०८१ साल साउन महिनाको अन्त्यतिर हो, विपिन कार्की पाँचथरको एउटा खोलामा ‘ऊनको स्वीटर’को सुटिङ गर्दै थियो। बुबा बितेको सिन थियो। घाटमा कपाल काटेर बुबाको अन्त्येष्टि गरिरहेको दृश्यको छायांकन भइरहेको थियो।
नेटवर्क समस्याले विपिनको फोन लागिरहेको थिएन। सुटिङ सकेर गाडीमा के चढेका थिए– काठमाडौँबाट फिल्मका लाइटम्यानको मोबाइलमा घण्टी बज्यो। विपिनका लागि जरुरी सन्देश थियो– ‘उहाँको आमालाई आईसीयूमा राखेको छ। तुरुन्तै खबर गरिदिनू।’
गाडीमा लाइटम्यानसँगै बसेका विपिनले तत्काल खबर पाइहाले। सुटिङ गाउँमा भइरहेकाले त्यही दिन काठमाडौं फर्कनसक्ने अवस्था थिएन। सुटिङ छाडेर भोलिपल्टै काठमाडौँ पुगे। यता सुटिङ स्थगित भयो।
विपिनकी आमा दीर्घरोगले पीडित थिइन्। रिलमा त्यस्तो दृश्यको छायांकन गरेको एक सातामै उनकी आमा बितिन्। त्यसपछि उनले साँच्चै आमाको अन्त्येष्टि गरे।
‘मेरो जीवनको यस्तो घटनासँग यो फिल्म जोडिएको छ कि म सम्झिन पनि चाहन्नँ तर बिर्सिन पनि सकिँदैन,’ नेपालखबर सो लेट्स टकमा विपिनले भावुक हुँदै त्यो घटना सम्झिए, ‘म काठमाडौँ फर्किएपछि केही दिन आमासँग बसेँ। त्यसपछि आमा बित्नुभयो। त्यस्तै सिन गर्दागर्दै कसरी यस्तो भयो, अन्त्येष्टिपछि लामो समयसम्म यो संयोग मेरो दिमागमा खेलिरह्यो। अहिले पनि झस्किन्छु कहिलेकाहीँ।’

विपिनका कारण यो फिल्मको सुटिङ रोकिएको यो पहिलोपटक थिएन। यसअघि जेठमा सुरु भएको सुटिङ पनि उनकै कारण १५ दिनपछि रोकिएको थियो।
‘मेरै कारणले थियो त्यो पनि,’ विपिन भन्छन्, ‘सुटिङ गर्दागर्दै एक्कासि मेरो प्रेसर हाइ भएर उपचारका लागि काठमाडौंँ आउनुपरेको थियो। ट्रेलरमा देख्नुभयो होला, त्यो छानो छाइरहेको सिन छ नि, माथि चढेको। हाइटले गर्दा डर लागेको हो कि के हो, कहिल्यै त्यस्तो हुँदैन थियो। एक्कासि गाह्रो भयो। खाना खाएर डाक्टरले चेक गर्दा अहिले नै हस्पिटल जानुपर्छ, अस्वाभाविक प्रेसर बढिरहेको छ भन्नुभयो। काठमाडौँमा मेरो डाक्टरलाई फोन गर्दा उहाँले जसरी पनि आएर चेकअप गराएर जानुस् भन्नुभयो। त्यसपछि सुटिङ रोक्नुपर्यो।’
यसरी तीनपटकको सेड्युलमा मात्रै यो फिल्मको सुटिङ सम्भव भयो। लिम्बू युवती र काफ्ले थरका युवाको प्रेम कथामा आधारित यो फिल्मको सुटिङ सकिन दिन गिन्तीका हिसाबले ५२ दिन लागे पनि निकै कष्ट व्योहोर्नुपरेको विपिन बताउँछन्।
‘सुटिङ जेठबाट सुरु भएको थियो। म बिरामी भएपछि दोस्रोपटक साउन अन्तिममा सुरु गरियो। आमा आईसीयूमा भएको खबर आएपछि फेरि रोकिएर भदौमा फर्किनुपर्यो। त्यसपछि कात्तिकमा मात्रै फिल्मको सुटिङ सकियो,’ विपिनले सुनाए।
विपिन यो फिल्मसँग आफ्नो बिर्सनै नसकिने अनुभूतिहरू रहेको बताउँछन्। आमा बितेपछि यो फिल्मको सुटिङमा फर्किन उनलाई निकै सकस भयो। तर, वियोगमै बसिरहँदा फिल्म युनिटको त्यत्रो लगानी जोखिममा पर्थ्यो।

‘वियोगमै बसेर पनि नहुने भयो। एक डेढ महिना काम नगरी घरमै बसेँ। त्यसपछि आफै तयार भएर सुटिङ राखौँ भनेर सुरु गरियो,’ विपिनले भने।
हामीले विपिनलाई सोध्यौँ– यदि तपाईंले आफूले निर्वाह गरेमध्ये कुनै एउटा पात्रसँग वास्तविक जीवनमा १ घण्टा बिताउने मौका पाउनुभयो भने त्यो पात्र को हुने थियो? के कुरा गर्नुहुन्थ्यो?
जवाफमा उनले ‘ऊनको स्वीटर’कै धरणीधर काफ्लेसँगै भेट्न मन भएको बताए।
‘म धरणीधर काफ्लेलाई नै भेट्न चाहन्छु,’ उनले भने, ‘काफ्लेसँग प्रश्नहरू पनि छन् मेरा। अरुसँग त्यस्तो गुन्जायस छैन। अरु पात्रले समाधान दिएर गएका छन्। धरणीधरले मलाई दिएको छैन। मलाई उसँग सोध्न मन छ, किन यस्तो त अन्तिममा? किन यस्तो अत्याचार गरिस्? अरुको लागि मात्रै सोच्नु जीवन हो त? आफ्नो लागि सोच्नु पर्दैन त?’
हेर्नुस्, विपिनले आफ्नो फिल्म, करिअर, पात्र, बाल्यकाल र जीवनका अनेक पाटाबारे खुलेर कुराकानी गरेको ‘लेट्स टक’ :
फोटो/भिडिओ : सरोज नेपाल/सौगात दाहाल

प्रतिक्रिया