कला


सिमली छायामा गफिए हरिवंश र विजय

सिमली छायामा गफिए हरिवंश र विजय

नेपालखबर
चैत १२, २०८१ मंगलबार २१:२८, काठमाडौँ

आफ्नो समकालीन पुस्ता र नयाँ पुस्तालाई समेत प्रभावित पार्दै सक्रिय काम गरिरहेका हरिवंश आचार्यले अभिनय क्षेत्रमा पाँच दशक बढी बिताएसके।

हरिवंशले यही लामो यात्राबारे अहिलेका चर्चित अभिनेता बिजय बरालसँग भलाकुसारी गर्दै भने, ‘मेरो उमेर ६७ भयो, तर म काम गर्ने बेला तपाईंको उमेर ३७ वर्षको भएर सोच्छु।’

दुई पुस्ताका यी कलाकारबीच तेस्रो अन्तर्राष्ट्रिय नाट्य महोत्सवको अन्तिम दिनको अन्तिम सेसनमा गफिए।

आफूलाई शारीरिक रुपमा स्वस्थ राख्न अनुशासित भएर सामान्य कसरत गर्ने बताउँदै उनले भने, ‘मानसिक रुपमा स्वस्थ राख्न म नकारात्मक कुराहरुलाई टेबल टेनिसको बललाई हिर्काएजस्तै गरी प्याट्ट अर्कोतिर फाल्छु।’ उनले आध्यात्मिक रुपमा पनि ध्यान अभ्यासले फाइदा पुगेको सुनाए।

उनले चरित्र निर्वाह गर्ने क्रममा कहिले युवा त कहिले वृद्ध बन्नुपर्ने भएकोले आवश्यकता अनुसार डेन्टिङ पेन्टिङ पनि गर्ने बताए।

मण्डला थिएटरको आँगनमा उनले आफूले पहिलो पटक राष्ट्रिय नाचघरमा नाटक गर्दाको क्षण स्मरण गर्दै आफ्ना गुरुहरु जितेन्द्र महत अभिलाषी र हरिप्रसाद रिमाललाई सम्झिए।

डायलग बोल्ने कुरामा गुरु रिमालले सिकाएको ज्ञान पछिसम्म उपयोगी भएको उनले बताए। उनले भने, त्यसबेला अहिले जस्तो थिएटर नभएकोले रेडिमेड हलहरुमा गएर प्रस्तुति दिने दिनमा फर्किए।

हास्य व्यंग्य, प्रहसन र नाटकमा धेरै फरक छैन भन्दै उनले आफू सधैं नाटकको नजिक रहेकोमा जोड दिए। कार्यक्रममा आफू नाटकको पृष्ठभूमिबाट आएकोले नै जग बलियो भएको तर्क गर्दै उनले अहिलको सिनेमा क्षेत्र नै थिएटरका कलाकारले नेतृत्व गरेको तर्क गरे।

पूर्णबहादुरको सारंगीपछि चर्चाको शिखरमा पुगेका बिजयले हरिवंशलाई सोधे, एउटा सफल कलाकारले आफूलाई सफलताको विन्दुमा टिकाइराख्न कत्तिको सहज हुन्छ वा तनाव हुन्छ? त्यसलाई कसरी टिकाइराख्ने?

‘उमेर र अनुभव यति धेरै भइसक्यो । तर मलाई हरेक पटक शोमा जानुभन्दा अगाडि मुटु ढुकढुक भइरहेको हुन्छ। दुई तीन पल्ट ट्पाइलेट पनि जान्छु। मनमा एक किसिमको डर उत्पन्न भइरहेको हुन्छ,’ उनले भने, ‘त्यो डर नै  अनुशासन हो। हरेक पटक लेख्दा यसअघिको भन्दा राम्रो लेख्न सक्छु कि सक्दिनँ भनेर सचेत हुन्छु।’

पुराना सन्दर्भहरु स्मरण गर्दैगर्दा हरिवंशले आफ्नो आगामी फिल्म भूठानमा काम गर्दाको प्रसंगहरु पनि सुनाए। उनले भने, ‘भूठानको स्क्रिप्ट दुई तीन पटक पढेपछि यस चलचित्रमा काम गरेभने मैले पक्कै नयाँ केही गर्न सक्छु भन्ने लाग्यो। अनि मैले भूठानमा काम गर्ने निर्णय लिएँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad