कला


नेपाली संगीत र सिनेमाका इमानदार लाहुरेको अवसान

नेपाली संगीत र सिनेमाका इमानदार लाहुरेको अवसान

इन्डियल आइडलको फाइनलमा प्रशान्त तामाङले गाएका थिए, ‘गोर्खालीको छोरो हुँ म, गोर्खे मेरो नाम...’


लक्ष्मी बलायर
पुस २७, २०८२ आइतबार १५:३, काठमाडौँ

त्यो १७ अगस्ट २००७ को दिन थियो। पूरै दक्षिण एसिया बाढीको त्रासदी र महामारीको चपेटामा थियो। काठमाडौँमा बीबीसी रेडियोको ‘साउथ एसिया फोकसिङ’ मा जोन सुदवोर्थ ढाकाबाट पठाएको बाढीको कहालीलाग्दो रिपोर्ट सुनाइरहेथे।

हाम्रै लालबकैया, बागमती र कोसीले धार परिवर्तन गरिरहेका थिए। ठिक यही समयमा प्रशान्त तामाङ नेपालीका ‘ग्लोबल आइकन’ बने। देशविदेशमा बसेका नेपालीका लागि एकै पटक मुटुको धड्कन बने।

यो त्यो समय थियो, जतिबेला इन्टरनेटले भर्खरै काठमाडौँलाई न्युयोर्कको छिमेकी बनाउँदै थियो। ठिक त्यही समय इन्डियन आइडलको मञ्चमा उनले १९७४ एडीको सिम्फोनीमा आफ्नो स्वर दिएका थिए। उनले केवल एउटा गीत मात्र गाइरहेका थिएनन्, विश्वभर छरिएका नेपाली मनहरूलाई एउटै सूत्रमा बाँधिरहेका थिए।

उनी भारतीय प्रहरी थिए तर उनको स्वरमा नेपालको पहाडी हावापानीको सुगन्ध थियो। उनलाई जिताउन दार्जिलिङदेखि काठमाडैंसम्म जुन लहर चल्यो, त्यसले प्रमाणित गरिदियो- ‘नेपाली हुनु’ को अर्थ भूगोलमा मात्रै सीमित छैन। उनको विजय उत्सव केवल दार्जिलिङमा मनाइएन, त्यो काठमाडौँका गल्लीदेखि सिकागोका सडकहरूसम्म एउटै उल्लासका साथ फैलियो।

‘इन्डियन आइडल’ को मञ्चमा दार्जिलिङका एक सामान्य प्रहरी जवान प्रशान्त तामाङले ‘मुसुमुसु हाँसीदेऊ न लैलै’ गाए। दक्षिण एसियाकै अपार दर्शक पाएको रियालिटी सोमा उनले गाए: यो मन त मेरो नेपाली हो।

त्यही आवाजको तरङ्गमार्फत उनी मुम्बइबाट सिक्किम, दार्जिलिङ पहाडका शृङ्खला काट्दै काठमाडौँका गल्ली-गल्लीसम्म आइपुगेको थिए। अझ भनौँ, इन्टरनेटमार्फत विश्वभर छरिएका नेपाली मनहरूमा पुगेका थिए।

प्रशान्तको निधनको दिन आइतबार उनको विरासतलाई फर्केर हेर्दा उनी केवल ‘इन्डियन आइडल’ मात्र थिएनन्। उनी नेपाली डायस्पोराका पहिलो भावनात्मक सेतु पनि थिए। इन्डियन आइडलमा प्रशान्त विजयी भएपछि देशैभर खुसियाली र उत्सवको माहोल बनेको थियो।

प्रशान्त इन्डियन आइडलका विजेता मात्र बनेनन्। उनी आधुनिक नेपाली पहिचान र गोर्खाली गौरवका पुनर्जागरणको प्रतीक पनि बने। प्रशान्तको सांगीतिक यात्राको पहिलो र बलियो साइनो ‘इन्डियन आइडल ३’ बाटै सुरू भएको थियो।

कुनै संगीतको औपचारिक ज्ञानबिनै इन्डिन आइडलमा भाग लिएका उनले अडिसनमा आफूलाई सिपाही प्रहरी रुपमा चिनाएका थिए। त्यसपछि उनले आफ्नो गायनमार्फत धेरैको मन जिते।

भारतीय टेलिभिजनको इतिहासमा सायद पहिलोपटक कुनै प्रतिभाले दुई देशलाई यसरी भावनात्मक रूपमा एकै ठाउँमा ल्याएको थियो। उनको गायन र अभिनयमा भएको मौलिक नेपालीपनका कारण नेपाल र बाहिरको नेपाली समुदायबाट ठूलो सम्मान र माया पाएका थिए। उनको जित विशाल भारतमा सीमान्तकृत नेपाली समुदायको ठूलो सपनाको विजय पनि थियो।

गायनबाट सुरु भएको उनको यात्रा गायनमै सीमित भएन, नेपाली फिल्मको स्क्रिनसम्म पुग्यो। ‘गोर्खा पल्टन’ मार्फत उनले सिनेमाको पर्दामार्फत ती लाखौँ नेपालीको कथा भने, जो कर्मको खोजीमा मुग्लान पसेका थिए। उनको अभिनयमा प्राविधिक निखारभन्दा बढी एउटा ‘इमानदार लाहुरे’को सादगी थियो। परदेशी, निशानी र अङ्गालो यो मायाको जस्ता फिल्महरूले उनलाई नेपालको घर-घरमा पुर्‍यायो।

आइडलको सफलतापछि प्रशान्तले आफ्नो कलात्मक यात्रालाई नेपालको माटोतर्फ मोडेका थिए। उनले ‘गोर्खा पल्टन’ जस्तो ब्लकबस्टर फिल्ममार्फत नेपाली रजतपटमा डेब्यु गरे। यो फिल्मले केवल व्यापार गरेन, लाहुरे संस्कृति र नेपाली वीरताको कथालाई नयाँ ढङ्गले प्रस्तुत गर्‍यो। त्यसपछि उनले अङ्गालो यो मायाको, परदेशी र निशानी जस्ता चलचित्रमा अभिनय गरेर नेपाली सिने उद्योगमा आफ्नो एउटा छुट्टै स्थान बनाए।

पछिल्लो समय प्रशान्त नेपाली सिनेमाबाहेक बलिउडमा समेत फैलिरहेका थिए। प्रशान्त पहिलोपटक सन् २००७ मा हिन्दी फिल्म ‘अम्बर धारा’ मा विशेष भूमिकामा देखिएका थिए। त्यसपछि उनी सन् २०२५ मा रिलिज भएको ‘पाताल लोक २’ मा देखिएका थिए। जसमा उनको अभिनयको निकै तारिफ भएको थियो। त्यसबाहेक उनी हालै सलमान खानको फिल्म ‘ब्याटल अफ गलवान’मा देखिने पक्का थियो।

केही महिनाअघि मात्रै तामाङले मुम्बईको गोरगाउँस्थित फिल्म सिटीमा छायांकन भइरहेको फिल्मको सेटबाट फोटो सार्वजनिक गर्दै आफू निकै उत्साहित भएको उल्लेख गरेका थिए। फिल्मको सुटिङ सकिए पनि उनले डबिङ भने गर्न पाएनन्।

उनको स्वरमा रहेको त्यो सरलता, जसले मुसुमुसु हाँसीदेऊ भन्दा सुन्नेको ओठमा हाँसो र यो मन त मेरो नेपाली भन्दा छातीमा गर्व भरिदिन्थ्यो, अब त्यो सम्झनामा मात्र बाँकी छ। असारे महिनामा होस् गोर्खा पल्टन। घामको मायादेखि मन साइँली र रातो रानी फूलेझैँ साँझमा लगायतका थुप्रै गीतमार्फत उनी नेपालीको मनमा बसेका छन्। त्यस्तै, इन्डियन आइडलमार्फत फ्यान बनेका भारतीय स्रोतामाझ पनि गुञ्जिनेछन्, कहिले होगा तुम से प्यारा कौन मार्फत त कहिले जिन्दगी पहेले कभीबाट।

उनको स्वरमा रहेको सरलता नै संगीतको क्षेत्रमा उनको शक्ति थियो। उनले गाएका नेपाली सुगम सङ्गीत र आधुनिक गीतहरूले प्रवासी नेपालीहरूका बीचमा विशेष लोकप्रियता पाएका थिए। उनको आवाजमा एउटा यस्तो ‘नोस्टाल्जिया’ थियो, जसले सुन्नेलाई गाउँ-घर र साथीभाइको सम्झना दिलाउँथ्यो।

प्रशान्त तामाङ नेपाली कला क्षेत्रमा यसरी भिजे कि, उनलाई ‘नेपालको छोरो’ भन्न कोही हिचकिचाएनन्। उनले नेपाल र भारतबीचको जनस्तरको सम्बन्धलाई गीत र सङ्गीतका माध्यमबाट मजबुत बनाउने एउटा सांस्कृतिक सेतुको काम गरे।

‘म त भारतीय हुँ तर मेरो भाषा र संस्कृति नेपाली हो। मेरो आधा मुटु नेपालमै धड्किन्छ,’ उनले धेरै अन्तर्वार्ताहरूमा भनेका छन्।

उनको सांगीतिक र कलात्मक यात्राको स्मरण गर्दा, हामी एउटा यस्तो कलाकारलाई देख्छौँ, जसले साधारण प्रहरीको बर्दी फुकालेर करोडौँको मनमा बस्ने गायक र नायकको छवि बनाए। उनको निधन एउटा गायकको अन्त्य मात्र होइन, बरु एउटा यस्तो अध्यायको विसर्जन हो जसले इन्टरनेटको माध्यमबाट नेपाली भावनालाई सम्भवत पहिलोपटक ‘भाइरल’ बनाएको थियो। उनको विरासत सधैँ ती गीतहरूमा बाँचिरहनेछ, जसले नेपाली भाषा र गौरवलाई विश्वको मञ्चमा उँचो बनायो। अलबिदा प्रशान्त!

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad