सुप्रिन्स शाक्य पाटन बहुमुखी क्याम्पसमा स्नातक तहमा पढ्छन्। उनलाई सम्पदाको धनी सहर काठमाडौं उपत्यकाका धरोहरले तान्छ। यहाँ लाग्ने जात्रा, मेलाले आकर्षित गर्छ।
आफ्ना क्यामेरामा ती कुरालाई कैद गर्न खुसी मान्ने उनी यसको महत्ताबारे पनि जिज्ञासु छन्।
रातो मच्छिन्द्रनाथको जात्राजस्ता सांस्कृतिक अनुभवहरू आखिर के हुन्, यी किन महत्वपूर्ण छन् र यसले कसरी अरूलाई छुन्छ भन्ने कुरालाई गहिरो रूपमा प्रस्तुत गर्दछन्।
उनको कामले संस्कृति एउटा निश्चित ठाउँमा मात्र सीमित रहनुपर्दैन, यो त फैलिन सक्छ र यसले धेरैलाई प्रेरित गर्न र मानिसहरूलाई एक आपसमा जोड्न सक्छ भन्ने देखाउँछ।
सुप्रिन्स आफूलाई परम्परागत कन्टेन्ट क्रिएटर भन्न चाहँदैनन्, बरु परम्पराको अभिलेख राख्ने, संरक्षण गर्ने र प्रचारप्रसार गर्ने एक ‘संस्कृति प्रवर्द्धक’ भन्न रुचाउँछन्। कन्टेन्ट क्रिएटरको रूपमा उनको यात्रा भने योजनाबद्ध थिएन।

बाल्यकालदेखि नै नेवा: परम्परागत अभ्यासहरूमा संलग्न उनी कार्तिक नाच, गण प्याखं, अष्टमातृका नाचजस्ता नृत्यहरूमा देवता बनेर प्रस्तुत हुन्थे। उनका लागि यी नाच केवल धार्मिक विधि मात्र थिएनन्, यी त उनलाई समुदायसँग बाँधेर राख्ने जीवनका अंग थिए। यसले उनलाई आफ्नो परिचय के हो र वरपरको समुदायसँग कसरी जोडिएको रहेछु भन्ने बुझ्न पनि मद्दत गर्यो।
तर समयसँगै उनले एउटा खालीपन महसुस गरे।
‘हाम्रा जात्राहरूका भिडियोहरू धेरै थिएनन्, भएका पनि धेरैजसोले ती क्षणहरूको महत्व बुझेकै थिएनन्’, उनी भन्छन्।
यही अनुभूतिको आधारमा उनको सांस्कृतिक अभिलेखनको यात्रा सुरु भयो। उनले मनोरञ्जनात्मक मात्र नभई परम्परा बुझाउने र दस्तावेज राख्न काम लाग्ने शैक्षिक र प्रेरणादायक सामग्रीहरू पनि बनाउन थाले।

रातो मच्छिन्द्रनाथ जात्राको बारेमा बनाइएको उनको पहिलो भिडियो अप्रत्याशित रूपमा भाइरल भयो। त्यसपछि उनले कुमारीको झलकहरूदेखि उपत्यकामा मनाइने ठूला पर्वहरूको ‘बिहाइन्ड द सीन’सम्मका कन्टेन्टहरू नियमित रूपमा पोस्ट गर्न थाले।
उनका पोस्टहरू केवल टिकटकका लागि मात्र होइन, सम्पूर्ण सामाजिक सञ्जालमै रोचक र प्रभावशाली बने किनभने उनले परम्पराको त्यो पाटो पनि देखाए जुन सामान्य फोटोग्राफरहरूले नजरअन्दाज गर्ने गर्थे। उनले संवेदना र तथ्यगत विवरणहरूलाई एकसाथ समेटे।
‘म आफ्नो सांस्कृतिक विषयवस्तुका अलावा अरू केही पोस्ट गर्दिनँ’, उनी भन्छन्, ‘म साँच्चिकै व्यवसायिक कन्टेन्टभन्दा पनि संस्कृतिको प्रवर्द्धनमा रमाउँछु। म पैसाका लागि हैन, मेरो जीवनमा संस्कृतिले खेलेको भूमिका संसारलाई देखाउन चाहन्छु।’
आज उनको टिकटक यात्रा सफलताले भरिएको देखिए पनि यो यात्रा सधैं सहज भने थिएन। सुरुमा १०,००० फलोअर्स भएको अकाउन्ट उनले कैद गरेका अमूल्य फुटेजहरू सहित प्रतिबन्धित भयो।

उनलाई फलोअर्स गुमाएको कुराले भन्दा पनि ती अमूल्य सम्झनाहरू हराएको कुराले धेरै दुःखी बनायो। केही समयसम्म त उनले पोस्ट गर्नै छोडे। तर, जब फेरि यस प्लेटफर्ममा फर्किएर उनले सामान्य सोचेको एउटा भिडियो पोस्ट गरे, त्यो फेरि भाइरल हुन पुग्यो। अहिले उनको टिकटकमा ९०,००० फलोअर छन्।
संस्कृति प्रवर्द्धकको रूपमा सुप्रिन्स शाक्यको पहिचान बन्नुमा टिकटकको महत्त्वपूर्ण भूमिका छ। यसले उनलाई धेरै ठूलो र फरकफरक खालका दर्शकहरूसम्म सांस्कृतिक कथा र परम्पराहरू पुर्याउन मद्दत गरेको छ, जुन कुरा धेरैले, विशेषगरी युवा पुस्ताले, कहिल्यै देखेका थिएनन्।
उनका टिकटक भिडियोहरू भाइरल भएका छन् र लाखौं दर्शकमा पुगेका छन्। तर सबैभन्दा महत्त्वपूर्ण कुरा, तिनीहरूले नेवारी रीतिरिवाज, देवीदेवता र चाडपर्वहरूप्रति मानिसहरूमा वास्तविक चासो र सम्मान जगाएका छन्।
सुप्रिन्सका लागि टिकटक मनोरञ्जनको एउटा प्लेटफर्म मात्र नभई ज्ञानको लागि एउटा डिजिटल मञ्चमा परिणत भयो, जसले उनलाई संसारभरका मानिसहरूका लागि हाम्रा पुराना कुराहरूलाई अझ देखिने, पहुँचयोग्य र रमाइलो बनाउन मद्दत गर्यो।
आगामी दिनमा पनि उनी सम्पदा प्रवर्द्धन गर्न र यसलाई जोगाउन नगरपालिका र सांस्कृतिक संस्थाहरूसँग मिलेर काम गर्न चाहन्छन्।
‘यस्ता सहकार्यले हाम्रा परम्पराहरूलाई जोगाउन मात्र होइन, हामीजस्ता सिर्जनशील युवा क्रिएटरहरूका लागि दिगो अवसरहरू पनि सिर्जना गर्न सक्छन्’, उनी बताउँछन्।
सुप्रिन्स शाक्यको कथाले हामीलाई संस्कृति केवल सम्झिनुपर्ने कुरा मात्र होइन, यो त बाँच्नु, बाँड्नु र आगामी पुस्तालाई हस्तान्तरण गर्नु पर्ने चिज हो भनेर सिकाउँछ। र उनकै कारण आज धेरै मानिसहरूले फेरि आफ्ना संस्कृतिको जरा खोज्न थालेका छन्।
Shares

प्रतिक्रिया