दक्षिण भारतीय अभिनेता मोहनलाललाई प्रतिष्ठित दादासाहेब फाल्के पुरस्कार प्रदान गरिएको छ। सेप्टेम्बर २३ मा भएको ७१ औं राष्ट्रिय चलचित्र पुरस्कार समारोहमा उत्कृष्ट योगदानको लागि मोहनलाललाई सन् २०२३ को दादासाहेब फाल्के पुरस्कारबाट सम्मान गरियो।
उनलाई भारतकी राष्ट्रपति द्रौपदी मुर्मुले यो विशेष पुरस्कार प्रदान गरेकी थिइन्। जब उनी पुरस्कार ग्रहण गर्न लागेका थिए, उपस्थित सबैले उनको सम्मानमा उभिएर ताली बजाए। कुनै पनि अभिनेताको लागि यो ठूलो गर्वको कुरा हो जब प्रमुख व्यक्तित्वहरूले उनलाई उभिएर ताली बजाउँछन्।
अवार्ड पाएसँगै मोहनलाले एक वत्तव्य राखे, जसले धेरैको मन जितेको छ। ६५ वर्षीय मोहनलालले आफ्नो फिल्म र सफलताको श्रेय आफैं लिएनन्, बरु सम्पूर्ण मलयालम फिल्म उद्योगलाई दिए।
‘मलयालम फिल्म उद्योगको प्रतिनिधिको रूपमा, म यो राष्ट्रिय सम्मानबाट सम्मानित हुने राज्यको दोस्रो र योङ व्यक्ति हुँ। यो क्षण मेरो एक्लैको होइन। यो पुरस्कार सम्पूर्ण मलयालम उद्योगको लागि हो। म यो पुरस्कारलाई हाम्रो उद्योग, विरासत र रचनात्मकताप्रति सामूहिक ट्रिब्युटको रूपमा देख्छु’उनले भने, ‘जब मैले यो समाचार पाएँ, म अत्यन्तै खुसी भएँ, मलाई सम्मानित गरिएको कारणले मात्र होइन, तर मलाई हाम्रो सिनेमाई आवाजलाई अगाडि बढाउनको लागि छनोट गरिएको कारणले। यो मेरो सौभाग्य हो कि भाग्यले मलाई आफ्नो दृष्टिकोण र कलात्मकताले मलयालम उद्योगलाई आकार दिने सबैको तर्फबाट यो पुरस्कार स्वीकार गर्ने अवसर दिएको छ। इमानदारीपूर्वक भन्नुपर्दा, मैले यो क्षणको सपना पनि सोचेको थिइनँ।’
चार दशकभन्दा बढी समयदेखि दक्षिण भारतीय चलचित्रहरूमा निरन्तर उपस्थिति र दर्शकहरूलाई निरन्तर मनोरञ्जन प्रदान गरेकोमा मोहनलाललाई यस वर्ष दादासाहेब फाल्के पुरस्कार २०२३ को लागि छनोट समितिले छनोट गरेको थियो।
मोहनलालले थन्मात्र, दृश्यमू, वनप्रस्थम, मुन्थिरवल्लीकल थालिर्ककुम्बोल र पुलिमुरुगन चर्चित फिल्ममा काम गरिसकेका छन्। आफ्नो सहज अभिनय र उत्कृष्ट प्रदर्शनका लागि परिचित, मोहनलालले उत्कृष्ट अभिनेताको लागि दुई राष्ट्रिय चलचित्र पुरस्कार, नौ केरला राज्य पुरस्कार र धेरै अन्तर्राष्ट्रिय सम्मानहरू प्राप्त गरेका थिए। अभिनयमा योगदान बाहेक, मोहनलाललाई २००१ मा पद्मश्री र २०१९ मा पद्मभूषण पनि प्रदान गरिएको थियो।
Shares

प्रतिक्रिया