असोज ३ गते संविधान दिवसको अवसर पारेर रिलिज हुने फिल्म ‘सोल्टिनी’ पहिलो गीत ‘सत्य जुगैको’ सार्वजनिक भएको छ। सार्वजनिक गीत ‘सत्य जुगैको’ पूर्वेली मारुनी भाकामा आधारित छ।
सार्वजनिक गीतमा प्रशान्त सिवाकोटी र अस्मिता अधिकारीको स्वर रहेको छ। गायिका अस्मिता अधिकारीको पहिलो मारुनी गीत हो। गीतको सङ्गीत तथा शब्द प्रशान्त सिवाकोटीले नै सिर्जना गरेका हुन्।
यस गीतको भिडिओमा प्रकाश सपुत र परीक्षा लिम्बुसँगै कलाकारहरू सुन्दर धिताल र सब्बु गुरुङले नृत्य प्रस्तुत गरेका छन्। गीतको कोरियोग्राफी मौसम हिमालीले गरेका हुन्। भोजपुरमा छायाङ्कन गरिएको छ। करिब ७/८ वर्षपछि नेपाली चलचित्रमा मारुनी गीत समावेश भएको छ, जसले दर्शकमाझ विशेष चासो जगाउने अपेक्षा लिएको चलचित्रका निर्देशक अर्जुन सुवेदीले बताए।
निर्देशक सुवेदीका अनुसार यस चलचित्रले दर्शकलाई फरक स्वादको कथासँग जोड्नेछ। चलचित्रले समाजमा व्याप्त अमानवीयता र जातीय भेदभावका विरुद्ध आवाज उठाउनेछ भने दुई प्रमुख पात्रबीचको प्रेम कथा यसको मुख्य आकर्षण रहेको छ। प्रकाश सपुत र परीक्षा लिम्बुको जोडी पहिलो पटक यस चलचित्रमार्फत एकसाथ पर्दामा देखिँदैछ।
यस फिल्ममा प्रकाश र परीक्षाको साथमा विल्सन विक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडालगायतको अभिनय छ। फिल्मको कथा अर्जुन सुवेदी र कुमार भट्टराईले लेखेका छन्। प्लानेट थ्री फिल्म्स र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बनेको यो चलचित्रका निर्माताहरू रेजिना बिस्ट र संसार चौलागाईँ हुन्।

प्रतिक्रिया