बलिउडका चर्चित फिल्म निर्देशक रोहित शेट्टीको घरबाहिर आइतबार बिहानै गोली चलेको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार महाराष्ट्रको मुम्बईमा रहेको उनको घरबाहिर चार राउन्ड गोली चलेको हो।
मुम्बई प्रहरीले घटना आइतबार बिहान करिब ३ बजे भएको बताएको छ।
अज्ञात आक्रमणकारीहरूले चार राउन्ड गोली हानेपछि जुहुस्थित रोहित शेट्टीको घरवरिपरि सुरक्षाकर्मी तैनाथ गरिएको छ।
मुम्बईको जुहु क्षेत्रमा उनीसहित बलिउडका धेरै जना सेलिब्रेटी बस्छन्।
शेट्टीको घरबाहिर गोली हान्ने आक्रमणकारीहरूको पहिचान गर्न प्रहरीले हरेक कोणबाट अनुसन्धान गरिरहेको छ।
अहिलेसम्म आक्रमणको कारण थाहा हुन सकेको छैन भने कसैले पनि घटनाको जिम्मेवारी लिएको छैन।
यसअघि सलमान खानलगायत अन्य बलिउड सेलिब्रिटीका घरमा पनि गोली हानिएका छन्।
सन् २०२४ अप्रिल १४ मा सलमानको ग्यालेक्सी अपार्टमेन्टमा पनि गोली चलेको थियो। जसको जिम्मेवारी उनलाई मार्ने धम्की दिइरहने लरेन्स बिश्नोई ग्याङले लिएको थियो।
यस्तै केही समयअघि भारतीय कमेडियन तथा अभिनेता कपिल शर्माको क्याफे (क्यानडा) मा तीनपटक गोली प्रहार गरिएको थियो। त्यसको जिम्मेवारी पनि लरेन्स बिश्नोई ग्याङले लिएको थियो।
Shares

प्रतिक्रिया