आगामी शुक्रबारदेखि रिलिज हुने ‘झिल्को’को अग्रिम बुकिङ खुला भएको छ। देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्स लगायतका हलहरुले यस फिल्मको अग्रिम बुकिङ खुलाएका हुन्।
आजको डिजिटल युगमा प्रविधिको अनियन्त्रित प्रयोगले बालबालिकाको जीवन, पारिवारिक सम्बन्ध र सामाजिक स्वास्थ्यमा पार्ने गम्भीर असरबारे संवेदनशील कथामा यो फिल्म बनेको छ।
यस फिल्ममा सुनिल पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जान्वी बस्नेत, जेनीश श्रेष्ठ र जेभीश श्रेष्ठको अभिनय रहेको छ।
यसअघि ‘झोला’जस्तो ऐतिहासिक र सामाजिक सन्देशमूलक चलचित्र निर्देशन गरेका यादवकुमार भट्टराईले यो चलचित्रको निर्देशन गरेका हुन्।
भट्टराईले बालबालिका, अभिभावक, शिक्षक, र नीति निर्माताबीच समन्वयको आवश्यकता दर्साउन यो कथा चुनेको बताए।
मिडिया फर कल्चर प्रालिको ब्यानरमा निर्माण गरिएको चलचित्रको छायाङ्कन दीपक बज्राचार्य, सम्पादन निमेष श्रेष्ठ, कलर तथा साउन्ड मिक्सिङ श्याम कुँवर, र साउन्ड डिजाइन उत्तम न्यौपानेले गरेका छन्। चलचित्रको कथा तथा पटकथा यादवकुमार भट्टराईले अरुणदेव जोशी र देव व्रतसँग मिलेर तयार पारेका हुन्।
‘झिल्को’का कार्यकारी निर्माता उमेश पौडेल हुन् भने निर्माता सुशीला आचार्य, रामगोपाल थापा र किरण कुमार आचार्य हुन्। बिहीबार साँझ काठमाडौँमा यस चलचित्रको ग्रान्ड प्रिमियर शो आयोजना गरिँदैछ।
Shares

प्रतिक्रिया