कला


प्रधानमन्त्री ओलीको भाषण राख्दा रोकियो ‘राजागंज’को सेन्सर

प्रधानमन्त्री ओलीको भाषण राख्दा रोकियो ‘राजागंज’को सेन्सर

नेपालखबर
फागुन २८, २०८१ बुधबार १२:३०, काठमाडौँ

चैत १ गते रिलिज हुने फिल्म ‘राजागंज’ सेन्सर रोकिएको छ। चलचित्रभित्र समावेश शब्द र सामग्रीमा आपत्ति जनाउँदै केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले सेन्सर रोकेको हो।

समितिले सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलेको भाषणको दृश्य समेटेकामा आपत्ति जनाउँदै यस फिल्मलाई प्रदर्शन अनुमति दिन अस्वीकार गरेको हो।

केही वर्षअघि प्रधानमन्त्री ओलीले एक कार्यक्रममा संविधान सभाबाट बाहिरिने दलहरूलाई ‘रुखबाट झरेका केही आँप’को संज्ञा दिएका थिए।

जुन भाषण फिल्ममा समावेश गरेपछि सेन्सर बोर्डले आपत्ति जनाएको हो। जाँच समितिले प्रधानमन्त्री ओलीबाट अनुमति लिएको प्रमाण पेस गर्न समेत भनेको छ। केन्द्रीय चलचित्र जाँच समिति सेन्सर बोर्डका सदस्य ऋषिराज आचार्यले फिल्मबाट निर्माण टिमलाई केही छाँटकाँट गरेर ल्याउन भनेको बताए। बोर्डले दिएको निर्देशन फिल्म निर्माण टिमले मान्नुपर्ने उनको भनाइ छ।

फिल्मबाट उक्त दृश्य हटाउँदा कला मर्ने फिल्म निर्माण टिमको भनाइ छ। जसकारण यस विषयमा सेन्सर बोर्डसँग कुराकानी भइरहेको निर्माण टिमले जनाएको छ।

दीपक रौनियार निर्देशित यस फिल्ममा आशा मगराती, दयाहाङ राई, विजय बराल, ऋचा शर्मा, गौमाया गुरुङ, पशुपति राई, पूर्वमिस नेपाल निकिता चाण्डक, पुष्पा यादव, आरती मण्डल घनश्याम मिश्र, परमेश्वर कुमार झा र नीरज श्रेष्ठलगायत अभिनय छ। यो फिल्म भेनिस, ह्याम्बर्ग, बुसान र मुम्बईजस्ता विश्वका ठूला सिनेमा महोत्सवमा सहभागी भइसकेको छ। यो सिनेमा गत कात्तिक एकै महिनामा ५ फेस्टिभलमा स्क्रिनिङ भएको थियो।

सिनेमाले भेनिसमा १० मिनेटको स्ट्यान्डिङ ओभेसन प्राप्त गरेको थियो। प्रतिष्ठित अमेरिकी अखबार ‘द न्युयोर्क टाइम्स’ले निर्देशक रौनियारलाई संसारका नौ उदीयमान निर्देशकको सूचीमा समावेश गरेको थियो। सत्य घटनाबाट प्रेरित रहेको ‘राजागंज’ले नेपाल र भारतको सीमावर्ती सहरमा अपहरणमा परेका दुई बालकलाई मुक्त गराउन प्रहरीले चालेको खोजी अपरेसनको कथा उठाएको छ।

फिल्मको निर्माणमा आदि फिल्मस्‌का तर्फबाट निर्देशक रौनियार र अभिनेत्री मगराती, बासुरी फिल्मस्का तर्फबाट रामबाबु गुरुङ र मनिराम पोखरेल, अभिनेता दयाहाङ राई तथा तन्हाउसर गेटका तर्फबाट एलन आर मिलिगनले सहकार्य गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad