रणवीर सिंहको मुख्य भूमिका रहेको फिल्म ‘धुरन्धर २’ ले बक्स अफिसमा ऐतिहासिक व्यापार गरिरहेको छ। प्रदर्शनको मात्र ५ दिनमा फिल्मले विश्वभर ८२९.७६ करोड भारतीय रुपैयाँ ग्रस कलेक्सन गर्दै नयाँ रेकर्ड कायम गरेको छ।
मार्च १९ मा रिलिज भएको यस फिल्मले आमिर खानको ‘पीके’ (७६९ करोड) र ‘छावा’ (८०७ करोड) को लाइफटाइम कलेक्सनलाई समेत पछाडि पारेको छ। ५ दिनको कमाइको मामिलामा यो फिल्म ‘पुष्पा २’ पछि भारतीय सिनेमाको इतिहासमै दोस्रो स्थानमा पर्न सफल भएको छ।
भारतमा मात्रै यस फिल्मले ५१९.१२ करोड भारु नेट कलेक्सन गरिसकेको छ। प्रदर्शनको पाँचौ दिन (सोमबार) मात्रै फिल्मले ६५ करोड भारु कमाएको थियो। हिन्दी भर्सनबाट मात्रै ६० करोड भारु संकलन भएको छ भने बाँकी तेलुगु, तमिल, कन्नड र मलयालम भर्सनबाट आएको हो।
आदित्य धरको निर्देशनमा बनेको ‘धुरन्धर: द रिभेन्ज’ बलिउडकै सुपरहिट फिल्म ‘धुरन्धर’ को सिक्वेल हो। यस फिल्ममा रणवीर सिंह गुप्तचर एजेन्टको भूमिकामा देखिएका छन्। साथै फिल्ममा सञ्जय दत्त, अर्जुन रामपाल र आर माधवन लगायतको अभिनय छ।
गत ५ डिसेम्बरमा रिलिज भएको ‘धुरन्धर’ले बक्सअफिसमा ठूलो सफलता हात पारेको थियो। पहिलो भागले विश्वभर १३०७ करोड भारु कमाएको थियो। रफ्तार हेर्दा छिट्टै १ हजार करोडको क्लबमा प्रवेश गर्ने निश्चित देखिएको छ।
Shares

प्रतिक्रिया