शनिबार साँझ तमिलनाडुको करुरमा अभिनेता विजयको र्यालीमा भागदौड मच्चिँदा ३६ जनाको मृत्यु भएको छ।
मृतकमा १६ महिला र ८ बालबालिका रहेको तमिलनाडुका स्वास्थ्यमन्त्री एम.ए. सुब्रमण्यमले बताएका छन्। दुर्घटनामा ५८ जनाभन्दा बढी घाइते भएका छन्। मृत्यु हुनेको संख्या बढ्न सक्ने आशंका गरिएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार अभिनेताबाट राजनीतिज्ञ बनेका विजयको पार्टी तमिलगा भेट्टी कझगम (टीभीके) को र्यालीमा ठूलो संख्यामा मानिसहरू भेला भएका थिए।
यसैबीच ९ वर्षीया बालिका बेपत्ता भइन्। अनि विजयले प्रहरी र उनका समर्थकहरूलाई उनलाई खोज्न मञ्चबाटै अपिल गरे। यसपछि भागदौडको अवस्था सिर्जना भएको हो।

भिडमा फसेका कारण धेरै मानिसहरूलाई सास फेर्न गाह्रो भयो र धेरै मानिसहरू र कार्यकर्ताहरू बेहोस हुन थाले। अवस्था बिग्रँदै गएको देखेर विजयले आफ्नो भाषण रोके र मानिसहरूलाई शान्तिका लागि अपिल गरे।
विजयको र्यालीमा १०,००० मानिसहरूको लागि अनुमति थियो। प्रशासनले ५० हजार मानिस भेला हुने अनुमान गरेको थियो, तर त्यहाँ करिब १ लाख २० हजार मानिस भेला भएका थिए।

यसैबीच मुख्यमन्त्री एम.के. स्टालिनले मृतकका परिवारलाई प्रतिव्यक्ति १० लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन्।
घटना अनुसन्धान गर्न उच्च अदालतका पूर्वन्यायाधीश अरुणा जगदीसनको नेतृत्वमा एक सदस्यीय अनुसन्धान आयोग पनि गठन गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
Shares

प्रतिक्रिया