हिन्दी सिनेमाका ‘हि-म्यान’ भनेर चिनिने बलिउड अभिनेता धर्मेन्द्र मुम्बईको ब्रिच क्यान्डी अस्पतालमा उपचाररत छन्।
डाक्टरहरूको टोलीले उनको स्वास्थ्यको निरन्तर निगरानी गरिरहेको छ।
यसैबीच उनको बिग्रँदो स्वास्थ्यबारे उपचारमा संलग्न डाक्टरलाई फोन गरेर सोध्दा उनले बिरामी र परिवारको गोपनीयता भन्दै प्रतिक्रिया दिन अस्वीकार गरेको बीबीसी हिन्दीले जनाएको छ।
प्राप्त जानकारीअनुसार, धर्मेन्द्रलाई श्वासप्रश्वासमा समस्या र निमोनियाका कारण करिब तीन हप्ताअघि अस्पतालमा भर्ना गरिएको थियो।
धर्मेन्द्रको उमेर र स्वास्थ्यलाई ध्यानमा राख्दै उनलाई सुरुदेखि नै आईसीयूमा राखिएको छ।
यसैबीच मंगलबार धर्मेन्द्रकी छोरी ईशा देओल र पत्नी हेमा मालिनीले मिडियामा प्रसारित उनको ‘निधन’को गलत समाचारप्रति कडा आपत्ति जनाएका छन्।
ईशा देवलेले इन्स्टाग्राममा लेखेकी छन्, ‘मिडियाले गलत समाचार फैलाइरहेका छन्। मेरो बुबाको अवस्था स्थिर छ र सुधार भइरहेको छ। उनको स्वास्थ्यका लागि प्रार्थना गर्नुभएकामा धन्यवाद।’
धर्मेन्द्रकी श्रीमती, अभिनेत्री तथा सांसद हेमा मालिनीले पनि इन्स्टाग्राममा लेखेकी छन्, ‘जे भइरहेको छ त्यो अक्षम्य छ! जिम्मेवार च्यानलहरूले उपचारको प्रभाव परिरहेका र निको भइरहेका व्यक्तिबारे कसरी गलत समाचार फैलाउन सक्छन्?’
Shares

प्रतिक्रिया