आमिर खान स्टारर बलिउड फिल्म ‘सितारे जमीन पर’ नेपालमा शुक्रबारदेखि रिलिज भएको छ। एप्पल इन्टरटेनमेन्टकी कार्यकारी निर्देशक विपश्यना श्रेष्ठले यो फिल्म शुक्रबारदेखि नेपालमा रिलिज हुन लागेको श्रेष्ठले जानकारी दिइन्।
यस फिल्मलाई एप्पल इन्टरटेनमेन्टले नेपाल ल्याएको हो। श्रेष्ठका अनुसार आज साँझसम्म फिल्मको सेन्सरको काम हुनेछ। ‘आज सेन्सरको काम हुँदैछ। भोलि एक/दुइ शो खुले पनि शुक्रबारदेखि यो नियमित हलमा लाग्नेछ,’उनले भनिन्।
यसअघि फिल्मको राइट महंगो भएको भन्दै वितरकले नेपाल ल्याएका थिएनन्। आमिरको बहुप्रतिक्षित फिल्म नेपाल नआउँदा दर्शकले निराशा व्यक्त गरिरहेका थिए भने वितरक र हललाई ल्याउन दबाब दिइरहेका थिए।
यस फिल्मले भारतमा राम्रो व्यापार गरिरहेको छ। शुक्रबारबाट रिलिज भएको यस फिल्मले विश्वभर एक सय करोडको आकंडा पार गरिसकेको छ।
यो फिल्म २०१८ को स्पेनिस फिल्म च्याम्पियन्सको आधिकारिक रिमेक हो। फिल्ममा आमिर खान र जेनेलिया डिसुजा मुख्य भूमिकामा छन्। आमिर खानको होम प्रोडक्सनको यो फिल्म आरएस प्रसन्नले निर्देशन गरेका हुन्।
Shares

प्रतिक्रिया