कला


रास्वपामा सेलेब्रिटीको आकर्षण किन? सपुत भन्छन् : बालेनलाई एकचोटि प्रधानमन्त्री बनाउन आएँ

रेखा भन्छिन्- पुराना पार्टीमा ठाउँ पाउन गाह्रो हुन्छ, नयाँ पार्टीलाई चिनिएका मान्छे थुपार्दा भोट बढ्छ भन्ने होला
रास्वपामा सेलेब्रिटीको आकर्षण किन? सपुत भन्छन् : बालेनलाई एकचोटि प्रधानमन्त्री बनाउन आएँ

लक्ष्मी बलायर
पुस १८, २०८२ शुक्रबार ७:४६, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक बन्दसूचीमा चर्चित सेलेब्रिटीहरू परेका छन्। गायक प्रकाश सपुत, गायिकाद्वय सत्यकला राई, डा त्रिशाला गुरुङ, अभिनेता आशिफ साह, अभिनेत्री रीमा विश्वकर्मा, पूर्व मिस नेपाल अनुष्का श्रेष्ठ र पूर्व मिस्टर नेपाल डा रूपक विश्वकर्मा घिमिरे सूचीमा छन्।

यसले रास्वपाप्रति सेलिब्रिटीहरूको आकर्षण बढेको देखिन्छ। हुन त यसअघि पनि अरू पार्टीमा कलाकार नजोडिएका होइनन्। गायिका कोमल वलीदेखि अभिनेत्रीद्वय रेखा थापा र करिश्मा मानन्धरसम्म राजनीतिक पार्टीमा लागिसकेका छन्। वली अहिले पनि एमालेबाट समानुपातिक उम्मेदवार छिन्।

त्यस्तै, सरोज खनाल, भुवन केसी, नीर शाह, श्वेता खड्का, निर्देशक अशोक शर्मा लगायतले पनि पार्टीको सदस्यता लिएका थिए। जबकि स्वतन्त्र रूपमा काठमाडौँ महानगरका मेयर चुनिएका बालेन शाह पनि चर्चित र्‍यापर हुन्। तर, यसरी एउटै पार्टीमा यति धेरै सेलेब्रिटी यसअघि कहिल्यै जोडिएका थिएनन्।

सन् २०११ का मिस्टर नेपाल डा रूपक घिमिरे दलित पुरुष क्लस्टरको पहिलो नम्बरमा परेका छन्। छाला रोग तथा कपाल प्रत्यारोपण विशेषज्ञ डा रूपक रास्वपाको केन्द्रीय अभियान विभागका सदस्य समेत हुन्। आकर्षित भएर नभई आफू देश बनाउने हुटहुटीले रास्वपामा लागेको उनले दाबी गरे।

‘म उपचुनावदेखि नै रास्वपामा छु। आकर्षणभन्दा पनि म देश बनाउनुपर्छ भनेर रास्वपामा आएको हुँ। पेसाले डाक्टर हुँ, जहाँ पैसा पनि छ। रहरले भन्दा पनि देशप्रतिको मायाले राजनीतिमा आएँ,’ उनले भने। 

सोमबार मात्रै रास्वपा सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र ऊर्जामन्त्रीसमेत रहेका कुलमानबीच राजनीतिक एकताको सहमति भइसकेको छ। उनीहरूको सहमति अनुसार नै रास्वपाले समानुपातिक उम्मेदवारको सूची तयार गरेको हो।

नेताहरू मिलेका कारण समेत सेलेब्रिटीहरूको आकर्षण बढेको हुनसक्ने डा रूपकको उनको भनाइ छ। दर्जन बढी टेलिभिजन विज्ञापन खेलिसकेका उनी फिल्म ‘चकलेट’ का अभिनेता हुन्।

अभिनेत्री तथा चर्चित होस्ट रीमा विश्वकर्मा कुलमान घिसिङको उज्यालो नेपाल पार्टीबाट राजनीतिमा आएकी हुन्। समानुपातितर्फ उम्मेदवार बनेकी रीमाले पार्टी घोषणाताका आफूलाई देशप्रति केही गर्ने हुटहुटी जागेकाले राजनीतिमा आएको बताएकी थिइन्। गत भदौ २३ र २४ मा देशमा भएको जेनजी आन्दोलनपछि जोकोहीलाई देश निर्माणमा जोडिन मन लाग्ने बताउँदै परिवर्तनको राजनीति गर्न आएको उनको भनाइ छ। यतिखेर भने उज्यालो नेपाल पार्टी रास्वपासँग मिलिसकेको छ।

गायक प्रकाश सपुतले आफ्ना गीतमार्फत राजनीतिक व्यङ्ग्य गर्दै आएका छन्। केही समयअघि प्रकाशले पुस्तक विमोचनमा केपी शर्मा ओलीको तारिफ गर्दा निकै गाली खाएका थिए। नीति बनाउने ठाउँमै पुगेर देशको लागि केही गर्न सकिन्छ भनेर राजनीतिमा होमिएको उनले सुनाए।

‘मेरो सिर्जनाको प्रकृति र कलाकारिताकै सक्रियता हेर्ने हो भने समाज र राजनीतिसँग सम्बन्धित छ। पेसागत हिसाबले कलाकारिता नै गरे पनि समाज र राजनीतिक चेत बुझ्ने प्रयास चाहिँ मेरो करिअरको सुरुवातदेखिकै सिर्जनामा देखिन्छ। औपचारिक रूपमा अचानक आएको जस्तो देखिएला, तर मेरो मस्तिष्कमा र ब्याकअप तयारी थियो। नीति बनाउने ठाउँमा पुगेर औपचारिक रूपमै राज्यको निकायमा केही गर्न सकिन्छ कि भन्ने हिसाबले अब जानुपर्छ भन्ने लाग्यो,’ उनले भने।

प्रकाश आफैँ पनि राजनीतिक परिवर्तनको साक्षी हुन्। समयअनुसार सबैप्रति आश राखे र सहयोग पनि गरे। तर, पुराना दलहरूले अपेक्षाकृत काम नगरेको उनको भनाइ छ। 

‘म नेपाली राजनीतिक दलहरूको साक्षी बस्दै हेर्दै आएँ। म त्यस्तो पुस्ताको मान्छे हो, जसले हरेक आन्दोलन र परिवर्तन देख्यो। सबैलाई समयअनुसार सपोर्ट र आश गर्दै पनि आइयो। व्यावहारिक रूपमा काम गर्ने कुरामा पुराना दलहरूको अलिकति अपेक्षाकृत भएन। व्यवस्था बदल्न ठूला दलहरूले ठूलो भूमिका खेल्नुभयो,’ उनले भने, ‘तर, त्यो संविधानको मर्मअनुसार विकास निर्माणदेखि सुदृढीकरण चाहिँ भएन। अहिले रास्वपामा जोडिएका मान्छेहरूलाई हेर्दाखेरी उनीहरूले आफ्नो क्षेत्रमा सुधार गरेका छन्। सफा नियतले काम गरेका छन्। इमानदार र अनुभवी देखिन्छन्। आफ्नो जिम्मेवारी पूरा गरेका देखिन्छन्।’

काठमाडौँका मेयर बालेनको कामबाट प्रभावित भएको बताउँदै बालेनलाई प्रधानमन्त्री बनाउने हेतुले रास्वपामा आकर्षित भएको उनले सुनाए।

सपुत भन्छन्, ‘म चाहिँ बालेनलाई एकचोटि प्रधानमन्त्री बनाउनपर्छ भन्ने हेतुले रास्वपामा लागेको हुँ। अहिलेको जति पनि राजनीतिक परिवर्तन छ, युवाहरूमा राजनीतिक चेतना जागेको छ, त्यो बालेनले नै हो। दलीय राजनीतिबाट माथि उठेर बालेनले काठमाडौँको मेयर जिते र काम पनि गरे। मलाई यत्तिको मान्छे देशको कार्यकारी भयो भने कम्तीमा पनि उसले संयन्त्र राम्रो बनाउँछ। टिम राम्रो बनाएर निस्वार्थ रूपमा देशलाई एउटा गतिमा लैजान्छन् है भन्ने लाग्यो। देशको स्टेयरिङ राम्रो ड्राइभरको हातमा जान्छ भन्ने हिसाबले आएँ।’

राजनीति गर्ने वा सांसद बन्ने उदेश्यले आफू नआएको उनको भनाइ छ। त्यस्तै, बालेनसँगको रवि लामिछाने र कुलमान घिसिङको एकताले थप उत्साह जगाएको उनले बताए।

‘जुन एकता देखियो, त्यसबाट नयाँ शक्तिहरूले केही गर्छन् भन्ने पनि हो। हामीसँग विधान, संविधान र व्यवस्था छ। हामीहसँग नीतिहरू पनि रहेछन्। अब त काम गर्ने मान्छे मात्रै चाहिएको हो। यो टिम आउँदा रविको खबरदारीमा बालेन र कुलमान जस्तो मान्छेहरू नेतृत्वमा पुगे भने रिजल्ट आउनेगरी काम गर्छन् भन्ने मेरो विश्वास छ,’ उनले सुनाए।

तर, अभिनेत्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध रेखा थापा रास्वपामा कलाकारहरूको प्रवेशलाई आकर्षण मान्दिनन्। सांसद बन्ने रहरले कलाकारहरू पार्टीमा आएको उनको भनाइ छ।

‘कसैलाई नेता बन्ने रहर छ भने कसैलाई सांसद। पुरानो पार्टीमा त्यो ठाउँ पाउन गाह्रो हुन्छ। किनकि पुरानो पार्टीको सिद्धान्त, ‍पृष्ठभूमि र संगठन भन्ने कुरा प्रक्रियाबद्ध हुन्छ। एकैचोटि समानुपातिकको एक नम्बरमा राख्दैन। किनकि पुरानोमा त वर्षौँवर्षदेखि जनताको सेवामा समर्पित कार्यकर्ता हुनुहुन्छ। उनीहरूलाई पनि मूल्यांकन गर्नुपर्ने हुन्छ,’ उनले भनिन्, ‘यो त अब भर्खर उदय भएको पार्टी। जसको कुनै संगठन छैन। न कुनै विगत। त्यसकारण आकर्षणभन्दा पनि चिनिएका मान्छेहरूलाई थुपार्दा समानुपातिक भोट बढ्छ भन्ने आशय होला जस्तो लाग्छ।’

रास्वपाले आफ्नो समानुपातिक सूचीमा कलाकारसहित पत्रकार, खेलाडी र व्यवसायीलाई उम्मेदवारको रूपमा राखेको छ। जसको यतिखेर निकै आलोचना भइरहेको छ। रेखाले त्यो बेला आफूले किस्तीमा दिएको पद नलिने भन्दै प्रत्यक्षमा उठेको दाबी गरिन्। २०७९ को चुनावमा मोरङ ३ बाट उठेकी रेखा हारेकी थिइन्।

पछिल्लो यो अवस्थाले समानुपातिककै खिल्ली उडाएको महसुस भइरहेको सुनाउँछिन् उनी।

भन्छिन्, ‘अहिलेका चेहराहरू अलिकति बुझ्ने देखिए तापनि समानुपातिककै खिल्ली उडाएको महसुस भयो। समानुपातिकमा त पिछडिएकाहरू समेटिनुपर्ने हो। उनीहरू वञ्चित भए। त्यसमा निकै दु:ख लागेको छ। यो पार्टी, त्यो पार्टी भन्दिनँ। तर, समानुपातिकको धज्जी उडेको छ।’

चर्चित व्यक्तिहरूले पनि यसबारे सोच्नुपर्ने उनको तर्क छ।

‘राख्नेले त राखे होलान्, जानेले पनि रहर गरे होलान्! समानुपातिकतर्फ जानुभएको चर्चित फेस हो भने उहाँहरूको जनताप्रतिको उत्तरदायित्व के त? उहाँहरू आफैँ सक्षम मान्छे हो भने प्रत्यक्ष लड्दा राम्रो हुन्थ्यो होला। हारजित आफ्नो ठाउँमा छ। तर, समानुपातिक जसलाई हुनुपर्ने हो, उसलाई दिनुपर्छ जस्तो लाग्छ। मै हुँ भन्नुहुन्छ। मेरो यति फ्लोअर्स छ, नेपाली जनता र दर्शकले चिन्छन् भन्नेहरूले त समानुपातिकमा बस्न लाज मान्नुपर्ने हो। राजनीति बुझेको, सुझबुझ भएको र जनताप्रति उत्तरदायी भएको मान्छेले त्यसो गर्दैन,’ उनले भनिन्।

अघिल्लो निर्वाचनमा होमिएकी रेखालाई यस वर्ष भने खासै चुनावको रौनकले छोएको छैन। न कसैका चुनावी एजेन्डाले आकर्षण गरेको छ। पछिल्लो राजनीतिक अवस्था हेर्दा नेपाली जनतालाई झुक्याउने र खाडलमा पार्ने काम भइरहेको सुनाउँछिन् उनी।

‘म नेपाल हाँसेको हेर्न चाहन्छु भनेपछि त्यस्तै सिनारियो देखिनुपर्ने हो नि त। तर, फरक दृश्य देखियो। जुन दृश्य देखेर मुलुक ठूलो खाडलमा जान थालेको डर लाग्दैछ,’ रेखाले भनिन्, ‘पपुलर र भाइरल प्रवृत्तिले देश बन्छ र? देश बन्नका लागि त साँच्चै क्षमता भएको व्यक्ति हुनुपर्छ। जनताको घरआँगनको धुलो उडेको महसुस बुझ्नुपर्छ। काठमाडौँमा आइसक्रिम खाएको व्यक्तिले एकैचोटि संसद् भवनको रोस्ट्रममा गएर बोल्दा चाहिँ जनताको बारेमा के बोल्न सक्छ?’

हिजो नेपोकिड भनेर विद्रोह भएर सिंहदरबार जले पनि समानुपातिक सूचीमा नेपोकिड नै हुनु दु:खद भएको उनको धारण छ। अहिले अरुले बनाएको खेल र नियममा चर्चितले खेल्ने रहर गरिरहेको उनले सुनाइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad