कला


‘लालीबजार’ बारे के भन्छन् निर्देशक, निर्माता र कलाकार?

‘लालीबजार’ बारे के भन्छन् निर्देशक, निर्माता र कलाकार?

नेपालखबर
बैशाख १३, २०८३ आइतबार १५:२५, काठमाडौँ

स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको फिल्म ‘लालीबजार’ आगामी वैशाख १८ मा प्रदर्शन हुँदैछ। षट्कोण आर्ट्सले ‘टल्क जंग भर्सेस टुल्के’, ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’, ‘महाजात्रा’ जस्ता सफल फिल्म निर्माण गरिसकेको छ। 

फिल्मको सार्वजनिक पहिलो पोस्टरले नै दर्शकको ध्यान केन्द्रीत गरेको थियो। जहाँ अभिनेत्री खड्का गर्भवती महिला शृंगार गरेर ढोकामा उभिएर हेरिरहेको पोस्टरले फिल्मको कथासार ब्याख्या गरेको थियो। 

‘बुलबुल’ र ‘चिसो मान्छे’ पछि स्वस्तिमालाई पात्रले चर्चामा ल्याएको फिल्म ‘लालीबजार’ लाई उनले आफ्नो अभिनय यात्राको ‘टर्नीङ प्वाइन्ट’ मानेकी छिन्। अभिनय यात्रा प्रारम्भ गरेको दशकपछि पहिलोपटक अडिसन दिएर स्वस्तिमाले आफूलाई ‘लालीबजार’ को मधुवाला नामक पात्रको लागि तयार गरेकी थिइन्। 

 ‘जात्रा’ देखि षट्कोण आर्ट्सले निर्माण गरेको फिल्मलाई प्रदीप भट्टराईले निर्देशन गरिरहेका थिएँ।  तर, यसपटक ’लालीबजार’ मा निर्देशनको जिम्मा यम थापालाई दिईएको छ। फिल्मको कथा पनि उनकै हो भने पटकथा निर्देशकद्वय भट्टराई र थापाले तयार गरेका छन्।

षट्कोण आर्ट्सले तराईको विषयमा एउटा फिल्म बनाउने तयारी गरिरहदा पटकथामा सुझाव दिन निर्देशक यम थापासँग निर्देशक भट्टराई, निर्माता तथा कलाकार रवीन्द्रसिंह बानियाँ र निर्माता म्याक्स दीपेश खत्रीको भेट भएको थियो। सोही भेटले ’लालीबजार’ को सहकार्य जुराएको थियो । सुझाव दिन भेटघाट भएको पटकथामा छलफल भएपछि निर्देशक यम थापाले आफूसँग भएको बादी समुदायको पृष्ठभूमिमा तयार गरिएको आमा र छोरीको कथा सुनाएका थिए।

सो कथा मन परेपछि षट्कोण आर्ट्सले फिल्म बनाउने तयारी सुरू गरेको थियो। डिजिटल माध्यममा पर्याप्त जानकारी उपलब्ध नभएपछि बर्दिया नै पुगेर अनुसन्धान गरेर फिल्मको कथालाई पूर्णता दिईएको निर्माण कम्पनिले जनाएका छन्। बादी समुदायसँग जोडिएको विषय भएकाले पनि निर्माण कम्पनि षट्कोण आट्र्सले निकै गम्भीरताका साथ पटकथा तयार गरेको थियो ।

बादी समुदायले गर्व गर्न सक्ने गरी फिल्म तयार गरिएको षट्कोण आर्ट्सको भनाइ छ। शनिवार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा फिल्मको विषयमा निर्माता म्याक्स दीपेश खत्री, निर्देशक यम थापा, कार्यकारी निर्माता तथा पटकथाकार प्रदीप भट्टराई, अभिनेत्री स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, अभय बराल, गोविन्द सुनार, आशा पौडेल, समाइरा थापासँगै डेब्यु कलाकार विशाल देवकोटा र प्रशंसा सुवेदीले छलफल गरे।

विशाल थियटरमा अभिनेतासँगै निर्देशकका रुपमा काम गरिरहेका कलाकर्मी हुन् भने प्रशंसा जेनजी अभियन्तासँगै कन्टेन्ट क्रिएटरका रुपमा परिचित छिन्। यी दुवै आफ्नो डेब्यु फिल्मलाई लिएर निकै उत्साहित सुनिए। 

निर्माता म्याक्स दीपेश खत्रीले यसपटक एउटा समुदायको पृष्ठभूमिमा रहेर आमा र छोरीको कथालाई दर्शकसामू ल्याएका सुनाए। यसअघि ‘महापुरूष’ मा हामीले बुवा र छोराको कथालाई देखाएका बताउँदै विषयवस्तुका हिसाबले ‘लालीबजार’ निर्माण गरेका फिल्म मध्ये उत्कृष्ट रहेको उनको भनाइ छ। 

त्यस्तै, यस फिल्मका कार्यकारी निर्माता तथा पटकथाकार प्रदीप भट्टराई फिल्मको कथा तयार पार्दा निकै मेहनत गरेको बताए। उनले भने,‘यमजीले आफूसँग भएको कथा हामीलाई दिनुभयो । त्यो पढेपछि हामीले फिल्म निर्माण गर्ने निर्णय लियौं। कथा बादी समुदायकी महिलाको भएकाले हामीले पटकथा तयार गर्दा धेरै छलफल र अनुसन्धान गर्यौं । नेपाली दर्शकलाई फरक किसिमको कथा पर्दामा ल्याउन हामीले सक्दो मेहनत गरेका छौँ। यो फिल्म हेरेपछि बादी समुदायको बारेमा दर्शकले थाहा पाउनु हुनेछ, अहिले हामी कहाँ आइरहेका धेरै जानकारी गलत पनि छन्। तर, यो विशुद्ध आमा र छोरीको कथा हो।’

कलाकार रवीन्द्रसिंह बानिया ‘टल्क जंग भर्सेस टुल्के’ पश्चात यस फिल्ममा नकारात्मक भूमिकामा छन्। एउटा शोसक र सामन्तको भूमिका देखिएका उनले त्यो पात्र निर्वाह गर्दा नै गाह्रो भएको सुनाए।  ‘त्यो पात्रमा देखिँदा निकै गाह्रो भयो। त्यहाँका दिदीबहिनीहरूले कसरी सहेर बस्नु भएको होला ? विषयको गम्भीरतालाई ध्यानमा राखेर हामीले फिल्म तयार गरेका छौँ,’ उनले भने, ‘यो फिल्म कमर्सियल छ तर यसलाई तयार गर्दा हामी बादी समुदायमै पुगेर अनुसन्धान गरेर फिल्मको पटकथा तयार गरेका हौँ। विषयको गम्भीरतालाई बुझेर हामीले काम गरेका छौँ। मैले फिल्म निर्वाह गरेको पात्रहरू समाजमा हुनु हुँदैन, त्यस्ता पात्र धर्तिमा रहन लायक छैनन्। यो फिल्ममा काम गर्दा थाहा पाएँ, हामीले वा राज्यले ती समुदायसँग जतिपटक माफी मागे पनि कम हुन्छ।’  

अभिनेत्री स्वस्तिमा खड्काले ‘लालीबजार’ काम गर्न पाउँदा निकै भाग्यमानी ठानेको बताइन्। ‘आगामी धेरै वर्षसम्म कलाकारका रुपमा चिनाउने फिल्म ‘लालीबजार’ बन्नेमा विश्वस्त छु । यो फिल्ममा कलाकार बन्न पाएकोमा मैले आफूलाई ‘लक्की’ मान्छु। षट्कोण आर्ट्सले फिल्म निर्माण गर्ने भएकै कारण अभिनय यात्राको दश वर्ष पुरा भएपछि मैले ‘लुक टेस्ट’ का लागि अडिसन दिएर फिल्ममा छनोट भएकी हुँ,’उनले भनिन्, ‘यो आमा र छोरीको कथा हो, तर मैले यसमा बादी महिलाको भूमिका निर्वाह गरेकी छु। आफ्नो पात्रलाई तयार गर्न म आफैँ बर्दिया पुगेर अनुसन्धान गरेकी थि। निकै उमेर हुनुभएका आमाहरुलाई भेटेर कुराकानी गरेकी थिएँ । मैले देखेको र बुझेको भन्दा भिन्नै संसारमा एउटा ‘मधुवाला’ पात्र भएर बाच्न पाएँ । मेरा लागि आगामी धेरै समयसम्म सम्झिने फिल्म हो’  

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad