कला


यसपालिको गाईजात्रा दुईतिर : प्रज्ञामा गजुरेलको टोली र नाचघरमा सांस्कृतिक संस्थानको प्रस्तुति

सरकारी संस्थान भन्छ- हाम्रोमा अतिरञ्जित प्रस्तुति हुँदैन
यसपालिको गाईजात्रा दुईतिर : प्रज्ञामा गजुरेलको टोली र नाचघरमा सांस्कृतिक संस्थानको प्रस्तुति

मनोज गजुरेल र सांस्कृतिक संस्थानको गाईजात्रा टोलीका अगुवा राजा राजेन्द्र पोखरेल


लक्ष्मी बलायर
साउन २, २०८२ शुक्रबार १५:२८, काठमाडौँ

यसपटक उपत्यका गाईजात्रामय हुने भएको छ। किनकि यसपटक दुईवटा समूहले प्रहसनको तयारी गरिरहेका छन्।  साउन २५ गते परेको गाईजात्रा नजिकिएसँगै कलाकारहरूले तयारी अघि बढाएका हुन्।

अन्य वर्षझैँ कलाकार मनोज गजुरेल र शैलेन्द्र सिम्खडा ‘०८२ सालको गाईजात्रा’ ल्याएर आउँदैछन्। उनीहरूले साउन २३ गतेदेखि २७ गतेसम्म प्रज्ञा भवन कमलादीमा प्रस्तुति दिने छन्। सो समूहमा शैलेन्द्र सिम्खडादेखि सुबोध गौतम, सुमन कार्की, चक्र दवाडी, सीता न्यौपाने, प्रभात लामा, मेक्सम गौडेल, प्रकृति गिरी, श्रेया सुवेदी, आशिष खनाल, सन्देश सुवेदी, युमी गौतम लगायत छन्।

त्यस्तै, गायक पशुपति शर्मा र कवि नवराज पराजुली पनि पहिलोपल्ट यस टिमसँग जोडिएका छन्। जसले ०८२ सालको गाईजात्रा अझै भव्य र धमाकेदार हुने बताउँछन् मनोज गजुरेल।

‘पशुपति हास्यव्यङ्ग्य गीतको राजा नै हो। हामीसँगै यो पटक उहाँ पनि हुनुहुन्छ। व्यङ्ग्यको पर्व भएकाले सहजै हिसाबले मान्नुभयो। नवराज पराजुलीका कविता पनि व्यङ्ग्यपूर्ण हुन्छन्। यसपटक गायकसँगै कवि पनि जोडिनुभएको छ। यो गाईजात्रा अझै भव्य हुनेछ,’ उनले नेपालखबरसँग भने।

गजुरेलका अनुसार यतिखेर आयोजक टिम तयारीमा जुटेको छ। कलाकारहरूले घरबाटै व्यक्तिगत अभ्यास गरिरहेका छन्। अर्को सातादेखि प्रज्ञाको हलमा रिहर्सल गर्नेछन्।

उनी भन्छन्, ‘हामी तयारीका क्रममा छौँ। ठ्याक्कै पात्र चयन भइसकेको छैन। अलि फरक र विशेष गर्ने प्रयास सधैँ रहन्छ। यसपटक पनि त्यसकै वार्मअपमा छौँ। राजनीतिमा पनि के चलाउने भन्ने सूत्र खोजिरहेका छौँ। प्रशासनिक तन्त्र मुख्य विषय हुनेछ। अहिले छलफल गर्देछौँ।’

मञ्चमा १०/११ वर्षकी युमी गौतमको पनि प्रस्तुति रहनेछ। युमी कलाकार सुबोध गौतमकी छोरी हुन्। बालबालिकादेखि युवा र ४२ वर्षदेखि हास्यव्यङ्ग्य गर्दै आएका सिम्खडाको प्रस्तुतिले तीनपुस्तालाई प्रतिनिधित्व गर्ने गजुरेलको भनाइ छ।

मनोज गजुरेलको गाईजात्रा टोली

हरेक वर्ष मनोजको प्रस्तुति विशेष रहन्छ। कहिले उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रप्पको अवतारमा देखिन्छन् त कहिले बेलायती प्रधानमन्त्री बोरिस जोन्सन। रुसका राष्ट्रपति भ्दालमिर पुटिनदेखि नेपाली नेताहरूको क्यारेक्टरमार्फत तिखो व्यङ्ग्य गर्छन्। समसामयिक विषयवस्तुमा सर्वसाधारणका मुद्दा पनि मनोजले छुटाउँदैनन्।

गतवर्षको गाईजात्रामा मनोजले एक सामान्य पात्र बनेर मिटर ब्याजदेखि सहकारी पीडितसम्मका पीडा पोखेका थिए। यसवर्ष कस्तो पात्रमा देखिने भनेर पक्का नभए पनि आफू मञ्चमा दुइटा अवतारमा देखिने उनको भनाइ छ।

यसवर्ष सांस्कृतिक संस्थानले पनि ‘गाईजात्रा महोत्सव २०८२’ आयोजना गर्दैछ। नेवार समुदाय विशेष सांस्कृतिक पर्व गाईजात्रा (सापारू) लाई प्राचीन सांस्कृतिक परम्परा, मूल्य–मान्यता अनुरूप उत्सवका रूपमा मनाउन साउन २४ देखि ३१ गतेसम्म महोत्सव गर्न लागिएको संस्थानका प्रवक्ता किरणबाबु पुनले जानकारी दिए।

पुनका अनुसार गाईजात्रा महोत्सवमा लक्ष्मण गाम्नाङ्गे, शिवशंकर रिजाल ‘जोगिन्दर’, सुरेन्द्र केसी ‘मुला साग’, राजा राजेन्द्र पोखरेल, हिमेश पन्त, भरतमणि पौडेल, खड्गबहादुर पुन, सुमन कोइराला (दले दाइ), दिनेश काफ्ले (हाउडे दाइ), सन्तोष थापा, कैलाश कार्की, सुजिता श्रेष्ठ, विकास अर्याल, सरोज भण्डारी र सुयशा खनाल लगायतले प्रस्तुति दिने छन्। साथै सांस्कृतिक संस्थानका गायन, वादन, नृत्य र नाटक सम्बद्ध कलाकारहरूको समेत प्रस्तुति रहनेछ।

पुनका अनुसार पछिल्लो समय गाईजात्राका प्रस्तुतिहरू व्यङ्ग्यात्मकभन्दा पनि अतिरञ्जित खालका छन्। जसकारण आफूहरूले मौलिक र संस्कृतिपूर्ण कन्टेन्टलाई जोड दिएको उनको दाबी छ।

गाईजात्रा कार्यक्रमबारे जानकारी दिन आयोजित सांस्कृतिक संस्थानको पत्रकार सम्मेलन

‘प्रस्तुतिमा सामाजिक पक्षभन्दा राजनीतिक पक्षलाई विशेष व्यङ्ग्य गर्ने परिपाटी छ। गाईजात्राको अवसरमा व्यङ्ग्य गर्ने छुट रहेको पाइन्छ। तर, अतिरञ्जित किसिमले प्रहसन गरी सांस्कृतिक पर्व गाईजात्रामा अतिरञ्जित व्यङ्ग्य गर्ने हो भन्ने न्यारेटिभ छ,’ पुनले भने, ‘जुन मौलिक संस्कृतियुक्त गाईजात्रा पर्वको अस्तित्व सङ्कटमा पर्नु हो। यसर्थ हामीले राजनीतिक मात्रै नभई सांस्कृतिक, मौलिक र सामाजिक रुपान्तरणका कन्टेन्टहरू समेटेका छौँ, जसले समाजलाई नयाँ शिराबाट अगाडि बढाउन सहयोग गर्नेछ।’

संस्थानले गत वर्षदेखि आफ्नो वार्षिक नीति तथा कार्यक्रममा समेटेर गाईजात्रा महोत्सव आयोजना गर्न थालेको हो। युवापुस्तामाझ गाईजात्रा पर्वको मौलिक र सही महत्त्व बुझाउने उद्देश्यका साथ सरकारी निकायबाट यस महोत्सवको थालनी गरेको उनी बताउँछन्।

गाईजात्रा दुई ठाउँमा हुँदा दर्शकहरू बाँडिने निश्चित छ। तर, कलाकार मनोज गजुरेल सरकारी तहबाट सञ्चालित सांस्कृतिक संस्थानले गाईजात्रा गर्नु निकै राम्रो कार्य रहेको बताउँछन्।

‘सांस्कृतिक संस्थानले गर्नु राम्रो हो। हास्यव्यङ्ग्य कलाको क्षेत्रमा प्लाटफर्म फैलिनु र सर्जक कलाकार धेरै हुनु राम्रो कुरा हो। हामीले पनि सरकारी तहबाट पहल नहुँदाखेरि मात्रै व्यक्तिगत रुपमा गरेका थियौँ। एकदमै खुसी लागिरहेको छ,’ गजुरेलले भने, ‘हाम्रो नियमित दर्शक/स्रोताहरू हुनुहुन्छ। दर्शकहरू झुक्किनुहुन्न। उता पनि हेर्नुहुन्छ, यता पनि हेर्नुहुन्छ। सबैतिर उत्कृष्ट कलाकार हुनुहुन्छ। त्यसले दर्शकले रूचिअनुसार हेर्न सक्छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad