नयाँ पुस्ताको प्रेम कथामा आधारित रोमान्टिक कमेडी चलचित्र ‘माया प्रीति’ले अडिसन आह्वान गरेको छ।
चलचित्रको प्रमुख भूमिकाको लागि पुरुष कलाकार, नेगेटिभ भूमिकाका लागि पुरुष कलाकार, पारिवारिक सदस्यहरूको भूमिकाका लागि पुरुष तथा महिला कलाकारसहित सहायक भूमिकाका लागि कास्टिङ कल आह्वान गरिएको हो।
यस फिल्मको मुख्य भूमिकामा अभिनेत्री दिव्या रायमाझी अनुबन्ध भइसकेकी छिन्। चलचित्रको कलाकार म्यानेजमेन्ट कम्पनी लिभेन्ट्स् स्टुडियोका अनुसार यस चलचित्रकी अभिनेत्री दिव्या रायमाझीको जोडीको रूपमा अभिनय गर्ने पुरुष युवा कलाकार तथा अन्य कलाकारहरूको लागि यो अडिसन आह्वान गरिएको निर्देशक अवि श्रेष्ठले जानकारी दिए।
अडिसनमा सहभागी हुन ९७००६१७४३४ नम्बरमा रहेको ह्वाट्सएपमा सम्पर्क गर्न सकिनेछ। अडिसनमा सहभागिताको लागि इच्छुकले आफ्नो बायोडाटा, फोटोहरूसँगै १ देखि ४ मिनेटसम्मको अभिनयको भिडियो क्लिप पठाउनुपर्नेछ।
चलचित्रका निर्देशक श्रेष्ठका अनुसार ‘माया प्रीति’मा एक निःशर्त प्रेमको यात्रा हुनेछ, जसमा जस्तोसुकै परिस्थितिमा पनि अविरल प्रेमको महसुस हुनेछ। फिल्मको छायाङ्कन चाँडै सुरु गर्ने तयारी भइरहेको छ।
निर्माण समूह नेपाल टेलिभिजनको चर्चित शो ‘प्ले इट अन’मा पाँच वर्षसम्म काम गरिसकेको अनुभवी समूह हो । वन टू थ्री स्टुडियोज प्रा।लि।को ब्यानरमा निर्माण हुने यस चलचित्रका निर्माता सुवास चन्द्र प्रधान हुन्।
चर्चित अभिनेत्री निशा अधिकारी कार्यकारी निर्माताको रूपमा रहेकी छिन् भने कार्यकारी निर्माताकै रूपमा फोटोग्राफी र अभिनयको क्षेत्रमा परिचित सन्तोष कुमार कार्की रहेका छन्।
यसै गरी, चलचित्रको क्रिएटिभ निर्देशक प्रणव जोशी रहनेछन्, जो २०७२ सालमा रिलिज भएको सुपर हिट चलचित्र ‘रेशम फिलिली’का निर्देशक हुन्। साथै, उनी एआई कलाकारका रूपमा पनि परिचित छन्।
Shares

प्रतिक्रिया