कला


स्वस्थ भए निर्देशक घिमिरे, फर्किए ‘पहाड’को सुटिङमा

स्वस्थ भए निर्देशक घिमिरे, फर्किए ‘पहाड’को सुटिङमा

नेपालखबर
फागुन ११, २०८१ आइतबार १२:५२, काठमाडौँ

तुलसी घिमिरेको निर्देशन रहेको फिल्म ‘पहाड’ को रोकिएको छायांकन पुन: थालिएको छ। 

गत माघ २२ गते मुहूर्तसहित छायांकन थालिए पनि निर्देशक घिमिरेको स्वास्थ्यमा समस्या आएपछि दोस्रो दिनदेखि रोकिएको थियो।

उनको स्वास्थ्य सुधार भएपछि फागुन ९ देखि पूर्वनिर्धारित तालिकाअनुसार नै गोरखामा छायांकन भइरहेको निर्माण टिमले जानकारी दिएको छ।

फिल्ममा युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्याको कथावस्तु छ। फिल्मले समाजको तीतो यथार्थ दर्शकसमक्ष पुर्‍याउने लेखकसमेत रहेका निर्देशक घिमिरेको भनाइ छ। 

उनले भने, ‘मानव बसोबासविहीन बनेको उच्च पहाडको कथा समेटिएको छ, फिल्मले हाम्रो दायित्व र देशको आवश्यकतालाई चित्रण गर्छ। फिल्मको विषयअनुसार हामीले कलाकार चयन गरेका छौँ। नयाँदेखि पुराना पुस्तासम्मलाई समेटेर काम गर्न पाउँदा उत्साहित छु।’

स्वास्थ्यलाभ गरेर छायांकनमा फर्किएपछि निर्देशक घिमिरेले नयाँ ऊर्जाका साथ काम भइरहेको बताए।

ओजस्वी केसी निर्माता रहेको फिल्मलाई प्रमोद प्रधानले छायांकन गरिरहेका छन्। छायाकार प्रधान ३० वर्षपछि नेपाली फिल्म छायांकनका लागि नेपालमा आएका हुन्।

फिल्मको छायांकन गोरखा र आसपासमा २५ दिन र भारतमा १५ दिन हुने निर्देशक घिमिरेले जानकारी दिए।

भाग्यरत्न फिल्म्स् प्रालिको ब्यानरमा निर्माण भइरहेको फिल्ममा विपीन कार्की, सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, सलोना बज्राचार्यलगायतको अभिनय छ।

निर्देशक घिमिरेले कान्छी छोरी पञ्चमी घिमिरेलाई यसै फिल्ममार्फत अभिनेत्रीका रूपमा दर्शकसामु ल्याउँदै छन्।

यस्तै फिल्मको प्राविधिक टिममा निर्देशक घिमिरेकी जेठी छोरी भावना घिमिरेले प्रोडक्सन डिजाइनरको जिम्मेवारी सम्हालेकी छिन्।

यसमा रञ्जित गजमेर संगीत निर्देशक र भारती घिमिरे क्रिएटिभ निर्देशक छन्।

रिम्पोछे लामा थिङ र सुरेश लामा थिङ सहनिर्माता रहेको फिल्म नेपालमा बैंकटेस इन्टरटेनमेन्ट र डायस्पोरामा सेभेन सिज इन्टरनेसनल फिल्म्सले वितरण गर्नेछन्।

‘दर्पणछाया २’ पछि निर्देशनबाट केही समय विश्राम लिएका निर्देशक घिमिरे ‘पहाड’मार्फत कमब्याक गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad