कला


बक्सअफिसमा चम्किँदै नयाँ फिल्म निर्देशक, पुराना चिप्लिँदै

विश्लेषक भन्छन् : नयाँ जोखिमसहित आए, पुराना थोत्रो फर्मुलामा रमाए
बक्सअफिसमा चम्किँदै नयाँ फिल्म निर्देशक, पुराना चिप्लिँदै

लक्ष्मी बलायर
भदौ १७, २०८२ मंगलबार ८:५, काठमाडौँ

चैतको अन्तिम साता चलचित्र विकास बोर्डले ०८१ सालमा सर्वाधिक कमाइ गर्ने फिल्मको सूची निकाल्यो। जसमा नेपाली फिल्मतर्फ धेरै कमाउनेको शीर्ष १० मा ‘पूर्ण बहादुरको सारंगी’देखि ‘लाज शरणम्’सम्म अटायो। यी दुई फिल्मसहित १२ गाउँ, छक्का पञ्जा ५, बोक्सीको घर, अञ्जिला, पूजार सार्की, घरज्वाईं, फर्की फर्की र मनसरा परे।

रोचक के छ भने धेरै कमाउने यो सूचीमा नयाँ मेकरका फिल्महरूको बर्चस्व देखिन्छ। जसले आफ्नो नयाँ कामबाटै दर्शकहरूको मन जित्न सफल भएका छन्।  कुनैले दोस्रो फिल्मबाट सफलता पाए भने कुनै डेब्युबाटै धमाका मच्चाए। तर, यही बेला पुराना, महँगा र चर्चित भनिएका निर्देशककै फिल्म बक्सअफिसमा नमिठोसँग चिप्लिएका छन्।

गत कार्तिकमा रिलिज भएको विजय बराल अभिनीत ‘पूर्ण बहादुरको सारंगी’ले ४६ करोड कमाउँदै बक्सअफिसमा इतिहास रच्यो। यस फिल्मका निर्देशक सरोज पौडेल पनि सिनेक्षेत्रका लागि नौलो अनुहार नै हुन्। हुन त सरोजले यसअघि ‘वेलकम टु हेम्जाकोट’ बनाएका थिए। तर, डेब्यु फिल्म नचलेपछि ‘पूर्ण बहादुरको सारंगी’बाट उनी एकाएक सबैको नजरमा परे।

एक्सनमा अभिनेता विराज भट्ट नौलो नाम होइन। तर, निर्देशक र निर्माताका रूपमा यसअघि ‘साङलो’ बनाएका विराज गतवर्ष दसैँमा रिलिज भएको ‘१२ गाउँ’बाट निर्देशक र निर्माताका रूपमा चम्किए। यस फिल्ममा उनले आफ्ना छोरा समीर भट्टलाई डेब्यु गराए। जुन फिल्मले बक्सअफिसमा १९ करोड ९२ लाख रूपैयाँ ग्रस कलेक्सन गर्न सफल भयो। जुन वर्षकै धेरै कमाउने दोस्रो फिल्म बन्यो। 

त्यसैगरि, सर्वाधिक कमाइ गर्नेको चौथो स्थानमा केकी अधिकारी अभिनित ‘बोक्सीको घर’ पनि नयाँ मेकरकै फिल्म हो। रंगमञ्चमा सक्रिय सुलक्षण भारतीले यसै फिल्ममार्फत लेखन तथा निर्देशनमा पहिलो पाइला चाले। जुन डेब्यु फिल्मबाटै भारतीले बलियो परिचय बनाए। केकी निर्माता रहेको यस फिल्मले १० करोड बढी कमाइ गरेको थियो।

त्यसैगरी, डकुमेन्ट्री बनाउँदै आएका अनिल बुढा मगर ‘घरज्वाईं’ मार्फत ठूलो पर्दामा होमिए। उनको पहिलो निर्देशन र लेखन रहेको यस फिल्मले पनि दर्शकहरूको राम्रो साथ पायो। र, अनिलले पनि आफूलाई बलियो रूपमा उभ्याए। त्यसैले त ‘घरज्वाईं’ सफल भएसँगै उनी अरु फिल्मको तयारीमा समेत लागिसकेका छन्।

