गायक रामकृष्ण ढकालले चलचित्र निर्माण गर्ने भएका छन्।
ढकालले सामाजिक सञ्जालमार्फत ‘मालती मंगले’ शीर्षकमा चलचित्र निर्माण गर्ने घोषणा गरेका हुन्।
यो चलचित्र केही दिनअघि चलचित्र विकास बोर्डमा दर्ता गरिएको थियो। ४ हजारभन्दा धेरै नेपाली गीतमा स्वर दिएका लोकप्रिय गायक ढकालको सम्बन्ध चलचित्रसँग पुरानै हो।
उनले सन् २००१ (वि.सं २०५८) मा निर्माण भएको चलचित्र ‘आशीर्वाद’मा अभिनय गरेका थिए। उक्त चलचित्र उनका अभिभावक गोपाल कर्माचार्यले निर्माण गरेका थिए।
‘आशीर्वाद’ढकालको सांगीतिक यात्रासँग विशेष रूपमा जोडिएको र उनको जीवनकै अविस्मरणीय क्षणमध्ये एक रहेको उनले स्मरण गरेका छन्।
‘समय कति छिटो बित्दो रहेछ, आज त्यो क्षणलाई सम्झँदा २३ वर्ष बितिसकेको रहेछ! अब, फेरि पनि चलचित्रसँगको अर्को यात्रामा अघि बढ्ने अवसर मिलेको छ। तर, यसपटक भूमिकामा परिवर्तन आएको छ। अब म निर्माताको रूपमा तपाईँहरूसामु आउँदै छु।’
संगीतलाई जीवन मानेका ढकालले चलचित्र ‘मालती मंगले’ उनका लागि विशेष महत्त्व राख्ने उल्लेख गर्दै भनेका छन्, ‘यो चलचित्रले मेरा सपनाहरूको एउटा ठूलो हिस्साको प्रतिनिधित्व गर्छ। म सबै दर्शक, चलचित्र प्रेमी, शुभचिन्तक र संगी-साथीहरूसँग यस यात्रामा साथको अपेक्षा गर्दछु।’
रानी म्युजिक इन्टरनेसनल प्रालिको ब्यानरमा बन्ने फिल्मको निर्देशन प्रकु पाण्डे (प्रकाश) ले गर्नेछन्। कार्यकारी निर्माता सागर ज्ञवाली रहनेछन्।
हालका लागि चलचित्रको अन्य टिमबारे जानकारी दिन बाँकी रहेको ढकालले बताए।
Shares

प्रतिक्रिया