फागुन २९ गते रिलिज हुने नेपाली चलचित्र ‘अञ्जिला’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा नम्बर एक गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको फुटबलप्रतिको चाहना, क्षमता र घरभित्रबाट बाहिर निस्कन गरेको सङ्घर्षदेखि कप्तान बन्दा सम्मको कथा समेटेको छ।
काठमाडौंमा आयोजित ट्रेलर सार्वजनिक समारोहमा एन्जिलासँगै अभिनेता दयाहाङ राई, कलाकार सुमिन गुरुङ, निर्माता तथा कलाकार प्रेम कुमार श्रेष्ठ, निर्देशक मिलन चाम्स लगायतको उपस्थिति थियो।
एन्जिला नै यस चलचित्रकी प्रमुख कलाकार हुन्। कार्यक्रममा निर्देशक चाम्सले यो चलचित्रमा अधिकांश राष्ट्रिय खेलाडीहरूले अभिनय गरेको जुन कुरा निकै गाह्रो भएको बताए।
चलचित्रका निर्माता तथा कलाकार प्रेमकुमार श्रेष्ठले यो चलचित्रमा कथा फुटबलभन्दा पनि अञ्जिलाको कथा मुख्य रहेको बताए।
अभिनेता दयाहाङ राईले आफू हरेक नेपाली खेलको प्रशंसक र दर्शक रहेको बताउँदै महिला फुटबल टोलीको म ठुलो फ्यान रहेको जनाए।‘कप्तानको फिल्म बन्दैछ भनेपछि भूमिका के हो समेत थाहा नपाई काम गर्न सहमत भएँ। यसको लागि म जिन्दगीभर ऋणी हुनेछु,’ राईले भने।
कार्यक्रममा एन्जिलाले आफूले बिर्सन नहुने धेरै नामहरू रहेको र त्यसमा निर्देशक मिलन चाम्स थपिएको बताइन्।‘ मिलन दाइलाई पनि जिन्दगीभर भुल्दिनँ। पहिले म डराउँथेँ तर आजकल आफ्नै दाइ हो जस्तो लाग्छ। मेरो कथा उहाँहरूकै जिम्मामा छोडेर जाँदैछु। हृदयदेखि नै आभारी छु। मैले सोचेको पनि थिइनँ कि मैले दयाहाङ राईसँग फिल्म खेल्छु भनेर। उहाँ जस्तोसुकै अवस्थामा पनि खेलमा समर्पित हुनुहुन्थ्यो,’ एन्जिलाले भनिन्।
उनले आफू काठमाडौं आएदेखि गड फादर बनेर बाटो देखाउने प्रेम कुमार श्रेष्ठलाई धन्यवाद दिँदै भनिन्, ‘ आज जुन बाटोमा छु उहाँले गर्दा नै छु। मेरो मात्र नभएर अन्य खेलाडीहरूको फिल्म पनि बन्नुपर्छ भन्ने बाटो खुलेको छ।’
फिल्ममा सुनिल थापा, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, र बुद्धि तामाङले पनि अभिनय छ। चलचित्रको छायाङ्कन एञ्जिलाको जन्मथलो इलामको आइतबारे, झापा, र काठमाडौँमा गरिएको हो।
Shares

प्रतिक्रिया