निर्देशक सुयोग गुरुङ पनि फिल्मक्षेत्रका लागि नौलो नाम हो। डेब्यु फिल्मम ‘सानो मन’ मा खासै नोटिस नभए पनि उनले ‘फर्की फर्की’बाट राम्रै चर्चा बटुले। अनमोल केसीको मुख्य भूमिका रहेको यस फिल्मले बक्सअफिसमा राम्रो कमाइ गरेको थियो।

त्यस्तै, कुमार कट्टेल (जिग्री ब्रो) ले ‘लाज शरणम्’ बाट ठूलो पर्दामा डेब्यु गरे। उनकै कथा रहेको यस फिल्मले ४ करोड ३४ लाख रूपैयाँ ग्रस कलेक्सन गरेको थियो। लेखकका हिसाबले पुरानै भए पनि उपेन्द्र सुब्बाले २ वर्षअघि ‘जारी’ मार्फत निर्देशनमा डेब्यु गरेका थिए। डेब्यु फिल्म हिट हुँदा दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’ले पनि राम्रै व्यापार गर्‍यो।

यति मात्रै होइन यसवर्षको पहिलो सुपरहिट फिल्म ‘ऊनको स्वीटर’ पनि नयाँ मेकरले बनाएको फिल्म हो। म्युजिक फिल्म बनाउँदै आएका नवीन चौहानले पहिलोपल्ट फिचर फिल्म बनाए। यस फिल्ममा विपिन कार्की र मिरुना मगर मुख्य भूमिका छ। १० करोड कमाइ गर्दै यो फिल्म वर्षकै सुपरहिट फिल्म घोषित भइसकेको छ।

बक्सअफिसमा हिट यी नयाँ निर्देशकका अधिकांश फिल्ममा एउटा समानता छ– गाउँको कथा अर्थात् रैथाने स्वाद। निर्देशक मनोज पण्डित पुराना निर्देशकको सिनेमा सहरमा रुमल्लिरहेको बेला नयाँ मेकरहरू गाउँ पसेर दर्शकको मन जित्न सफल भएको विश्लेषण गर्छन्। पण्डितको तर्क छ, केही सहरीकरणको सन्दर्भमा सिनेमा बने पनि तिनले स्थानीय मनोविज्ञानलाई प्रतिनिधित्व गर्न सकिरहेका थिएनन्। यस्तोमा नयाँ मेकरहरूले गाउँ प्रवेश गरेर गाउँलाई हेर्ने दृष्टिकोण र मनोविज्ञानलाई प्रतिनिधित्व गरिदिए। जुन सिनेमा सफल हुने सूत्र बनिदियो। 

‘पुरानाहरूले गाउँलाई नितान्त छोडिदिएका थिए। गाउँ भनेको पहाड र दूर मात्रै होइन। उनीहरूले सहरी मनोविज्ञानभित्र गाउँ जोडिदिए। नितान्त पहिलो पुस्ता गाउँबाट सहर आएको छ। त्यो त सहरमै बस्छ। तर, गाउँ त उसँग छ। त्यो गाउँ बोकेको सहरमा बस्ने मान्छेहरूको जुन ठूलो जमात छ। त्यसलाई केही फिल्महरूले गाउँ झल्काइदियो। त्यसले नोस्टाजिक फिल गराइदियो। त्यो नोस्टाल्जिया अहिलेको शक्तिशाली सिर्जना बनेको छ। त्यसकारण पनि नयाँले बनाएका फिल्महरू अलिकति चलेका छन्,’ उनले भने।

चाहे गाइनेको कथामा बनेको ‘पूर्णबहादुरको सारङ्गी’ होस्, बोक्सी प्रथाको कथामा बनेको ‘बोक्सीको घर’, या नेपालमा पहिलोपल्ट प्रयोग भएको ‘टाइम लुप’ सिनेमा ‘फर्की फर्की’, अधिकांश नयाँ निर्देशकका फिल्ममा नयाँ प्रयोग थिए। समीक्षागत हिसाबले ती उत्कृष्ट थिए/थिएनन्, त्यो लेखाजोखाकै विषय होला तर बजारमा जस्ता फिल्म चलिरहेका थिए, कम्तीमा उनीहरूले ती फर्मुला पछ्याएका थिएनन्।

निर्देशक तथा फिल्म चिन्तक नविन सुब्बा पछिल्लो समय फिल्म क्षेत्रमा आएका नयाँ मेकरहरूले जोखिम लिने जुन साहस गरिरहेका छन्, त्यसलाई पनि उनीहरूको फिल्म चल्नुको प्रमुख कारण मान्छन्।

‘नयाँहरू फिल्मको विषयवस्तुदेखि नयाँपन खोज्नमा जोखिम लिन्छन्,’ सुब्बाको मत छ, ‘पुराना निर्देशक चाहिँ फर्मुलाजस्तो पहिले जे सफल भएको छ, त्यही सफलतालाई दोहोर्‍याउँछन्। पुरानै सिरिजमार्फत भएकै स्टोरी बेच्छन्। जुन भनेको जोखिम नमोलेको हो। तर, नयाँ आउनेहरूले पुरानो विषयभन्दा पनि नयाँपन दिने विषय र नयाँ प्रकारको फिल्ममेकिङमा रिस्क लिँदा सफल भएका हुन्।’

चलेन पुराना निर्देशकको जादु
गत वर्ष नयाँ निर्देशकका फिल्मले बक्सअफिसमा चमत्कार गरिरहँदा पुराना, स्थापित र महँगा भनिएका निर्देशकको फिल्मले भने कुनै जादु गर्न सकेनन्। चाहे त्यो सुर्दशन थापाको ‘रावायण’ होस्, यही वर्ष रिलिज भएको दिनेश राउतको ‘महाभोज’ होस् या दीपेन्द्र के खनालको ‘के घर के डेरा’। सबै फ्लप भए।

पुराना निर्देशक शंकर लामिछानेले लामो समयपछि विपिन कार्की र वर्षा राउतलाई प्रमुख भूमिकामा राखेर फिल्म बनाए– ‘तेलभिसा’। तर, न यसले राम्रो समीक्षा पायो, न बक्सअफिसमा कमाल नै गर्‍यो।

सहायक निर्देशक हुँदै निर्देशनमा अनुभव बटुलेका निर्देशक दिवाकर भट्टराईको गतवर्ष मात्रै दुइवटा फिल्म आए– ‘मायावी’ र ‘नरसिंहाः अवतार’। ‘नरसिंहाः अवतार’ त राजेश हमालको कमब्याक फिल्म भएका हिसाबले हल्लाखल्ला बेजोड नै थियो। तर, हल्लाले बक्सअफिस हल्लाउन सकेन। यो वर्ष मात्रै अर्का महँगा र सफल भनिएका निर्देशक दिनेश राउतले सहकारी ठगीको विषयमा फिल्म ल्याएका थिए– ‘महाभोज’। तर, फिल्म यसरी चिप्लियो कि सायद निर्माताले बक्सअफिसमा भोज त के पानीसम्म भन्न भ्याएनन्।

निर्देशक नवीन सुब्बा स्थापित फिल्ममेकरहरू पुरानै फर्मुलामा आधारित रहेर फिल्म बनाउन होमिँदा चिप्लिने गरेको बताउँछन्। 

‘नयाँमेकर जो संघर्ष गरिरहेका हुन्छन्, उनीहरू कसरी आफूलाई स्थापित गरौँ भनेर संघर्ष गरिरहँदा समाजसँग एकदम गहिरो अन्तरसम्बन्ध बनाइरहेका हुन्छन्,’ सुब्बा भन्छन्, ‘समाजमा के छ, समाजले कसरी फिल्मलाई हेरिरहेको छ र समाजले के चाहन्छ भनेर घोत्लिरहेका हुन्छन्। तर, स्थापित फिल्ममेकरहरू चाहिँ त्यो काम गर्दैनन्। घोत्लिनेभन्दा पनि यो फर्मुलामा बनाउँदा फिल्म चल्छ भनेर सोच्छन्। हुन त औसतमा त्यो सूत्रले काम गर्छ पनि होला।’

