म मान्ठ हुँ, म मान्ठ हुँ
म मान्ठ जुर्मुराउँछु
अनन्त अन्धकारमा, अबोध त्यो प्रवाहमा
अमोक्षमा जुनी जुनी, बसेँ नि दुष्ट राजमा
तथापि जिऊँ जिन्दगी, म हौसला र जोस हुँ
शिखर म चुम्छु दुर्गको, म पाइला हुँ खोज हुँ
नमेटिने ननासिने, अभेद्य हुँ अजेय हुँ
अदम्य आँट ओज ली, जुरुक्क उठ्छ कर्नाली
पछिल्लो समय यो गीतको खुबै चर्चा भयो। सामाजिक सञ्जालमा छ्यापछ्यापी भएको यो गीतका शब्द र गायकीले दर्शकस्रोताको मन जितेको छ। गीतले जुरुक्कै बनाएको भन्दै उनीहरूले तारिफ गरिरहेका छन्। गीत सुन्दा जिउमा काँडा उम्रिएको धेरैको प्रतिक्रिया छ।
खासमा भदौ ६ गते सिस्नोपानी नेपालले ‘कर्णाली जुरुक्क’ नामको कार्यक्रम आयोजना गरेको थियो। माधव चौलागाईंको शब्दमा गायिकाद्वय आस्था राउत र स्मारिका फुयाँलले ‘म मान्ठ हुँ’ गीत गाएका थिए।
बोल्ड आवाज, बलियो भावभंगी। त्यसमाथि मिथिला शर्माको दमदार नृत्य अवतार। मौलिक शब्द र बेजोड संगीतको सम्मिश्रणले हरेकको जोस बढाएको छ।
यो प्रस्तुतिलाई हास्यकलाकार मनोज गजुरेलले केही दिनअघि फेसबुकमा राखेका थिए। भाइरल भएको उक्त भिडिओलाई हालसम्म साढे ८ लाख बढीले हेरिसकेका छन्।
गत वर्ष यस गीतका रचनाकार चौलागाईंको पुस्तक ‘सपादलक्ष कर्णाली’ प्रकाशित भएको थियो। पुस्तक सुर्खेतमा विमोचन गरिएको थियो। लगत्तै एकजना पाठकले अर्थ थाहा नपाए पनि ‘सपादलक्ष कर्णाली’ शब्द बबाल लागेको प्रतिक्रिया दिए। साथै थपे: यसमा गीत बनाउन पाए त क्या दामी हुन्थ्यो।
यो प्रतिक्रियाले चौलागाईंलाई केही हरफ लेख्न हौस्यायो। अनि विमोचन भएकै भोलिपल्ट उनले कोर्न थाले। जसको पहिलो हरफ थियो: मान्ठ हुँ, म मान्ठ हुँ। यी हरफ उनले साथीहरूलाई सुनाउँदा खत्रा हुन्छ भन्दै प्रोत्साहन गरे।
त्यसपछि लाइनहरू थप्दै गए। मिडियामा किताबको चर्चा हुँदै गयो। अन्तर्वार्ता दिँदा एउटा पुस्तकले अरू सम्भावनालाई निकाल्न सक्दोरहेछ भन्ने उदाहरण दिँदै उनी ती लाइनहरू वाचन गर्थे। तर, गीत रेकर्डिङबारे भने खासै सोच्न भ्याएका थिएनन्।
तर, केही महिनाअघि उनलाई सिस्नुपानी नेपालले कर्णालीको थिममा कार्यक्रम गर्ने लागेकोबारे जानकारी दियो। त्यसरी नै यो गीत सिर्जना भएको बताउँछन् उनी।
‘सिस्नुपानीका आयोजकले कर्णालीको थिममा कार्यक्रम गर्ने लागेको भन्नुभयो। उहाँहरूले मेरो किताब पढ्नुभएको रहेछ। कर्णाली यात्राका क्रममा उहाँहरूसँग मेरो भेट भयो। काठमाडौंमा भेट्न बोलाउनुभयो। जहाँ शिशिर योगी लगायतका हुनुहुन्थ्यो। गीतको बोल देखाउँदा निकै राम्रो भएको भन्ने कुरा आयो,’ उनले भने।

उनलाई ‘जुरुक्क उठ्छ कर्णाली’ को थिम समेत जोड्न भनियो। अनि यो थिमसँग जोड्दै बुनियो:
अदम्य आँट ओज ली
जुरुक्क उठ्छ कर्नाली
गीतको मूल मर्म पनि यही हो। जसले कसैले दबाउन नसक्ने आँट र शक्ति लिएर कर्णाली फेरि जुरुक्क उठ्दैछ भन्ने सन्देश दिन्छ।
गीतको शब्द सम्पादन गर्न शिशिर योगी, रामप्रसाद ज्ञवाली लगायतले सहयोग गरे। पञ्चचामर छन्दमा तयार पारिएको यो गीत वीर रसमा छ। शब्द तयार भएपछि आयोजकले गायक राख्ने काम गरेको थियो। जुन लाइभ प्रस्तुति फेसबुकमा राखेपछि भाइरल भएको उनी बताउँछन्।
उनले भने, ‘मनोज गजुरेलले भिडिओको क्लिप राखेपछि अचम्मै भयो। यो लेबलको चर्चा होला भन्ने कल्पनै गरेको थिइनँ। रचना गरेको नै पहिलोपल्ट हो।’
सामाजिक सञ्जालदेखि व्यक्तिगत रूपमा यो किसिमको चर्चा पाउँदा मक्ख छन् चौलागाईं। यसरी आफूले रचना गरेको सिर्जनाले व्यापक चर्चा पाउँदा यस गीतले आफ्नो भाग्य आफैँ कोरे झैँ लाग्छ उनलाई।
‘यस गीतले आफ्नो भाग्य खोजेको जस्तो लागिरहेको छ। उहाँहरू भेट्नु, सिंगरहरू र प्लाटफर्म। जहाँ सुनाउनको लागि उपयुक्त ठाउँ र व्यक्ति पनि थिए। भनेपछि गीतले आफ्नो भाग्य आफैँ कोरेको जस्तो लाग्यो। मेरो सामर्थ्यले त त्यो गर्न सक्दैन थियो। मैले एक्लैले चाहेर त केही हुँदैनथ्यो,’ उनले भने।
पहिलो रचना नै हिट भएपछि उनलाई गीत लेख्न अफरहरू आइरहेको छ। कर्णाली नदीसम्बन्धी गीतमा भने काम गरिरहेको उनले बताए।

दंग आस्था राउत
लाइभ प्रस्तुतिले यो किसिमको चर्चा पाउँदा दंग छिन् गायिका आस्था राउत। टिमवर्कको कारण यस गीतलाई धेरैले मन पराएको उनलाई लाग्छ।
‘मुख्य भनेको यो टिमवर्क हो। मैले गीत उठाउँदा कहिल्यै पनि गीतको हिसाबले गाउँदिनँ। म पानी बनाएर तैरिन्छु। गीतलाई न्याय दिनुपर्छ भनेर गीतको शब्दको भावअनुसारको भावभंगी दिन्छु। किनकि अनुहारको भावभंगीले स्वरमा एक्प्रेसन गर्न सजिलो हुन्छ। म त्यसमा तैरिएको हुँ। स्मारिका फुयाँलको पनि एकदम सपोर्ट छ,’ उनले भनिन्।
सिस्नुपानी नेपालको टिममा गीतका शब्दअनुसार कडा र ओजनदार आवाज चाहिन्छ भनेर छलफल चलेको रहेछ। त्यही छलफलअनुसार आस्थाको नाम आएछ। उनलाई मनोज गजुरेलले गीत गाउन प्रस्ताव गरेका थिए। त्यसपछि सिस्नुपानी नेपालका आयोजक टंक आचार्यले फोनमा जुरुक्क उठ कर्णाली थिममा कार्यक्रम हुन लागेको कुरा बताए। र, भेट्न बोलाएर गीतका शब्दहरू सुनाए।
‘चौबन्दीमा पटुकी’ ‘झुम्के बुलाकी’ मा लगायतका हिट गीत दिइसकेकी आस्थालाई ओजनदार शब्दले तान्छन्। जुन सतहीभन्दा बढी अर्थपूर्ण होस्। त्यसैले त यस गीतका शब्द सुन्दा आस्था उत्साहित भइहालिन्।
उनले भनिन्, ‘म बच्चैदेखि बालगीतहरू गाउँदै आएकी थिएँ। महिला सशक्तीकरणदेखि भारी गीत गाउन मन पराउँथेँ। सतही गीतभन्दा अर्थपूर्ण गीत गर्न रूचाउँछु।’
