लोक-रक संगीत र अमृत गुरुङको मौलिक प्रस्तुतिका कारण चर्चित ब्यान्ड नेपथ्य दुई वर्षपछि काठमाडौँ उपत्यकामा गुञ्जिएको छ।
शनिबार राति गोकर्णेश्वरमा नेपथ्यले आफ्ना लोकप्रिय गीत प्रस्तुत गर्दै नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा शनिबार दर्शकलाई भरपूर मनोरन्जन दियो।
अमेरिका र अस्ट्रेलिया टुरबाट फर्किएको नेपथ्यलाई स्वागत गर्न दर्शकहरू दिउँसैदेखि भेला भएका थिए। ७ हजार दर्शकमाझ प्रस्तुति दिएको नेपथ्यले नयाँ वर्षका लागि महत्त्वपूर्ण सन्देशसहित आफ्ना प्रस्तुतिहरू दिएको थियो।
प्रस्तुतिको सुरुवातमा मञ्चमा ‘रेशम’ म्युजिक भिडिओ बजेको थियो। जुन गीत सुनेर दर्शकहरू ब्यान्डसँग साक्षात्कार गर्न निकै आतुर देखिन्थे। दर्शकदीर्घामा माहोल जमेसँगै गायक अमृत गुरुङ ब्यान्डसहित सदावहार जोसका मञ्चमा देखिए।
त्यसपछि त के चाहियो र? नेपथ्यको हिट गीत सुन्न लालायित दर्शकहरूबाट चर्को हुटिङ चल्यो। त्यसपछि उत्साहका साथ सुरु भयो- नेपथ्यको अद्भूत प्रस्तुति।
२ घण्टा लामो कन्सर्टमा ब्यान्डले यो जिन्दगानी, आँगनचरि, नैनीताल, शीरफूल शिरैमा, पचासै वर्षमा जुग कहाँ पुग्यो नि, भेडाको ऊनजस्तो, यो जिन्दगानी, जोगले हुन्छ भेट मायाले हुन्छ सम्झना लगायतका चर्चित गीतहरूमा प्रस्तुति दिएको थियो। त्यस्तै, राल्फा समूहको ‘गाउँगाउँबाट उठ, बस्ती बस्तीबाट उठ’ पनि गाएका अमृतले ‘रातो र चन्द्रसूर्य’ छाड्ने कुरै थिएन।
यी गीतहरु सुन्दा सबै उमेरका दर्शकमा उस्तै जोस भरेको थियो। सिंगै दर्शकदीर्घा जुरूक्क उचालेका अमृतले ‘रातो र चन्द्रसूर्य’ गाउँदै बिट के मारेका थिए, केहीबेर दर्शकदीर्घाबाट ‘वान्समोर’ आइरहेको थियो।
काठमाडौँ उपत्यकाभित्र नेपथ्यको यसअघिको प्रस्तुति २०७९ पुसमा भृकुटीमण्डपमा भएको थियो। गोकर्णेश्वरको कार्यक्रमपछि शृंखलाबद्ध प्रस्तुति लिएर नेपथ्य पुनः अमेरिका जाने तयारीमा रहेको छ।

निकै शालीन प्रस्तुतिमा पनि दर्शकमाझ मायापीरतिका भावहरू व्यक्त गर्न सकिन्छ भन्ने नेपथ्यले देखाउँछ। नेपाली झर्रा शब्द र झ्याउरे भाकामा पनि रक संगीत भर्न र मञ्चमा प्रस्तुत गर्न सकिन्छ भनेर प्रमाणित गर्ने ब्यान्ड पनि नेपथ्य नै हो। हिमाल, पहाड र तरा
शनिबार गोकर्णेश्वरमा अमृतले थप सन्देश दिए- हिमाल, पहाड र तराईँको भौगोलिक विविधतासँगै जातजाति र भाषाभाषीका बीचमा पनि हामी नेपाली हौँ भन्ने एकताको भावनात्मक गाँठो टुट्न दिनुहुँदैन। कसैले टुटाउन खोजे पनि आफैँ सचेत बन्नुपर्छ।
यति मात्र होइन, उनको थप सन्देश थियो- हामी नेपालीले मानवताको न्यूनतम मूल्यमा सम्झौता गर्दैनौँ। बेथितिका विरुद्ध बोल्न डराउँदैनौँ। स्वतन्त्रता खुम्च्याउने प्रयासलाई सफल हुन दिँदैनौँ। समाजमा पछि परेको र शिक्षाबाट वञ्चित भएको तप्कालाई मूल धारमा ल्याउन आफ्नो गच्छेअनुसार हातेमालो गर्छौँ। उनले भने, ‘धन हुनेले त्यस्तै हो, मन हुनेले अवश्य गर्छौँ।’
उनले नयाँ गीतमार्फत यहाँ बेइमानहरूको राज चल्न खोजेको हो कि भनेर आशंका व्यक्त गर्दै त्यो सफल नहुने सन्देश पनि दिए। उनले भने, ‘आखिर यो संसार चलेको थोरै तर इमानदार मानिसहरूका कारण हो।’
विश्वका धेरै देशका धेरै राज्यमा सांगीतिक म्याराथन गरिसकेपछिको अनुभूति मिसाउँदै गायक अमृतले गीतहरूको बीचबीचमा भनिरहे, मान्छेलाई, प्रकृतिलाई, समयलाई, संस्कृति र भाषालाई माया गरौँ, सम्मान गरौँ। यति भए पक्कै हामी ‘हामी’ रहनेछौँ। नेपाली रहनेछौँ।
जब अमृतले दर्शकतिर झुकेर विदाइका लागि अभिवादन गर्दै थिए, मैदानबाट एकै शब्दको नारा लागिरहेको थियो- नेपथ्य, नेपथ्य...।
Shares

प्रतिक्रिया