गायक प्रमोद खरेलको ब्यान्ड ‘प्रमोद एन्ड परम्परा’ सांगीतिक टूरमा निस्किसकेको छ। शनिबार यस ब्यान्डले विराट चोकमा आयोजित विराज एक्स्पोमा हजारौँ दर्शकमाझ प्रस्तुति दिएको छ।
यस ब्यान्डको सांगीतिक टूरको यो छैटौँ कन्सर्ट हो। जसमध्ये यसमा सबैभन्दा दर्शक आएको प्रमोदको भनाइ छ। प्रमोदसहित ब्यान्डले राति १० बजेदेखि १२ बजेसम्म हिट गीतमा प्रस्तुति दिएको थियो। जहाँ दर्शकहरु गीतसँगै निकै झुमेका थिए।
यसअघि इलाममा दुई, सौराहा, सुनसरी, झापा र मोरङमा कन्सर्ट गरिसकेको छ। यसअघि एकल प्रस्तुति दिँदै आएका खरेलले पछिल्लो समय व्यान्डमार्फत प्रस्तुति दिन थालेका हुन्।
ब्यान्डले बुधबार शिवरात्री अवसरमा काठमाडौँमा प्रस्तुति दिने तय छ। टुर सुरू गर्नुअघि प्रमोदले माघ अन्तिमताका नयाँ गीत ‘लै लै लै’ सार्वजनिक गरेका थिए।
अब हुने कन्सर्टअघि नयाँ गीत सार्वजनिक गर्ने ब्यान्डको तयारी छ। यसअघि साउदी अरबको जेद्दा, नेपालको भैरहवा, लेखनाथ पोखरा, तनहुँको डुम्रे र भारतको सिक्किममा प्रस्तुति दिइसकेको छ।
ब्यान्डको मुख्य भोकलिस्टमा प्रमोद छन्। लिड गिटारिस्टमा देवाशिष तामाङ, बेस गिटारमा कुशल थापा, किबोर्डमा राहुल भुजेल, ड्रममा भुपेन रसाइली, मादल जेपी जोशी र बाँसुरीमा संजीव मैनाली रहेका छन्।
Shares

प्रतिक्रिया