शब्द मात्रै होइन, धीरेन्द्र प्रेमर्षिको संगीत अनि रोमी बस्नेतको संगीत संयोजन पनि आस्थालाई मन परेको थियो। आस्था काठमाडौंमै जन्मेहुर्केकी हुन्। त्यसकारण सुरूमा आस्थाले यत्तिको गर्न सक्दिनन् कि भन्ने आयोजकले सोचेका रहेछन्। तर, आस्थाले गाएको सुनेपछि पूरै टिम चकित पर्यो।
‘सुरूमा सुन्दा चकित पर्नुभयो। किनकि यति राम्रो उच्चारण होला भन्ने उहाँहरूलाई लागेकै थिएन। तर, पहिल्यैदेखि मेरो नेपाली उच्चारण राम्रो थियो। यो गीत पनि मेरो लागि सुहाउँदो शब्द र संगीत थियो,’ उनले भनिन्।
लाइभ प्रस्तुतिको लागि आस्थाले चार दिन अभ्यास गरेकी थिइन्। कतिपय शब्दहरू गाह्रो लागेकाले अभ्यास गर्दा दबाब महसुस गरिन्।
‘चार दिनजति रिहर्सल गरेका थियौँ। कहिले ब्यान्ड त कहिले डान्स विथ ब्यान्डसँग गरेर दिनमा दुईपटक रिहर्सल गरेका थियौँ। त्यो औपचारिक कार्यक्रम थियो। जसकारण अरुबेलाको इभेन्टजस्तै नाच्दै गाउँन मिल्दैन्थ्यो। जिस्किन पाइँदैनथ्यो। त्यसमाथि लाइभ भएकाले एउटा शब्द तलमाथि हुँदा बिग्रिन सक्थ्यो। प्रतियोगितामा गाएको जस्तो फिल भइरहेको थियो। बालापनमा रेडियो नेपालको प्रतियोगितामा गएजस्तै भयो,’ आस्थाले सुनाइन्।
सामाजिक सञ्जालमा गीत भाइरल हुँदा आस्थालाई प्रशंसाको ओइरो आइरहेको छ। धेरैले गीत सुनेर उत्प्रेरित भएको प्रतिक्रिया दिइरहेका छन्। ती प्रतिक्रिया आस्थालाई आफूले गरेको तपस्याको फलजस्तै लाग्छन्।
‘कर्णाली र देशको लागि जाग भन्नका लागि त्यो एक्प्रेसन आएको थियो। यो देश बिग्रेको प्रति वा यस्तो हालतमा पुर्याउनेप्रति मभित्र ज्वाला छ। त्यो एक्सप्रेसनबाट ज्वालामुखी विस्फोट भएको हो,’ उनले भनिन्, ‘गीतले तरंग पैदा गर्दा निकै खुसी लागेको छ। धेरैले मानसिक रूपमा विचलित हुँदा यस गीतले मोटिभेट गरेको भन्नुभएको छ। मैले चाहेको तपस्या पूरा भएको लागिरहेको छ। म निकै भावविह्वल छु। म एकदमै खुसी छु। आगामी दिनमा पनि यस्तै गीतहरू गाउनेछु।’
मनोज गजुरेलले लाइभ प्रस्तुतिको भिडिओलाई फेसबुकमा राखेका थिए। जुन भिडिओलाई लाखौँले हेरिसकेका छन्। न रेकर्ड, न अटोट्युन, न कुनै मिक्सिङ र एडिटिङ। यी सबबिनै यो किसिमको भ्युज पाउनु ऐतिहासिक भएको उनको भनाइ छ। यस गीतले आफैलाई हेर्ने दृष्टिकोणमा समेत परिवर्तन आएको सुनाउँछिन् उनी।
‘चौबन्दीमा र अरु दुईतीन वटा गीत त हिट हो नि भन्नेहरू थिए। खासै (राम्रो) गर्न सक्दिन आस्थाले भन्दै कुरा गर्थे। लाइभ देखेपछि नकारात्मक भन्नेहरूमा पनि एक किसिमको सकारात्मक धारणा बनेको रहेछ। विचार बदलिइरहेको छ। यो गीत कुनै स्वार्थबिना गाएकी थिएँ। कर्णालीबासीका लागि गाएकी थिएँ। कर्णालीसहित सारा नेपालीको आवाज बन्न पाउँदा निकै खुसी छु,’ उनले भनिन्।
Shares

प्रतिक्रिया