नयाँलाई निरन्तरतामा कठिनाइ
निर्देशक मनोज पण्डित नयाँलाई सरप्राइजको रूपमा हेर्छन्। जो स्थापित मान्यताभन्दा फरक रूपमा आउन खोज्छन्।

‘केही फरक आउँदा फरक दृष्टिकोण आउँछ,’ उनी भन्छन्, ‘कथाको फरक पृष्टभूमि आउँछ। द्वन्द्व आउँछ। त्यससँगै नयाँ पात्रहरू सिर्जना हुन्छ। समाजले कहिलेकाहीँ ब्रेकथ्रु खोज्छ। त्यो ब्रेकथ्रु पनि कारण हो,’ उनी भन्छन्।

राजनीतिक प्रभाव पनि उनलाई अर्को कारण लाग्छ।

‘हामीलाई राजनीतिमा पुरानो खराब भइसके, नयाँले गर्छन् कि भन्नर् मनोविज्ञान भइसक्यो। नयाँपन आकर्षणको कारक तत्त्व भइसक्यो। सायद त्यो राजनीतिक मनोविज्ञानले फिल्ममा पनि काम गरेको हो कि,’ पण्डित अड्कल काट्छन्।

सुरुवाती फिल्म भएकाले नयाँ मेकरहरूमा पुरानोजस्तो असफलताको डर नहुने बताउँछन्, फिल्म निर्देशक सुब्बा।

‘नयाँलाई असफल भए पनि कसैले चिनेको हुँदैन, सफल भएपछि स्थापित भइन्छ, त्यही भएर उनीहरू बढी जोखिम मोल्छन्,’ सुब्बा भन्छन्, ‘उनीहरू संघर्ष गरिरहेको बेला अध्ययन गर्छन्, उनीहरूमा अर्कोभन्दा कसरी राम्रो बनाउने ऊर्जा बढी हुन्छ। त्यो फिल्ममा देखिन्छ पनि जसकारण दर्शकले रुचाउँछन्।’

यद्यपि नयाँलाई यो सफलताको निरन्तरता दिन भने कठिन देख्छन्, निर्देशक पण्डित। उनको विश्लेषणमा नयाँ पनि सहज भइसकेपछि पुरानै ढर्रामै काम गर्ने हुँदा स्टोरीमा केही नयाँपन नआउने खतरा हुन्छ।

‘एकचोटि सफल भइसकेको मान्छेको फिल्ममेकिङ त्यति गुणस्तर विकास भएको छैन,’ पण्डित भन्छन्, ‘नेपाली सिनेमा क्षेत्रमा सफलता नै उनीहरूको बाधक बनिदिएको छ। पहिले असफल भएका मानिसहरू दोस्रो चोटिमा सफल भएका छन्। किनकि उनीहरूले आफ्नो अस्तित्वलाई दाउमा राखेर काम गरेका हुन्छन्। उनीहरूसँग एककिसिमको चुनौती बढी हुन्छ।’

उनी लगत्तै थप्छन्, ‘जुन मेकरले आफूलाई तरबारको धारमा राखेर फिल्म बनाउँछ, स्टोरीटेलिङमा जहाँ बढी स्टेक हुन्छ, त्यहाँ राम्रो हुन्छ। आफूलाई एकचोटि प्रमाणित गर्छु भनेर जो इमानदारीपूर्वक लाग्छ, त्यो सफल हुन्छ।’

नेपालमा एकचोटि सफल भएकाहरूमा धेरैसमयसम्म त्यसकै ब्याजे खाने प्रवृत्ति छ। पण्डित भन्छन्, ‘तर, ब्याज खान छोडेर हरेक नयाँ कामलाई आफैँमा एक चुनौती ठान्ने हो भने नेपाली सिनेमाको दृश्य अलि फरक हुन्थ्यो कि?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad