कला


चैत १९ देखि हुँदै निफको नवौं संस्करण

चैत १९ देखि हुँदै निफको नवौं संस्करण

नेपालखबर
माघ १, २०८२ बिहिबार १८:१, काठमाडौँ

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को नवौं संस्करण आयोजना मिति घोषणा भएको छ। यो महोत्सव चैत १९ देखि २३ (अप्रिल २ देखि ६) सम्म आयोजना हुनेछ।  

नवौं संस्करणमा दर्शकले ५ दिनभित्र ४० देशका ८८ फिल्म हेर्न पाउनेछन्। फिल्मकर्मीसँग संवादको समेत अवसर पाउनेछन्। ‘विश्वभरका कथाहरूको उत्सव, नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भन्ने नारालाई निरन्तरता दिँदै आयोजकले यस संस्करणको महोत्सवको मिति घोषणा गरेको हो। यस संस्करणमा युवा पुस्ताको रुचिलाई केन्द्रमा राखेर फिल्म छनोट गरिएको निफले विज्ञप्तिमा उल्लेख गरेको छ।

‘हामीले यो पटक युवापुस्ता केन्द्रित चलचित्रलाई प्राथमिकता दिएका छौं। निफलाई युवामैत्री बनाउने हाम्रो प्रयास छ। युवा मेकरलाई प्रत्सोहन गर्न हामीले एआई चलचित्र मेकिङको कार्यशाला लगायतका सेसन पनि राखेका छौं। चलचित्रबाट युवा दर्शकलाई आशा जगाउने हाम्रो मुख्य प्रयास रहनेछ,’ निफका अध्यक्ष केपी पाठकले भने।

यसवर्ष ८० भन्दा धेरै देशबाट ८०० बढी फिल्मले महोत्सवमा भाग लिएका छन्। विश्व प्रसिद्ध कान्स, बर्लिन, भेनिस, ट्राइबेका, सांघाई, लोकार्नो, बुसान, गोवा लगायतका महोत्सवमा सहभागि भएका र अवार्ड जितेका कथानक, छोटा र एआईबाट बनेका फिल्म, डकुमेन्ट्री गरि ४० देशका ८८ फिल्म छनोट हुन्।

भदौ २३ र २४ मा जेनजी आन्दोलनपछि विकसित परिस्थितीको कारण महोत्सव स्थगित भएको थियो। यसपटक भने २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचन सकिएपछि महोत्सवको मिति घोषणा गरिएको हो।

शीर्ष पुरस्कार अन्तर्राष्ट्रिय फिचर विधाको विजेतालाई १५०० डलर राशीको ‘गौतम बुद्ध अवार्ड’ बाट पुरस्कृत गरिनेछ। राष्ट्रिय चलचित्र विधाको विजेतालाई १ लाख नगद, डकुमेन्ट्री विधामा उत्कृष्ट हुनेले १ हजार डलरको माउन्ट एभरेस्ट अवार्ड पाउनेछन्।

दक्षिण एसियाली फिचर विधातर्फको विजेताले ५०० डलर र एआई चलचित्र विधाका विजेताले ५ सय डलरको ‘मञ्जुश्री अवार्ड’ पाउनेछन्। अन्तर्राष्ट्रिय स्टुडेन्ड सर्ट फिल्मका विजेताले ‘बेस्ट स्टुडेन्ड फिल्म अवार्ड’को ट्रफी पाउनेछन्।

राष्ट्रिय सर्ट फिल्म विधाका विजेताले ‘सर्वोत्कृष्ट राष्ट्रिय सर्ट फिल्म अवार्ड’ मार्फत पचास हजार नेरु दिइनेछ। राष्ट्रिय डकुमेन्ट्री विधाका विजेताले ‘बेस्ट नेसनल डकुमेन्ट्री’ अवार्डको ट्रफीसहित पचास हजार प्रदान गरिनेछ। राष्ट्रिय फिचरतर्फ सर्वोत्कृष्ट निर्देशक, अभिनेता, अभिनेत्री, पटकथा लेखक, छायाँकार विधामा पुरस्कृत गरिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad