रिलिज मिति नजिएसँगै फिल्म ‘मालती मंगले’ले प्रचारप्रसार अभियान सुरु गरेको छ। प्रचारप्रसारको सुरुवातमा नयाँ वर्षको अवसर पारेर निर्माणटिम भक्तपुरमा आयोजित महोत्सव पुगेको थियो। जहाँ हजारौँ दर्शकले चलचित्रप्रति व्यग्र उत्सुकता र समर्थन जनाए।
महोत्सवमा गायक तथा चलचित्रका निर्माता रामकृष्ण ढकाल, चर्चित कमेडियन एवं यसै चलचित्रका कलाकार मेक्सम गौडेल, गायिका ऋतिका श्रेष्ठ र कार्यकारी निर्माता सागर ज्ञवाली सहभागी थिए।
कार्यक्रममा गायक ढकाल र गायिका श्रेष्ठले चलचित्रको हिट गीत ‘ढुंगामाथी लेउ’ को सांगीतिक प्रस्तुति दिएर दर्शकलाई मन्त्रमुग्ध पारे।कलाकार गौडेलले आफ्नो परिचित कमेडी शैलीमा चलचित्रको प्रचार गर्दै माहोल तताएका थिए भने सोही अवसरमा चलचित्रको टिजर समेत प्रदर्शन गरिएको थियो।
विविध कार्यव्यस्तताका कारण प्रमुख दुई कलाकारहरू विजय बराल र वर्षा राउत भने उक्त कार्यक्रममा उपस्थित हुन सकेनन्।यद्यपि, चलचित्रले तय गरेका आगामी देशव्यापी प्रचारप्रसारका कार्यक्रमहरुमा भने बराल र राउत दुवैको उपस्थिति रहने निर्माण पक्षले जनाएको छ।
प्रकु पाण्डेयको निर्देशनमा तयार भएको यस चलचित्रलाई रानी फिल्म्सको ब्यानरमा युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण गरिएको हो।फिल्मको कथा स्वयं निर्देशक पाण्डेयले नै लेखेका हुन् भने पटकथा तथा संवाद संयोग गुरागाईँको रहेको छ। दर्शकमाझ चलचित्रका दुई गीतहरू ‘सुनैको सपनी’ र ‘ढुङ्गा माथि लेऊ’ सार्वजनिक भइसकेका छन्।
फिल्ममा विजय बराल, वर्षा राउत र मेक्सम गौडेलका साथमा नरिन थापा, मान्सु सापकोटा, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा, गीता श्री, राज पङ्गेनी, सुस्मिता गुरुङ र सागर भट्टराई लगायतका कलाकारहरूको अभिनय रहेको छ।
Shares

प्रतिक्रिया