्, राजधानी पुगेका थिएनन्, आमालाई कसरी पुर्‍याउनु! 

तैपनि आमालाई खुसी बनाउन नाजिरले कागजकै भए पनि हवाइजहाज बनाए। त्यहाँ आमाको नाम पनि लेखे। त्यसपछि आँगनमा उडाउँदै आमालाई भने, ‘ल पुग्नुभयो राजधानी!’

‘आँगनमा उडाउँदा आमा हाँस्नुभएको अझै पनि मेरो मस्तिष्कमा ताजै छ,’ नाजिर सम्झन्छन्, ‘आमा हाँसेको देख्दा भोलिपल्टै पाइलट भएर प्लेन चलाइदिऊँ कि जस्तो लाग्थ्यो। त्यसपछि मलाई पाइलट बन्छु भन्ने पनि भयो। तर भइनँ। आमाको रहर पूरा गर्न पाइनँ।’

यो साता नेपालखबरको सेलेब्रिटी सो ‘लेट्स टक’को दोस्रो शृंखलामा अतिथि बनेर आएका नाजिर आमालाई सम्झेर पटकपटक भावुक भए।

कलाकार बन्ने सपनासहित सन् २०६६ तिर उनी काठमाडौँ आए। नाटकमा काम गर्न थाले। नाजिरको करिअरमा खुसीको दियो बल्दैथ्यो। उतिखेरै अर्को खुसीको दियो निभ्यो। अर्थात्, आमा बेगमले २०६८ फागुनमा देह त्याग गरिन्। 

‘म काठमाडौँ नआएको भए कतै आमा बाँच्नुहुन्थ्यो कि?’ नाजिर अझै सोचिरहन्छन्, ‘कतै आमाको उपचार समयमै हुन्थ्यो कि! समयमै खाना खानुहुन्थ्यो कि! मेरो चिन्ता कम लिनुहुन्थ्यो कि! म यता सहर आएपछि उता छटपटिएर पो बित्नुभयो कि! यो सब सोच्दा मैले काठमाडौँ आएर गल्ती गरेँ कि भन्ने लागिरहन्छ।’

नाजिर काठमाडौँमा हुँदा आमालाई पीर नहोस् भनेर खुब झुट बोल्थे। मण्डला थिएटरमा ६–७ जना साथीहरू भुइँमा कुसन ओछ्याएर सुतिरहेका हुन्थे तर आमाको फोन आउँदा कुनै होटलमा महाराजा स्टाइलमा सुतिरहेको जस्तो गफ दिन्थे।

‘खुब ढाटेँ नि मैले,’ नाजिर सम्झन्छन्, ‘हामीबीच मिल्ने साथीजस्तो सबै कुरा सेयर हुन्थ्यो। कलाकार बन्ने हुटुहुटीको सपनाले काठमाडौँ आएँ। तर, त्यहीकारण अर्को सपना तुहाएँ जस्तो लाग्छ। त्यतिखेर आलाकाँचो दिमागले धेरै कुरा सोचेन। उमेर पनि त्यस्तै थियो। अलि अलि लहलहैमा पनि लागियो होला। बाटोमा एक दिन ठूलो पोस्टर टाँसिएला भन्ने लोभले यतै हराउन थालेँ। उता त्यहीबेला प्यारी आमाजी गुमाएँ।’

नाजिरकी आमा निडर र साहसी थिइन्। नाजिरलाई सधैँ भन्थिन्, ‘म त बाघ हो, एक्लैले गर्न सक्छु तिमीहरूको लागि।’

हामीले नाजिरलाई एउटा प्रश्न सोधेका थियौँ– ‘यदि तपाईंसँग एउटा सुपरपावर हुन्थ्यो भने त्यो के हुन्थ्यो र त्यसलाई तपाईं आफ्नो वास्तविक जीवनमा कसरी प्रयोग गर्नुहुन्थ्यो?’

जवाफमा उनले आमालाई नै सम्झिए। भने, ‘मसँग आत्माहरूसँग बोल्न सक्ने शक्ति हुन्थ्यो भने म मेरा पुर्खाहरूसँग बोल्थे। विशेषगरी मेरो आमाजीलाई भेट्थे। हजुरआमा, हजुरबुबालाई पनि भेट्थे। मैले बुबापछिको आमालाई मात्रै भेट्न पाको छु। अरु दादादादी कसैसँग पल बिताउन पाइनँ। त्यही बिताउँथे होला।’

हालै मण्डला नाटघरमा नाजिरको निर्देशनमा उनी र विजय बरालले अभिनय गरेको नाटक ‘हरिबहादुरको जुत्ता’ मञ्चन भएको थियो। नाटक दर्शकले खुब रुचाए। यो नाटकमा राखिएको गीत पनि नाजिर आफैले लेखेका थिए। त्यसमा संगीत पनि उनैले भरेका थिए। गीत यस्तो थियो :

बिस्कुनमा राखेको धानमा
घुनको हेर्नु है रमिता
पर्खेर बस्नु है बाबै
फर्की आउँछु मैले भनेँ त 

घाम है लाग्दा छहारी
देला है घरको रुखले
खोला र खेत साथी छन्
नरुनु है तिमी दुःखले 

नाटकभित्र नातिनी जंगल गएका बेला हजुरबुबाले नातिनीलाई कुरिरहेको दृश्य हुन्छ। धेरैलाई थाहा नहुनसक्छ, त्यहीबेला बज्ने यो गीत खासमा नाजिरले आफ्नो आमालाई सम्झेर लेखेका हुन्। 

नाजिर राजधानी आएपछि उनकी आमालाई छोरा गाउँ आओस् भन्ने लागिरहन्थ्यो। 

‘म नहुँदाखेरी आमाले कसरी समय काट्नुभयो होला,’ नाजिरले गीत लेखनको पृष्ठभूमि बताउँदै भने, ‘गीत लेख्दाखेरी म काल्पनिकतामा पुगेको थिएँ। भकारीमा पुरानो धान थियो। पक्कै आमाले त्यसलाई झिकेर बिस्कुन सुकाउनु भयो होला। त्यसपछि पक्कै बिस्कुनमा राखेको धान गन्दै कटाउनु भयो होला! कति घुन परेछ भनेर छुट्याउँदै छुट्याउँदै...। त्यही भावलाई मैले यो गीतमा प्रकट गरेको हुँ।’

कुराकानीका क्रममा नाजिरले सानोछँदा खोलाको ढुंगा बेचेर आमालाई साडी किन्दिएको प्रसंगसम्म उप्काए। उनको हातमा अहिले पनि चन्द्रमाको टाटु छ। कारण, चन्द्रमासँग उनको आफ्नै सम्बन्ध छ। अरुहरूका लागि धर्ती भनेको आमा हो तर नाजिरका लागि चन्द्रमा आमा हो। ‘चन्द्रमा मलाई मेरो आमाजस्तो लाग्छ। रात पर्नुहुन्न सधैँ हेरिरहन्छु चन्द्रमा,’ नाजिरले भने।

आमालाई सम्झेर नाजिरले थुप्रै गीत र कविता लेखेका छन्। जबजब आमाको सम्झना आउँछ, उनी लेख्न थालिहाल्छन्। उनले कुनैबेला सुनाएको ‘स्याउली चोकमा सबथोक छ, तर तिमी छैनौँ आमा’ कविता खुब चर्चित भएको थियो। यसपटक फेरि आमाको सम्झना आएपछि उनले नयाँ कविता सुनाए : 

तिमीले आफ्नो सपना बेचेर
मेरो सपना किनेकी हौ
तिम्रो बुढ्यौली बेचेर
मैले मेरो जवानी किन्न नपरोस्।

माघ २६, २०८१ शनिबार ११:४८

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad