हरिवंश आचार्यको मुख्य भूमिका रहेको फिल्म ‘भूठान’ को टिजर सार्वजनिक भएको छ।
सार्वजनिक टिजरमा हरिवंशलाई अहिलेसम्मकै फरक अवतारमा देख्न सकिन्छ।
अमेरिका लगिएका भुटानी आप्रवासीको भूमिकामा देखिएका हरिवंश गम्भीर भाव र मुद्रामा देखिएका छन्, जहाँ उनी आफ्नो देश फर्कन खोजेको तर नपाएर विक्षिप्त बनेको देखाइएको छ।
एक दृश्यमा दयाहाङ र जोयश पाण्डेले अभिनय गरेका पात्रहरू दाजुभाइ रहेको र बाबुको शवलाई गाड्ने कि जलाउने भनेर वादविवाद गर्दै गरेको देखिन्छ।
सो दृश्यले चलचित्रमा यस विवादको अन्त्य कसरी होला भन्ने कौतुहल प्रदान गरेको छ।
हलिउडका विश्वविख्यात अभिनेता ब्रुस डर्न पनि पहिलोपटक नेपाली निर्देशकले बनाएको फिल्ममा देखिएका छन्। टिजरको अन्त्यमा महामृत्युञ्जय मन्त्र पढ्दै गरेको धमिलो नांगो शरीर र तेरो पुर्नजन्म भयो भन्दै पानीमा चोपलेर निकालिएको अर्को शरीर देखाइएको छ।
चलचित्रभित्र हरिवंशको पुनर्जन्म हुन्छ कि हुँदैन? त्यो चाँहि फिल्म हेरेपछि थाहा होला। तर अभिनयको दुनियाँमा भने उनको पुनर्जन्म हुने निश्चित देखिएको छ।
भूठान शब्दले कुनै समय आफ्नो घर रहेको तर अहिले हराइसकेको वा परिवर्तन भइसकेको स्थान भन्ने बुझाउँछ।
विनोद पौडेल निर्देशित यस फिल्ममा हरिवंशसहित दयाहाङ राई, पूजा चन्द, अनुराधा मजुमदार, ऋचा घिमिरे, जोएस पाण्डे, टम क्रेन लगायतको अभिनय छ।
साथै अंग्रेजीमा ‘द वर्ल्ड्स ह्याप्पिएस्ट म्यान’ नाम रहेको फिल्ममा हलिउडका चर्चित अभिनेता ब्रुस डर्नले पनि अभिनय गरेका छन्। यस फिल्मको प्रमुख निर्मातामा अविरल थापा, राजेन्द्र ठकुराठी, अमिताभ जोशी, सुशांक मैनाली र कीर्तना बाँस्कोटा छन्।
यस चलचित्रलाई ठकुराठी ब्रोज, भ्याकेन्ट लाइट, एभरेस्ट इन्टरटेनमेन्ट, अमेरिकाको सहकार्यमा नेपालको अवेकन प्रोडक्सन् र अमेरिकाको म्याड मंकी फिल्म्सले निर्माण गरेको हो।
फिल्मले भुटानदेखि भारत, नेपाल हुँदै अहिले अमेरिकामा बसोवास गरिरहेका भुटानीहरूको देशप्रेम र आफ्नो थातथलो छोड्नुपर्दाको कथा र आफ्नो जराको खोज समेटेको छ। यो चलचित्र आगामी वैशाख १२ मा रिलिज हुँदै छ।
भिडिओ:
Shares

प्रतिक्रिया