‘नृत्य नेपाली पारा’को दोस्रो संस्करणको घोषणा गरिएको छ। एक कार्यक्रमबीच यस रियालिटी शोको घोषणा गरिएको हो।
आयोजक संस्था नेपाल लोक नृत्य सेन्टरका अध्यक्ष केशव कोइरालाकाअनुसार प्रतियोगिता दुई तहमा सञ्चालन हुनेछ। जुनियर समूहमा कक्षा २ देखि ५ सम्मका विद्यार्थी र सिनियरमा समूहमा कक्षा ६ देखि १० सम्मका विद्यार्थीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितालाई नृत्य नेपाल संघले सहकार्य गरेको छ।
प्रतियोगिताको मुख्य निर्णयकमा शम्भु शाही छन् भने अन्य निर्णयकमा अनिता गोले तामाङ, रमेश बुढाथोकी, कृष्ण रसाल रहेका छन्। अडिसन राउण्डबाट छनोट भएका दुईवटै विधाका विद्यार्थीलाई नृत्य कार्यशाला (वर्कसप) गराइनेछ। प्रशिक्षकमा दक्षिणा लामा दावा, सरोज श्रेष्ठ र अभि वाग्ले छन्।
आवेदन फारम दर्ता शुल्क ५०० रुपैयाँ रहेको छ। वर्कसपपछि सहभागीको फोटोशुट पनि गरिने आयोजकले जनाएको छ। उनीहरूले नेपाली गीतमा मात्र प्रस्तुति दिन पाउनेछन्। प्रतियोगितामा प्रथम विजेताले २० हजार रुपैयाँ, दोस्रोले १० हजार, तेस्रोले सात हजार, चौथोंलाई पाँच हजार र पाँचौं पुरस्कारस्वरूप पाँच हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।
साथै उत्कृष्ट हाउभाउ, भेषभूषा, मौलिकता, दर्शकको रोजाइ र उत्कृष्ट प्रस्तुति गरी पाँच विशेष विधामा पनि ट्रफी, मेडल र प्रमाणपत्रसहित सम्मान गरिने जनाइएको छ। आयोजकले ‘नृत्य नेपाली पारा’लाई बालबालिकाको प्रतिभा अभिव्यक्तिको मञ्चका रूपमा प्रभावकारी रूपमा अघि ल्याइने विश्वास व्यक्त गरेका छन्।
Shares

प्रतिक्रिया