कला


फत्तेमानको सम्झनामा पलेँटीमा विशेष कार्यक्रम गरिँदै

फत्तेमानको सम्झनामा पलेँटीमा विशेष कार्यक्रम गरिँदै

नेपालखबर
मंसिर १२, २०८२ शुक्रबार १६:३५, काठमाडौँ

हरेक अंग्रेजी महिनाको अन्तिम शुक्रबार नेपालयको 'आर' शालामा आयोजना हुँदै आएको सांगीतिक कार्यक्रम पलेँटीमा यसपटक गायक फत्तेमान राजभण्डारीको सम्झना गरिने भएको छ।

संयोग भनौं शुक्रबार, नोभेम्बर २८ तारिख गायक फत्तेमानको जन्म दिन पनि हो। पलेँटीमा गायक फत्तेमानसँग लामो संगत गरेका संगीतकार आभासले फतेमानका सम्बन्धमा निबन्ध-वाचन गर्नेछन्।

फत्तेमान नै किन? पलेँटी संयोजन गर्दै आएका संगीतकार आभास भन्छन्, ‘फत्तेमान दाइसँग हामीले लामो संगत गर्‍यौं। त्यसैले उहाँसँग जोडिएका धेरै सम्झनाहरू छन्। तिनलाई बेलाबखत कोट्टाइ राख्नुपर्छ; जोगाइ राख्नुपर्छ।’  

उनी अगाडि थप्छन्- ‘झन् यसपालि त उहाँको जन्म मितिकै दिन पलेँटी पर्न गयो। त्यसैले गीतहरू मार्फत नै उहाँको सम्झना गरौँ भन्ने भयो।’ 

पलेँटीसँग आफ्नो संगतबारे फत्तेमानले व्यक्त गरेको अभिलेख भेटिन्छ। उनले भनेका थिए, ‘नेपालयले वीरेन्द्र अन्तर्राष्ट्रिय भवनमा मलाई पहिलोपाली स्टेजमा उतार्‍यो, त्यसबाट मलाई माया गर्ने धेरै श्रोता पाएँ। मैले फेरि पनि मौका पाउँ, माया पाउँ। स्वास्थ्यले साथ दिउन्जेल गाउनेछु।’ 

फत्तेमानको पुरानो यही भनाइलाई उल्लेख गर्दै कार्यक्रम संयोजक आभास भन्छन्, ‘यो कार्यक्रम फत्तेमान दाइप्रतिको माया पनि हो। उहाँ भौतिक रुपमा हामी माझ नरहे पनि सिर्जनामार्फत जीवित हुनुहुन्छ।’ 

पलेँटी आयोजना गर्दै आएको संस्था नेपालयले गायक फत्तेमानसँग सन् २००२ देखि संगत सुरु गरेको हो। सन् २००२ को अगस्ट १० तारिख नेपालयले 'गायक फत्तेमान साँझ' को आयोजना गरेको थियो। हालको संसद् भवनमा सम्पन्न भएको कार्यक्रम फत्तेमानको जीवनकै पहिलो एकल साँझ थियो। संगीतकार आभासले नै त्यो कार्यक्रमको संगीत संयोजन गरेका थिए।

पलेँटी सन् २००५ देखि सञ्चालन हुँदै आएको लघु-साङ्गीतिक कार्यक्रम हो। पलेँटी अन्तर्गत पनि गायक फत्तेमानले फरकफरक समयमा तीन पटक एकल गायन प्रस्तुत गरेका थिए।

यसपटक पलेँटीमा फत्तेमानले गाएका एक दर्जनभन्दा बढी गीतहरू प्रस्तुत हुनेछन्। जसलाई पलेँटी टिमले हप्ता दिनदेखि अभ्यास गरेर तयार पारेका छन्।

पलेँटी कार्यक्रम यही नोभेम्बर महिनाको अन्तिम शुक्रबार २८ तारिख र शनिबार २९ तारिखका दिन आयोजना हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad