कला


एनआरएन सेयर साझेदारले हैरानी दिएको भन्दै निर्देशक विशाल भण्डारीले गुहारे प्रधानमन्त्री

एनआरएन सेयर साझेदारले हैरानी दिएको भन्दै निर्देशक विशाल भण्डारीले गुहारे प्रधानमन्त्री

नेपालखबर
साउन ४, २०८२ आइतबार १३:३५, काठमाडौँ

कमेडी रियालिटी शोका निर्देशक तथा निर्माता विशाल भण्डारीले आफूलाई गैरआवासीय (एनआरएन) दाबी गर्नेले दुःख दिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई गुहारेका छन्।

‘कमेडी च्याम्पियन’ र ‘कमेडी नाइट विथ च्याम्पियन्स’ शो गर्दैं आएका भण्डारीले एक साझेदारबाट दु:ख पाएको भन्दै प्रधानमन्त्री ओलीलाई गुहारेका हुन्।

आइतबार फेसबुकमा ओलीलाई मेन्सन गर्दैं एक लामो पोस्ट लेखेका उनले ती साझेदारले सम्झौताविपरित आफूलाई पैसा माग्दै यातना दिएको उल्लेख गरेका छन्।

भण्डारीका अनुसार १९ महिनाअघि ती गैरआवासीय नेपाली ३.५ करोड रुपैयाँ लगानी गरेर ३० प्रतिशत सेयर किन्ने सर्तमा निर्माता कम्पनी थ्री प्रोडक्सन प्रालिमा प्रवेश गरेका थिए। ‘कमेडी च्याम्पियन’ सिजन ३ चलाउन आवश्यक डेढकरोड तत्काल दिने र मुनाफाको हिसाब आएपछि थप गरेर ३.५ करोड पुर्‍याउन भद्र सहमति आफूहरूबीच भएको जनाउँदै विशालले आफूसँग २ करोड १५ लाखको सेक्युरिटी चेक लिएको उल्लेख गरेका छन्।

ती व्यक्तिले आफ्नो माथिल्लो तहमा पहुँच रहेको भन्दै दुःख दिनेगरेको समेत उल्लेख गरेका छन्। ‘राज्य प्रशासनमा भएको ढोंगी पहुचको दुरुपयोग गर्दै आफै संचालक रहेको कंपनीको चेक लगेर बैकिंङ कसुरमा मेरा बिरूद्ध मुद्दा दायर गरेर मलाई दिनु दु:ख दिए। र, दवावमा राखेर २ करोड ४० लाख असुले।’

बढी गएको पैसा फिर्ता नगर्ने र जसरि पनि उनको चिनजान सम्बन्ध र शक्तिको दुरुपयोग गर्दै पैसा असुल्न लागेको थाहा पाएपछि कम्पनीको बाँकी सेयर धनीले जिल्ला अदालत काठमाडौँ र उच्च अदालत पाटनमा मुद्दा हालेको उनले बताएका छन्।

अझैपनि मिलापत्र गर्न नआउने र पैसा लगेको भन्दै उनको हर्कतले आफू हैरान भएको विशालको भनाइ छ।

‘मिलापत्र पनि नगर्ने, कम्पनी नछोड्ने र कानुनको कमजोरीको फाइदा उठाउँदै मुद्दाको पेसी पटक–पटक सार्न लगाई दुःख दिएर हैरान बनाउने, काम गर्न नदिने, कार्यक्रम रोक्न मुद्दा हालेको छ। कहिले कम्पनीको खाता रोक्न मुद्दा हाल्ने, धम्काउने लगायतको काम गर्ने गरेर कम्पनीको कार्यसम्पादनमा निरन्तर रुकावट व्यवधान गर्ने, उसको यस निकृष्ट एवं घृणित व्यवहारकोविरुद्ध भण्डाफोरको उदघोष नगरी थप सहेर बस्न नसकेको कारणले यो स्टाटसमार्फत न्यायप्रेमी जनतामाझ उसको देखावटी सुकिलो अनुहारभित्र लुकेको सैतानी चेहरा उजागर गर्न बाध्य भएको छु’ भण्डारीले लेखेका छन्।

आफूले यसबारे प्रधानमन्त्रीकाे सचिवालय र हेलो सरकारमा जानकारी गराएपनि कुनै प्रतिक्रिया नआएको भण्डारीको भनाइ छ।  यसमा १०० जनाको भविष्य, रोजगारी र दैनिकी पनि जोडिएको बताउँदै उनले सरकारलाई प्रश्न गरेका छन्, ‘अब अति नै भयो। सरकार र कानुन छ भने म र मेरो टिमलाई न्याय र काम गर्ने वातावरण चाहियो। हामी यही देशमा बसेर दर्शक हँसाइराख्न चाहन्छौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad