कला


बेलायती चलचित्र ‘कामा’मा नेपाली अभिनेता

बेलायती चलचित्र ‘कामा’मा नेपाली अभिनेता

नेपालखबर
फागुन २७, २०८१ मंगलबार ८:५२, काठमाडौँ

नेपाली चलचित्र अन्तर्राष्ट्रिय मेला महोत्सवमा सहभागी हुनु र पुरस्कृत हुनु नौलो खबर रहेन। गत भदौमा मीनबहादुर भामले निर्देशन गरेको चलचित्र ‘शाम्बाला’ र यही फागुन २९ मा प्रदर्शन हुने दीपक रौनियारले निर्देशन गरेको चलचित्र ‘राजागन्ज’ले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा आफूलाई अब्बल साबित गरिसकेका छन्। 

यसै क्रममा नेपाली अभिनेता टंक धमलाले अभिनय गरेको ब्रिटिस चलचित्र ‘कामा’ बेलायत र आयरल्यान्डमा यही फागुन २३ गतेदेखि प्रदर्शनरत छ। चलचित्रमा उनीसँगै हलिउड कलाकार म्याट वेकफोर्डनट, जेमिमा टोम्स, मिया बेनेट र भारतीय अभिनेत्री पूजा गुप्ताले अभिनय गरेका छन्। नेपाली चलचित्र ‘सरौतो’ मा अभिनय गरेका धमलाले अभिनय यात्रामा नयाँ अनुभव सँगालेको बताए। 

‘चलचित्र हेर्ने दर्शकले राम्रो प्रतिक्रिया दिनुभएको छ। मेरो मुख्य भूमिका रहेको चलचित्र यसरी अन्य विदेशी चलचित्रझैँ प्रदर्शन हुँदा म निकै उत्साहित छु। यो क्षणलाई मैले शब्दमा व्यक्त गर्न सकेको छैन,  मेरो अभिनय यात्रामा यसले इँटा थप्ने काम गरेको छ’, उनले भने। 

ब्रिटिस चलचित्र ‘डेन्जरस गेम’ र भारतीय चलचित्र ‘एनिमल’ मा पनि अभिनय गरेका धमलाले विश्वासघात र बदलाका लागि मान्छे कुन हदसम्म पुग्नसक्छ भन्ने कथालाई ‘कामा’मार्फत देखाउने प्रयास गरिएको बताए। उनले चलचित्रमा आर्मीको भूमिका निर्वाह गर्न त्यससम्बन्धी प्रशिक्षणसमेत लिएको जानकारी दिए। 

‘मलाई अभिनय सिकाउनु हुने साइमन गिब्बनसँग केही समय पात्रको मनोविज्ञानबारे प्रशिक्षण लिएपछि शारीरिक रूपमा चुस्त देखिन मेहनत गरेँ। आर्मीको सोचाइ र शारीरिक हाउभाउलाई उतार्न सफल भएपछि छायांकनमा पुगेको थिएँ। नेपालीपछि भारतीय र ब्रिटिस चलचित्रमा काम गर्न पाउँदा मैले उहाँहरूको कार्यशैलीलाई बुझ्ने मौका पाएँ’, धमलाले भने।

चलचित्रमा उनले निर्वाह गरेको पात्रलाई युद्धबाट फर्किएर घर आइपुग्दा श्रीमतीको मृत्युको खबर थाहा हुन्छ। त्यसपछि घट्ने घटनाक्रमले ‘क्राइम र थ्रिलर’ विधाका चलचित्र रुचाउने दर्शकलाई मनोरञ्जन दिने धमलाले बताए। 

सन् २०१८ देखि मोडलिङमा सक्रिय धमलाले चलचित्र, विज्ञापन र म्युजिक भिडिओमा काम गरिरहेका छन्।

विदेशी चलचित्रमा काम गर्दा थप अनुभवी बनाएको उल्लेख गर्दै अभिनेता धमलाले आगामी दिनमा संख्यात्मकभन्दा पनि गुणात्मक चलचित्रमा काम गर्ने बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad