कला


युवाको आवाज सुन्दै ‘कुमारी’ टिम, डबलीमा गरियो नेपाली चलचित्र, संगीत र मिडिया विशेष छलफल

युवाको आवाज सुन्दै ‘कुमारी’ टिम,  डबलीमा गरियो नेपाली चलचित्र, संगीत र मिडिया विशेष छलफल

नेपालखबर
माघ १५, २०८२ बिहिबार २०:१९, काठमाडौँ

 माघ २३ गते प्रदर्शनमा आउन लागेको ‘कुमारी’ टिमले ‘नेपाली चलचित्र, संगीत र मिडियाबाट युवा पुस्ताले के अपेक्षा राखेका छन्? भन्ने विषयमा छलफल भएको छ।  काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा आयोजित कार्यक्रममा विभिन्न क्याम्पसका विद्यार्थी, युवा सहभागीलगायत करिब ५ सय जनाको उपस्थिति रहेको थियो।

कार्यक्रममा चलचित्र ‘कुमारी’को टिमसँगै नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य तथा मदन पुरस्कार विजेता लेखक अमर न्यौपाने, सञ्चारकर्मी नरेश भट्टराई, निर्देशक दिनेश राउत, लेखक विकास सुवेदी, निर्माता महेन्द्र अधिकारी, गायक केहर सिंह लिम्बु तथा उनको ब्यान्डका सदस्यहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागी ३० जना युवाले नेपाली चलचित्र, सङ्गीत र मिडियासम्बन्धी आफ्ना धारणा राखेका थिए। युवाहरूले यस्ता किसिमका कार्यक्रमले आफ्ना भावना खुलेर व्यक्त गर्न पाएकोमा खुसी व्यक्त गरे।

सहभागी युवाहरूले निर्देशक दिनेश राउतका अघिल्ला चलचित्रहरूको प्रशंसा गर्दै चलचित्र जीवन बुझ्ने माध्यम भएको बताएका थिए। उनीहरूको भनाइ थियो, ‘हामी चलचित्र हलमा समय बिताउन मात्र जाँदैनौँ। सिनेमाले हाम्रो संस्कृति देखाउनुपर्छ, मौलिकता हुनुपर्छ।’

सामाजिक सञ्जाललाई युवालाई प्रभाव पार्ने प्रमुख माध्यमका रूपमा उल्लेख गर्दै कतिपय समीक्षामा अतिरञ्जना हुने गरेकोप्रति चिन्ता व्यक्त गरे। युवाहरूले नेपाली चलचित्रले आफूहरूले चाहेजस्तो स्तर नपुगेको भन्दै राम्रो चलचित्र हेर्न विदेशी फिल्मतर्फ आकर्षित हुनुपरेको गुनासो पनि गरे।

सङ्गीततर्फ युवाको अपेक्षा स्पष्ट थियो - ‘गीतमा हिरो-हिरोइनको लुक्सभन्दा पनि भावना चाहिन्छ। सङ्गीत मनोरञ्जनका लागि मात्र होइन्, जीवनसँग जोडिन सक्नुपर्छ।’ 

‘कुमारी’को चर्चित गीत ‘डोको बुन्ने’ ले सङ्गीतको मौलिक ‘एसेन्स’ बोकेको भन्दै युवाहरूले प्रशंसा गरेका थिए।

'कुमारी'का कलाकार अबिशेक खड्काले आफू पनि पश्चिमा चलचित्रहरूबाट बढी प्रभावित रहेता पनि पछिल्लो समय नेपाली चलचित्रले फड्को मारेकोमा खुसी देखिए। उनले आफूले डेब्यु गरेको चलचित्र 'कुमारी' पछिल्लो पुस्ताले चाहेको जस्तो रहेको  हुँदा ढुक्कले चलचित्र हेर्न आग्रह गरे।

सञ्चारकर्मी नरेश भट्टराईले युवालाई मिडिया तथा सामाजिक सञ्जालमा देखिने सबै कुरामा सजगतापूर्वक बुझेर मात्र विश्वास गर्न आग्रह गरे। लेखक अमर न्यौपानेले साहित्य र सिनेमाबीचको सम्बन्ध स्पष्ट पारे। 

चलचित्र ‘कुमारी’का लेखक विकास सुवेदीले युवाको निराशा देशका लागि घातक हुने बताए। उनले चलचित्र 'कुमारी'ले केही हदसम्म भए पनि नेपाली चलचित्रप्रतिको निराशा हटाउने दाबी गरे। उनले भने, ‘आवरण धेरैको मिल्न सक्छ तर त्यसको भित्री कुरा फरक हुन्छ। यो चलचित्र पनि सामान्य प्रेमकथा होइन। बाहिरबाट जस्तो देखिन्छ, भित्र त यसभन्दा फरक छ। ट्रेलरमै भएको कुराहरू मात्र यो चलचित्र होइन।’ 

निर्देशक दिनेश राउतको निर्देशनमा बनेको यस फिल्ममा अभिषेक खड्का र आकृति राजभण्डारीले मुख्य भूमिकामा डेब्यु गरेका छन्। उनीहरूसँगै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनषा शर्मा लगायतको अभिनय रहेको छ।

विनिश इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रको कथा तथा पटकथा विकास सुवेदीले लेखेका हुन्। छायाङ्कन सुसन प्रजापति, सम्पादन तथा कलर ग्रेडिङ सुप्रिम पराजुली, साउन्ड डिजाइन उत्तम न्यौपानेले गरेका छन्। पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेनको रहेको छ भने कार्यकारी निर्माता केदार भुसाल हुन्।

चलचित्रका गीतहरू ‘डोको बुन्ने’, ‘कता छौ मेरो फूल’ र ‘तिमी बिना’ले दर्शकमाझ राम्रो चर्चा पाइसकेका छन्। विशेष गरी ‘डोको बुन्ने’ गीतले ७२ लाखभन्दा बढी भ्युज प्राप्त गरिसकेको छ। चलचित्रका सबै गीतमा केहर सिंह लिम्बुको स्वर रहेको छ।

प्रेमकथामा सफल पहिचान बनाइसकेका निर्देशक दिनेश राउत सामाजिक विषयपछि पुनः प्रेम कथामा फर्किएको ‘कुमारी’ले स्वदेश तथा विदेशका दर्शकको मन जित्ने विश्वास लिइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad