कात्तिक २१ गतेबाट ‘मन बिनाको धन’ सहित बहुप्रतिक्षीत फिल्म ‘जारी २’ एकसाथ प्रदर्शन भए। जसमध्ये ‘जारी २’ ले ५ करोड ८९ लाख व्यापार गरेको छ।
चलचित्र विकास बोर्डले आज सोमबार सार्वजनिक गरेको बक्स अफिस रिपोर्टअनुसार ‘जारी २’ ले १६ दिनमा ५ करोड ८९ लाख आकंडा पार गरेको हो।
‘जारी २’ यसअघिको चर्चित फिल्म ‘जारी’ को सिक्वेल हो। २०८० सालमा रिलिज भएको ‘जारी’ले १७ करोडभन्दा बढी व्यापार गरेको थियो। पहिलो पार्टभन्दा कमजोर हुँदा सिक्वेललाई दर्शकहरूको राम्रो साथ छैन। जसकारण आफ्नै रेकर्ड तोड्न ‘जारी २’ लाई मुस्किल छ।
‘मन बिनाको धन’ ले तीन करोड ४० लाख ६३ हजार रुपैयाँ ग्रस कलेक्सन गरेको छ। यसमा अझै पनि दर्शकहरूको राम्रै साथ छ।
बोर्डको रिपोर्टअनुसार, यो अवधिमा ‘जारी २’ को एक लाख ९५ हजार चार सय २२ टिकट बिक्री भएको छ। त्यसैगरि, ‘मन बिनाको धन’ को भने एक लाख २८ हजार ३ सय ३४ टिकट बिक्री भएको छ।
लिम्बू संस्कृतिमाथि आधारित ‘जारी २’ मा दयाहाङ राई, मिरुना मगर, विजय बराल, ऋचा शर्मा, प्रेम सुब्बा, अनिल सुब्बा, रेखा लिम्बू लगायतको अभिनय छ। फिल्मको लेखक तथा निर्देशक उपेन्द्र सुब्बा हुन्।
‘मन बिनाको धन’ भने बालगायक अशोक दर्जीको जीवनमा आधारित फिल्म हो। टंक बुढाथोकी निर्देशित फिल्ममा दर्जीको जिरोदेखि हिरोसम्मको यात्रालाई समेटिएको छ।
Shares

प्रतिक्रिया