कला


नेपथ्यसँगै एडिलेडमा ‘मै नाचेँ छमछमी’ (तस्बिरहरू)

नेपथ्यसँगै एडिलेडमा ‘मै नाचेँ छमछमी’ (तस्बिरहरू)

प्रशान्त लामिछाने
चैत १०, २०८१ आइतबार ८:३७, एडिलेड (अस्ट्रेलिया)

अस्ट्रेलिया, एडिलेडको म्युजिक हलमा अमृत गुरुङ गाइरहेका छन्–

कोसीको पानी यो जीन्दगानी
सललल जाइजाने हौ हजुर
आमाको कोखमा बास मात्रै लिएँ नि
कुन देशको मरण हौ हजुर…!

शुक्रबारको साँझ दर्शकले हल खचाखच छ। एक छेउमा एक अजी जोडी गीतमा नाचिरहेका छन्। अमृतको भाव हेर्दै उनलाई पछ्याइरहेका छन्। यो दृश्य निकै रोचक लाग्थ्यो।

हल थोरै शान्त हुँदा उनीहरूलाई सोधेँ– कस्तो लाग्दै छ? ‘शब्द त हामी बुझ्दैनौँ तर यसरी हरेक दर्शकसँग गीत कनेक्ट भएको यहाँको भावले देख्न सकिन्छ।’

उनीहरूले अझ थपे, ‘हलले गायकसँगै गीत गाइरहेको छ, हाम्रा लागि यो नयाँ अनुभव भयो।’

त्यो जोडी कन्सर्टको अन्तिमसम्मै गीतमा झुमिरहेको थियो। आफ्नो छेउका दर्शकसँग घरिघरि गीतको अर्थ पनि सोध्दै रमिरहे।

अहिले नेपथ्य आफ्नो सांगीतिक यात्राको क्रममा अस्ट्रेलियामा छ। यही छेकोमा शुक्रबार दक्षिण अस्ट्रेलियाको एडिलेडमा सो भएको हो।

अमृत स्टेजमा आउनुअघि स्क्रिनमा भिडियोसहित बजिरहेको थियो–

स, जौका बारी, गौका पुला कम्पनी
स, पुल बान्दी जया बैनै कम्पनी
स, हास्दैँ खेल्दै दिन काटम्ला कम्पनी
स, घरबार्‍या न भया बैनै कम्पनी
झल्काइदऊ झल्काइदऊे
गलैको कम्पनी माला झल्काइदऊ

थिन्ले र अमृत गुरुङ डोल्पाका मनोर दृश्यसँगै भिडियोमा देखापर्दा दर्शकको हुटिङले हल गुन्जयमान भइरहेको थियो।

जब अमृतले गाउन थाले दर्शक पनि उनीसँगै स्वरमा स्वर मिलाउँदै नाच्न थाले।

शिरफूल शिरैमा
बन फूल बनैमा
हिउँको फूल धौलाश्रीमा…

गाइरहँदा स्क्रिनमा देखिएका हिमाली दृश्यले दर्शकलाई नेपाल सम्झाइरह्यो।

गाउँ गाउँबाट उठ
बस्ती बस्तीबाट उठ

जसै अमृतले गाउन थाले। हल जुरुक्क उठ्यो, दर्शकहरुले हात उठाउँदै हललाई घन्काइरहे।

जोमसोमे बजारमा, मै नाँचे छमछमी, भेडाको उन जस्तो लगायत नेपथ्यका चर्चित गीतहरु अमृतले सुनाए। नैना ताल गुन्जाउँदै लाहुरेका विगतका कथा उनले नयाँ लाहुरमा सुनाए।

रातो र चन्द्र सूर्य
जंगी निसान हाम्रो

गाइरहँदा दर्शकले हलमा राष्ट्रिय झण्डा फरफराएको दृश्य सुन्दर लाग्थ्यो।

कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गीतारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले साथ दिए।

नेपथ्यले क्यानबेरा, पर्थ, ब्रीसवेन, होवार्ट र पाँचौ सो एडिलेडमा सम्पन्न गरिसकेको छ। २४ मार्चमा मेलवर्नमा सो गरेसँग नेपथ्यले सिड्नीमा आफ्नो प्रस्तुति दिनेछ। सिड्नीमा भने २९ र ३० मार्चमा नेपथ्यका दुई सो रहने आयोजकले जनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad