कला


दिनेश राउतले घोषणा गरे ‘कुमारी’

दिनेश राउतले घोषणा गरे ‘कुमारी’

नेपालखबर
भदौ १४, २०८२ शनिबार १२:३४, काठमाडौँ

निर्देशक दिनेश राउतले नयाँ चलचित्र ‘कुमारी’ को घोषणा गरेका छन्। काठमाडौंको टुँडिखेलमा भव्य कार्यक्रम आयोजना गरी चलचित्रको पहिलो पोस्टर सार्वजनिक गरिएको हो। 

कार्यक्रममा मुख्य कलाकारका रूपमा अभिषेक खड्का र आकृति राजभन्डारीलाई प्रस्तुत गरियो। कार्यक्रममा गायक केहर सिंह लिम्बु र उनको ब्यान्ड ‘केहर एन्ड द लुङ्गा’को प्रस्तुतिले थप रौनक थपेको थियो। लिम्बुले यसै चलचित्रबाट पार्श्व गायनमा डेब्यु गर्ने घोषणा गर्दै यसै चलचित्रको गीत ‘कहाँ छौ’ प्रस्तुत गरे।

‘आई एम सरी’बाट निर्देशन सुरु गरेका राउत, ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ जस्ता सफल प्रेमकथामा आधारित चलचित्रका लागि चिनिन्छन्। यद्यपि उनले हालसालै ‘पर्व’, ‘महाभोज’, ‘प्रसाद’, ‘प्रकाश’ र ‘पुजार सार्की’जस्ता सामाजिक विषयवस्तुमा आधारित चलचित्र पनि निर्देशन गरेका छन्। दर्शकको चाहनाअनुसार आफू फेरि प्रेमकथामा फर्किएको उनले बताए।

निर्देशक राउतले 'कुमारी'को निर्माण 'पुजार सार्की' चलचित्रभन्दा अगाडि नै थालेका थिए, तर विविध कारणले अहिले छायाङ्कनमा जान लागेको हो।

‘कुमारी’ को निर्माण बिनिस इन्टरटेन्मेन्टले गरिरहेको छ भने पिक्चर फ्रेमको सहकार्य रहनेछ। यसका निर्माता महेन्द्र अधिकारी हुन् भने कथा विकास सुवेदीले लेखेका छन्। चलचित्रमा अभिषेक र आकृतिबाहेक घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनीषा शर्मा, भूपी लुहार लगायतका कलाकारको पनि अभिनय रहनेछ। 

चलचित्रको सङ्गीत केहर सिंह लिम्बु, सुमन तामाङ र प्रशान्त सिवाकोटीले गर्नेछन्। केहरले सबै गीतमा स्वर दिनेछन्। गीतका शब्द सागर लामिछाने मगर, सुमन तामाङ र युवराज काफ्लेले लेखेका छन्। सार्वजनिक पोस्टर डिजाइन रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट)ले र पोस्टर फोटोग्राफी राजभाइ सुवालले गरेका हुन्।

चलचित्रको छायाङ्कन यसै हप्तादेखि काठमाडौंमा सुरु हुँदैछ र यसै वर्ष प्रदर्शन गर्ने योजना रहेको निर्माण टिमले बताएको छ।

सुसन प्रजापतिको छायाङ्कन निर्देशन रहने यस चलचित्रमा कार्यकारी निर्मातामा केदार भुसाल, प्रोडक्सन डिजाइनरमा आशिका शर्मा, मुख्य सहायक निर्देशकमा दिनेश बहादुर रावत रहेका छन्। चलचित्रको अन-स्क्रिन कविता रिया अधिकारीले रचना गरेकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad