फिल्म ‘लालीबजार’ को ट्रेलर सार्वजनिक भएको छ। सुन्धरास्थित क्यूएफएक्स सिनेमाजमा आयोजित कार्यक्रमबीच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।
ट्रेलरमा फिल्मको कथावस्तु र पात्रबारे स्पष्ट पारिएको छ। जहाँ मुख्य अभिनेत्री स्वस्तिमा खड्कालाई यौनकर्मीको भूमिकामा देखाइएको छ। छोरी जन्मिएपछि स्वस्तिमाको सन्तानप्रतिको माया र चिन्तालाई ट्रेलरमा देख्न सकिन्छ। आमा र छोरीको सम्बन्ध वरिपरिनै ट्रेलर घुमेको छ।
मर्मस्पर्शी ट्रेलरले बाध्यताले यौनकर्मी बन्न पुगेका वादी समुदायका महिलाहरुको कथालाई उठान गरेको छ। छोरी जन्मिएपछि नाकमा लगाइने नत्थीमार्फत कसरी गाउँको साहुले यौन शोषण गरिरहेका छन्। त्यसविरुद्ध पात्रले गर्नुपरेको संघर्षको कथा ट्रेलरमा समेटिएको छ।
यस फिल्मको छायांकन बर्दियाको राजापुरमा गरिएको हो। फिल्ममा स्वस्तिमासहित रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी लगायतको अभिनय रहेको छ।
षट्कोण आर्टसको निर्माणमा बनेको यसै फिल्ममार्फत विशाल देवकोटा र प्रसंशा सुवेदीले डेब्यु गर्दैछन्। यो फिल्म वैशाख १८ गतेबाट रिलिज हुँदैछ।
निर्देशक यम थापाको कथा तथा निर्देशनमा तयार भएको फिल्म ‘लालीबजार’ को पटकथा र संवाद निर्देशक थापा र निर्देशक प्रदीप भट्टराईले संयुक्त रुपमा तयार गरेका हुन्। फिल्ममा कार्यकारी निर्माता प्रदीप भट्टराई हुन् भने म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता रहेका छन्।
Shares

प्रतिक्रिया