फिल्म ‘होस्टल’बाट हिरोका रुपमा उदाएका अभिनेता हुन् सलोन बस्नेत। तिनै सलोनको डेब्यु निर्माण रहेको फिल्म ‘रंगी’ फागुन २ गतेबाट रिलिज हुँदैछ।
छोरी सान्भिकाको नाममा सुरुवात गरेको कम्पनी सान्भी इन्टरटेनमेन्ट प्रालिमार्फत फिल्म निर्माणमा होमिएका सलोन फिल्ममा बाबुको भूमिकामा छन्।
फिल्ममा दर्शकले उनलाई एक संघर्षशील बाबुको भूमिकामा हेर्न पाउनेछन्। सलोनले फूड डेलिभरी गर्ने एक व्यक्ति दुर्घटनामा परेपछिको भिडिओ सामाजिक सञ्जालमा देखेपछि त्यही कथामा फिल्म देखाउन आफू प्रेरित भएको सुनाए।
‘फुड डेलिभरी गर्ने एक व्यक्तिलाई सायद बसले ठक्कर दिएको थियो होला। त्यो भिडियो फेसबुकमा भेटें। भिडियोमा उसलाई हेर्नेको भीड थियो। भीड भित्रकै मानिसले उक्त व्यक्तिलाई त्यही बसमा राखेर अस्पतालमा लैजान भनिरहेका थिए। तर फुड डेलिभरी गर्नेले ‘मेरो डेलिभरी यही ५ मिनेट पर छ। म पहिला डेलिभरी गरेर आउँछु। अनि त्यसपछि जाउँला नि’ भन्नुभयो। त्यो कुरा मेरो मनमा छोएको चिज हो। उहाँले आफ्नो ज्यान भन्दा पनि कामलाई प्राथमिकता दिनुभएको थियो। त्यो भिडियो हेरेपछि मैले फिल्म बनाउनेबारे सोचे’, सलोन सम्झन्छन्।
सलोन आम मानिसले हरेक दिन देखेर पनि ‘इग्नोर’ गरिरहेको कथालाई ‘रंगी’मार्फत ल्याएको दाबी गर्छन्। ‘बाटोमा हरेक दिन फूड डेभिलरी गर्ने व्यक्तिहरु देखिरहेका हुन्छौं। तर हामी वास्ता गर्दैनौँ। उनीहरु भित्र पनि केही कथा होला नि भनेर हामीले त्यसैमा फिल्म बनायौं,’ उनले भने।
छोरी सान्भिका जन्मिएपछि आफ्नो जीवनमा केही परिवर्तन आएको सलोनको अनुभव रहेछ। छोरी जन्मिएपछि चरित्रको गहिराईमा पुग्न आफूलाई सजिलो भएको सलोनको बुझाई छ।
सलोनले फिल्मका लागि चाहिने प्रमुख बाल कलाकार नपाएपछि सुटिङ नै सार्नु परेको खुलाए। ‘हामीले धेरै बालिका खोज्यौँ। सुहाउँदिलो क्योक्टर नभेटेपछि सुटिङ नै सार्नुपर्यो। अनि सञ्जोग रसाइलीले आयुषीको नाम लिएपछि हामीले उसले काम गरिरहेको फिल्मको सेटमा पुगेर उसको प्रस्तुती हेर्यौं। उसको काम राम्रो लागे पछि उसको ममीसँग कुरा गरेर फाइनल गर्यौं’, सलोन भन्छन्।
सलोन ‘रंगी’बाट समाजलाई प्रतिनिधित्व गर्न खोजेको बताउँछन्। ‘बाबाको इमोसन नदेखिने इमोसन हो। मेरो बाबाले कहिल्यै मलाई इमोसन देखाउनुभएन। बाबा बलियो हुनुपर्छ भन्ने विश्वव्यापी मान्यता छ। एउटा बाबुले ऊ एक्लो हुँदा कस्तो अनुभव गर्छ, उसले कसैलाई केही देखाउन पाएको छैन। मैले सक्दिन अब भनेर भन्न पाएको छैन । समाजले तैले गर्नुपर्छ भनिरहेको छ। त्यो कति गाह्रो हुन्छ होला भनेर रंगीको न्यारेसन यसमा छ। समाजले राम्रो हुँदा र नहुँदा कसरी हेर्छ भन्ने कथा हो,’ सलोनको भनाइ छ।
सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन रहेको यस फिल्ममा सलोनसहित नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय छ।
Shares

प्रतिक्रिया