गतवर्षको सुरुवाती ताका निर्देशक दिनेश राउतको ध्यान एक टेलिभिजनको आइरहेको समाचारमा गयो। जहाँ एक वृद्ध महिला आफ्नो पीडा सुनाइरहेकी थिइन्।
६०/७० वर्षकी ती वृद्ध महिला खर्च नहोस् भनेर काम गर्न जाँदा कहिल्यै गाडी चढिनन्। अनि पैसा बचाउन घरबाटै खाजा लिएर गइन्। बुढेसकालमा सहज होस् भनेर त्यो गाडी भाडा र खाजाबाट बचेको पैसा सहकारीमा जम्मा गरिन्। तर, विडम्बना, सहकारी ठगीका कारण उनले आफ्नै पैसा फिर्ता पाइनन्।
राउतलाई ती महिलाको विलौनाले निकै मन छोएछ।
‘उहाँले बोलिराख्दा भित्री पीडा एकदमै गहिरो रूपमा महसुस गरेँ। यो त एकदम अन्याय नै भयो,’ उनले भने, ‘सामान्य मान्छेको आफ्नो दैनिकीबाट खर्च काटेर पछि आफ्नो भविष्य, परिवार वा बालबच्चाको लागि साँचेर पैसा राखेको हुन्छ। जुन पैसा फिर्ता नपाउँदाखेरी उहाँहरूको पीडा देख्दा नमज्जा भयो।’
सामाजिक कथावस्तु उठान गरिरहेका राउतलाई सहकारी ठगीको पीडा फिल्ममा ल्याउनुपर्छ लाग्यो।
उनले भने, ‘सरकारीले पैसा कसरी अपचलन गरिरहेको छ? यसको सञ्जाल कहाँसम्म छ? नजिकबाट बुझ्दा राज्यले पनि अलिकति आँखा चिम्लिरहेको महसुस भयो। राज्यले चाहेको खण्डमा यो समाधान हुने विषय हो, किन त्यो गरिरहेको छैन भन्ने मनमा प्रश्न उब्जियो। फिल्ममेकरको हिसाबले चलचित्रको माध्यमबाट यो चिज भन्नुपर्छ लाग्यो। कम्तीमा सम्बन्धित निकायलाई घच्घचाउन सक्छौँ भन्ने हिसाबले यो फिल्म बनाउन लागेँ।’
कथाको लागि उनी सहकारी ठगीको रिसर्चतर्फ लागे। सोसल मिडिया र मिडियामा आएको कुराहरू तथ्यपरक होकि होइन भनेर पीडितसहित सहकारी सञ्चालकहरूसँग भेटघाट गरेर कुराकानी गर्न थाले। सहकारीबाट गरिबदेखि करोडपतिसम्म पीडित रहेको उनले थाहा पाए।
भन्छन्, ‘कुराकानी गर्दा विभिन्न कुराहरू आए। कति मान्छेहरूले ब्याजको आशले सहकारीमा लगानी गरेका रहेछन्। गाउँघरमा बैंकसँग पहुँच पनि हुँदैन। जसले कत्तिले सहकारीमै बचत गर्नुहुँदो रहेछ। सामान्यदेखि करोडपतिसम्म यसमा पर्नुभएको छ। यो फिल्म हेरेपछि पीडक बनाएको मान्छे आफैँमा पीडित रहेछ भन्ने थाहा हुन्छ।’
राउतका अनुसार नेपालमा पहिल्यैदेखि कुनै न कुनै तवरबाट माथिल्लो स्तरकाले अरुलाई शोषण गरेर आफू रमाउने प्रवृत्ति हाबी छ। जुन सहकारी ठगी प्रकरणमा पनि देखिएको उनलाई लाग्छ। अध्ययन गरिसकेपछि लेखक विकास सुवेदीले फिल्मको स्क्रिप्ट लेखेका हुन्।
‘सहकारीको पैसालाई अपचलन गरेर आफ्नो इच्छा पूरा गर्ने अथवा आफ्नो महत्त्वकांक्षा पूरा गर्ने ट्रेन्ड छ। हामीले रियल सहकारी पीडितको कथाभन्दा पनि एउटा प्रवृति छ। माथिल्लो स्तरको मान्छेले तल्लो स्तरलाई कसरी शोषण गरिरहेको छ, उनीहरू कसरी दमन र अन्यायमा परिरहेका छन् भन्ने देखाउन खोजेका छौँ। यो फिल्म त्यस प्रवृत्तिमाथिको प्रश्न पनि हो,’ उनले भने।
फिल्मको टिजर र ट्रेलर हेर्दा धेरैले यो फिल्म पूर्वगृहमन्त्री रवि लामिछानेसँग सम्बन्धित देखिएको भन्दै प्रतिक्रिया दिइरहेका छन्। किनकि सहकारी ठगी प्रकरणमा परेका लामिछाने यतिखेर जेलमा छन्। तर, राउतले भने फिल्मको कथा कुनै पनि व्यक्तिसँग सम्बन्धित नरहेको दाबी गरे।
राउतले भने, ‘त्यो त अनुमानको कुरा भयो। तर, यो कुनै व्यक्तिको कथा नै होइन। यो समग्र सहकारीबारे काल्पनिक घटना र पात्रलाई जोडेर बनाएको हो। जसकारण कुनै व्यक्तिसँग सम्बन्धित छैन। समसामयिक विषयवस्तु भएकाले मान्छेहरूले अनुमान गर्ने कुरा मात्रै हो। मुख्य कुरा चाहिँ यसरी ठगी हुँदोरहेछ, यस्तो चिज भइराख्यो भने भोलि अवस्था कहाँसम्म पुग्छ भने/ चित्रण गरेका छौँ।’
सहकारी पीडित मात्रै नभई सहकारी सञ्चालकको पक्ष पनि फिल्ममा समेटेको उनको भनाइ छ।
‘हाम्रोमा सहकारीमा सबै खराब छन्। सबैले बदमासी गरे, सबैले फट्याइँ गरे भन्ने कुरा छ। तर, हामीले त्यो मात्रै भनिदिनु हुँदैन। सहकारीको माध्यमबाट धेरै राम्रो गरेका पनि छन्। उहाँहरूको साइडको कुरा पनि त आउनुपर्छ,’ उनले भने, ‘कतै सहकारी सञ्चालक पनि त पीडित भइरहेका हुन्छन्। एकतर्फी मात्रै कुरा ल्यायौँ भने अन्याय हुन्छ। यसमा दुवै पक्षको कुरा छ। हामीले त नकारात्मक र सकारात्मक पक्षहरूको कुरा आउनुपर्छ।’
दिनेशले निर्देशन गरेका पछिल्ला फिल्ममा सामाजिक कथासँगै राजनीतिक परिवेश पनि जोडिन्छन्।
‘समाज त्यतिखेर राम्रो हुन्छ। जब राजनीति ठिक हुन्छ। हामी कलामा लागेको मान्छे। हामीले कसैको पार्टीको पक्ष र विपक्षले चलचित्र बनाइरहेको हुँदैनौँ। चलचित्र बनाइसकेपछि त्यो व्यक्तिगत विचार हुन्छ जस्तो लाग्छ। कसले कसरी लिनुहुन्छ र कसरी बुझ्नुहुन्छ, तर हामी आफ्नो साइडबाट जहिल्यै पनि ग्रेमा बसेर नै आफ्नो कथा भन्ने हो। कसैलाई च्याप्ने वा पाखा लगाउने त हामी फिल्ममेकरको धर्म नै होइन,’ राउत भन्छन्।

साथै फिल्म हेरिसकेपछि पीडितले कहीँ न कहीँ आफू पनि सचेत हुनुपर्ने थाहा पाउने उनको भनाइ छ। फिल्म मनोरञ्जन मात्रै नभई समाज देखाउने माध्यम पनि हो। जसकारण आफ्नो फिल्मको पहिलो प्राथमिकतामा सामाजिक कथावस्तु पर्ने सुनाउँछन् उनी।
‘मलाई फिक्सनलभन्दा पनि वास्तविक, आफूले समाजमा देखेको र भोगेको कुरा भन्न मन लाग्छ। जुन दर्शकलाई पनि आफ्नै जस्तो लाग्छ, कनेक्सन फिल हुन्छ होला। जसकारण सामाजिक विषयवस्तु ल्याइरहेको हुन्छु। काल्पनिक कथामा फिल्म बनाउँदा छुट्टै संसार बनाउनुपर्ने हुन्छ। त्यो झन गाह्रो चिज हो। पैसा आर्जनलाई मात्रै प्राथमिकता दिएर भएन, समाजको कुरा र समस्याको कुरा बोलिदिनुपर्छ। जुन जिम्मेवारी पनि हो,’ उनले भने।
राउतले फिल्मको शीर्षक समेत स्पष्ट पार्न खोजे। उनले सहकारी ठगीको मुद्धा उठान गरे पनि फिल्मको नाम विम्बको रूपमा प्रयोग गरिएको सुनाए।
उनले भने, ‘फिल्मको टाइटल त हामीले विम्बको रूपमा भनिरहेको कुरा हो। समाजको उच्च वर्गका मान्छेहरूले तल्लो वर्गका मान्छेहरूलाई कसरी प्रयोग गरेर शोषण गर्छ। उनीहरूलाई प्रयोग गरेर माथिल्लो तहमा पुगेर कसरी मोज गरिरहेका छन्। महाभोज गरिरहेका छन् भन्ने चिज हो।’
सहकारीबाट ७०/८० लाख प्रत्यक्ष र अप्रत्यक्ष रूपमा पीडित रहेको उनको अध्ययनको निष्कर्ष छ।
‘यो सम्पूर्णले हेर्नपर्ने चलचित्र हो जस्तो लाग्छ। रियल पीडितले त झनै हेर्नुपर्ने जस्तो लाग्छ। सहकारी पीडितदेखि सहकारी सञ्चालक र बचत राख्नेदेखि लिएर कारोबारीसम्मले हेर्नुपर्ने जस्तो लाग्छ। हामीले समस्या भन्न सक्छौँ। प्रतिक्रिया दिनुभयो भने समाजसँग जोडिएको कथा फेरि पनि भन्न सकिएला,’ उनले भने।
केहीअघि यस टिमले सत्य कहिल्यै लुक्दैन भन्ने ट्यागलाइन चलाएको थियो। आखिर सहकारीको समस्या कहाँबाट सिर्जना भयो? को दोषी को निर्दोष? त्यो कहीँ न कहीँ फिल्मले भन्ने भएकाले सत्य कहिल्यै लुक्दैन भनेर ट्यागलाइन चलाएको उनको तर्क छ। लुकेको सत्य थाहा पाउन फिल्म नै हेर्नुपर्ने बताउँछन् उनी।
राउतको नजरमा अहिलेको फिल्म बजार निकै राम्रो छ। हलहरूको वृद्धिसँगै मेकिङ र प्राविधिक कुरामा पनि राम्रो भइरहेको उनी सुनाउँछन्। फरकफरक विधाका फिल्महरू बनिरहेको बताउँदै हलमा विदेशीभन्दा स्वदेशी फिल्म चलिरहेको उनले सुनाए।
‘हलमा विदेशीभन्दा नेपाली फिल्मलाई नै हेरिरहेका छन्। भनेपछि कहीँ न कहीँ नेपाली फिल्मको संरचना राम्रो हुन थालेको होकि जस्तो लाग्छ। तर, हामीले सुधार्नु र गर्नुपर्ने चिज चाहिँ कथामै हो। स्क्रिप्ट लेखनमा अझै समस्या छ। त्यो पनि बिस्तारै हुन्छजस्तो लाग्छ,’ उनी भन्छन्।
यस फिल्मबाट दिनेश निकै आशावादी छन्। आफूले भन्न खोजेको चिजलाई दर्शकले कसरी लिन्छन् भन्नेबारे उनमा छुट्टै उत्साह छ। महाभोज जेठ ३० गतेबाट रिलिज हुँदैछ।
Shares

प्रतिक्रिया