दिनेश राउतले निर्देशन गरेको फिल्म ‘कुमारी’को छायांकन सकिएको छ।
छायाङ्कन सकिए पनि रिलिज मिति भने केही दिनमै घोषणा हुने बताइएको छ। पोस्ट-प्रोडक्सनको प्रगति मूल्यांकन गर्दै अन्तिम मिति तय गर्ने निर्देशक राउतको भनाइ छ।
यसअघि छायांकनको बीचमै फिल्म 'कुमारी' चर्चामा रह्यो। घोषणा कार्यक्रममा प्रत्यक्ष प्रस्तुत गरिएको गीत 'कता छौ मेरो फूल' सामाजिक सञ्जालमा भाइरल बनेको थियो। हाल देशव्यापी कन्सर्टमा रहेका गायक केहरसिंह लिम्बूले पनि दर्शकको अत्यधिक मागसँगै यो गीत गाइरहेका छन्।
गायक लिम्बू र उनको ब्यान्ड 'केहर एन्ड द लुङा'ले गाएको लाइभ भर्सन अहिले टिकटक र युट्युबमा रुचाइएको छ। 'जेनजी' पुस्ताका प्रयोगकर्ताले टिकटकमा सर्वाधिक प्रयोग गरिरहेको गीतको स्टुडियो भर्सन भने फिल्म रिलिजसँगै सार्वजनिक गरिनेछ।
यस फिल्मबाट अभिषेक खड्का र आकृति राजभन्डारीले डेब्यु गरेका छन्। त्यस्तै फिल्ममा घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकांक्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनीषा शर्मा र भूपी लुहारको अभिनय छ।
फिल्मको छायांकन निर्देशन सुसन प्रजापतिले गरेका हुन्। पिक्चर फ्रेमसँग सहकार्यमा बिनिश इन्टरटेन्मेन्टले निर्माण गरेको फिल्मका निर्माता महेन्द्र अधिकारी हुन्। स्क्रिप्ट विकास सुवेदीले लेखेका हुन् भने पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट)को रहेको छ।
'कुमारी'मा चार गीत छन्। सबै गीतमा लिम्बूले नै स्वर दिएका छन्। उनीसँगै सुमन तामाङ र प्रशान्त सिवाकोटीले संगीत भरेका छन्। गीत लेखकमा सागर लामिछाने मगर, सुमन तामाङ र युवराज काफ्ले छन्। निर्माण टोलीका अनुसार, 'कुमारी' यही वर्षभित्र नै प्रदर्शन गर्ने लक्ष्य रहेको छ।
Shares

प्रतिक्रिया