असोज १३ देखि प्रदर्शन हुने फिल्म ‘माइतीघर’को प्रचारप्रसार सुरु भइसकेको छ।
यसैबीच फिल्मको शीर्ष गीत ११ दिन लगाएर छायांकन गरिएको छ।
गीतको भिडिओ खिच्न ५० लाख खर्च भएको निर्माता रोहित अधिकारीको दाबी छ।
गीतको भिडिओमा फिल्मका मुख्य कलाकारहरू उपासनासिंह ठकुरी र श्यामाश्री शेर्पाले नृत्य गरेका छन्।
कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडिओमा ११ जनै कोरसको जम्बो टोलीलाई नचाइएको छ।
यसकारण पनि लागत बढेको निर्माण पक्षले जनाएको छ।
एउटा ऐतिहासिक गीत भएका कारण पनि भिडिओ मेकिङमा कुनै सम्झौता नगरिएको निर्माताको भनाइ छ।
गीतको भिडिओ आउँदो साता सार्वजनिक गर्ने तयारी छ।
निर्माण पक्षले यो गीतमा ४० सेकेन्डदेखि २ मिनेटसम्मको भिडिओ बनाउनेमध्ये एकजना उत्कृष्टलाई ५ लाख पुरस्कार दिने घोषणा पनि गरेको छ। गीतमा भारतीय गायिका सञ्जिवनीको स्वर छ।
रोहित अधिकारी फिल्मस् ब्यानरमा बनेको फिल्म मिलन तामाङको निर्देशनमा बनेको हो।
फिल्ममा केदारप्रसाद घिमिरे, प्रकाश सपुत, धिरज मगर, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, बुद्धि तामाङ, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम, संगीता थापालगायत कलाकारको अभिनय छ।
चन्द्रकुमार दोङको कथा, रामशरण पाठकको पटकथा तथा संवाद रहेको फिल्ममा सुशन प्रजापतिको डीओपी, सुरेन्द्र पौडेलको सम्पादन छ। रविन शेरचन र धिरज तामाङको लगानी रहेको फिल्मका कार्यकारी निर्माता ईश्वर श्रेष्ठ र निरज कटुवाल हुन्।
Shares

प्रतिक्रिया