कला


डेउडा खेल्दै सकियो टीकापुर महोत्सव

डेउडा खेल्दै सकियो टीकापुर महोत्सव

नेपालखबर
फागुन २७, २०८१ मंगलबार १९:५६, काठमाडौँ

सुदूरपश्चिमको संस्कृति र संगीत भन्ने बित्तिकै डेउडा आइहाल्छ। टीकापुर साहित्य महोत्सवको अन्तिम दिनको साँझ डेउडामय भयो। सुरुमा सुदूरपश्चिमको डेउडा शीर्षकमा कलाकारहरु नन्दकृष्ण जोशी, रेखा जोशी, डिक्रा वादी र लक्ष्मी आचार्यले यस भेगको देउडा संस्कृतिबारे चर्चा गरे।

छलफलपछि यी चर्चित गायक गायिकाले डेउडा गाए। डेउडा गायनले केहीबेर अघिसम्म मञ्चमा शान्त मुद्रामा बसेका स्रोताहरु उठ्न बाध्य भए। र, एकपछि अर्का स्रोता दर्शक गाउन थाले, ‘झ्याम्म झ्याम्म’।

खासमा, महोत्सवको अन्तिम दिन पूरै सुदूरपश्चिम विशेष थियो। जसमा टीकापुरको विकास, अवसर र चुनौतीदेखि थारु संस्कृतिका विभिन्न आयामबारे छलफल भए।

पहलमानसिंह स्वाँरप्रति समर्पित महोत्सवमा स्वाँर र नेपाली नाट्यपरम्पराबारे विशेष सत्र पनि थियो। नाट्य विधामा स्वाँरको योगदानबारे सुदूरपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति अम्मराज जोशी, व्रतराज आचार्य, धनञ्जय तिमिल्सिनाले प्रकाश पारे।

सभासद् ईश्वरी न्यौपाने, गरिमा शाह, गंगा चौधरी, रुपा चौधरी र कैलाश चौधरीले संघीय सरकारको नीतिमा सुदूरपश्चिम विषयमा छलफल गरे।

महोत्सवमा गीत, गजल, कवितालाई विशेष स्थान दिइएको थियो। पहिलो दिनको काव्यसन्ध्या र दोस्रो दिन गजल सन्धयामा युवा पुस्ताको उल्लेख्य सहभागिता देखिन्थ्यो। 

महोत्सवमा उपन्यासमा पात्र निर्माण, यात्रा साहित्य, आख्यान र महिला लेखन, गैरआख्यानमा नवीन विषयवस्तु, आजका कविता लगायत नेपाली चलचित्र, महिला नेतृत्व, दलितका मुद्दा, भुइँबाट उठेका उद्यमीदेखि नेपाली नाटकका विषयमा चर्चा भए। त्यसैगरी स्थानीय विषयवस्तुलाई पनि महोत्सवमा विशेष प्राथमिकता दिइएको थियो। 

जस्तो कि मलवारका उदाउँदा २० प्रतीभाहरूले गीत, कविता र गजल वाचन गरेका थिए। थारु संस्कृतिको आयाम केलाइको थियो। नेपाली साहित्यमा  सुदूरपश्चिमका नयाँ पुस्ताले विमर्श गरेका थिए। टीकापुरको विकास र अवसरबारे बहस गरिएको थियो। नेपाली नाट्यपरम्परा र पहलमान सिंह स्वाँर, संघीय सरकारको नीतिमा सुदूरपश्चिम जस्ता विषयमा गहिरो विमर्श भए।

शनिबारदेखि सुरु भएको महोत्सवमा विज्ञहरूको धारणालाई पनि समेटियो। सुदूरपश्चिम प्रदेश प्रज्ञा प्रतिष्ठानका उपकुलपति टीएन जोशीले टीकापुर साहित्य महोत्सवलाई सांस्कृतिक जागरणको अभियानका रुपमा चित्रण गरे।

प्राध्यापक अभि सुवेदीले भने, ‘टीकापुर साहित्य महोत्सव टीकापुरमा प्राण हाल्ने र सृजनात्मक शक्ति आर्जन गर्ने प्रयास रहेछ।’ 

महोत्सवका संयोजक तथा अध्यक्ष मदन पुरस्कार विजेता साहित्यकार महेशविक्रम शाहले द्वन्द्वको विषम परिस्थिति भोगेको सहर भएकाले पनि टीकापुरमा साहित्य महोत्सवलाई निरन्तरता दिएको बताए।

विद्वत प्रवचन दिँदै विश्लेषक हरि शर्माले संसदमा लोकतन्त्र महसुस गर्न नसकेको वर्तमान अवस्थामा यस्ता महोत्सवहरुले ‘मिनी लोकतन्त्र’को अभ्यास गर्ने अवसर दिएको विचार राखे। त्यसैगरि महोत्सवमा आख्यानकार नारायण ढकाल, केशव दाहाल, सरस्वती प्रतीक्षा, प्रगति राई, सगुना शाहहुँदै पछिल्लो पुस्ताका देवव्रत, कल्पना जोशीसम्म बहसमा सहभागी भए।

महोत्सव संयोजक तथा अध्यक्ष महेशविक्रम शाहले भने, ‘टीकापुरलगायत देशभरका धेरै लेखक, कलाकार, विज्ञ, राजनीतिज्ञ तथा सर्वसाधारणको साथ सहयोगले महोत्सवको दोस्रो संस्करण भव्य बन्यो। यसले आगामी संस्करण थप राम्रो बनाउन मेहनत गर्ने उर्जा थपेको छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad