फागु पूर्णिमाको अवसरमा रिलिज भएको फिल्म ‘अञ्जिला’ ले दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ। सुरुवाती दिनदेखि नै दर्शकको राम्रो साथ पाएको यो चलचित्र हेरेर दर्शकहरू भावुक भइरहेका छन्।
निर्देशक मिलन चाम्स, कलाकार तथा निर्माता प्रेमकुमार श्रेष्ठ, कलाकार सुमीन गुरुङसहितको चलचित्र टिम दर्शक भेट्न हल पुग्दा अधिकांश दर्शकहरू रोइरहेका देखिन्थे।
यो फिल्म नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ। जसमा एन्जिला आफैँले प्रमुख भूमिकामा अभिनय गरेकी छन्। यसमा उनको बाल्यकालदेखि खेल जीवनसम्मको सङ्घर्ष र सफलताको भावुक कथा प्रस्तुत गरिएको छ।
बिहीबार साँझ राष्ट्रिय महिला फुटबल टिमकी खेलाडी प्रीति राईले पनि यो फिल्म हेरेकी छन्। चलचित्र हेरेपश्चात् दर्शकसँग साक्षात्कार गर्दै राईले एन्जिलाले चलचित्रमा देखाइएको भन्दा पनि अझै धेरै सङ्घर्ष गरेको बताइन्।
‘यस चलचित्रमा देखाइएको भन्दा पनि धेरै सङ्घर्ष एन्जिलाले गरेकी छन्, जुन मलाई थाहा छ। नेपाली राष्ट्रिय महिला फुटबल खेलाडीहरूले आ-आफ्नो हिसाबले धेरै सङ्घर्ष गर्नुभएको छ। उहाँहरूले यति धेरै सङ्घर्ष गरेर नै आज हामीले खेलको क्षेत्रमा यो ठाउँसम्म आइपुगेका छौँ। एन्जिलालाई यो ठाउँमा देख्दा मलाई एकदमै खुसी महसुस भइरहेको छ। छोरीले फुटबल खेल्नु हुँदैन भन्ने सामाजिक दृष्टिकोण मैले पनि भोगेकी थिएँ, आज यो ठाउँमा उभिँदा मलाई पनि गर्व लागेको छ । सबैले अञ्जिला चलचित्र हेरेर एन्जिलालाई सहयोग गर्नुहोला,’ उनले भनिन्।
राई सशस्त्र प्रहरी बलको सुरक्षासहित हलमा आएकी थिइन्।
निर्देशक मिलन चाम्सले आफूले चाहेर पनि एन्जिलाको जीवनमा घटेका थप दर्दनाक घटनाहरू देखाउन नसकेको बताए।
‘हामीले चाहेर पनि सबै देखाउन सकेनौँ, यो चलचित्रमा आएको कथा त २५ प्रतिशत मात्रै हो। चलचित्र बनाउने क्रममा यत्तिमै म धेरै पटक रोएको छु, सबै कथा त म भन्नै सक्दिन,’ चाम्सले भने।
यस फिल्ममा एन्जिलासहित सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ। अहिले सोसल मिडियामा यस फिल्मको प्रशंसा भएका र दर्शक रोइरहेका भिडियो क्लिप्सहरू भाइरल छन्।
Shares

प्रतिक्रिया