कला


‘लभरगर्ल’ छवि छाडेर ‘एक मुठ्ठी बादल’ मा ‘सेल पकाउने’ माइली बनिन् आँचल

भन्छिन् : बल्ल चाहेको भूमिका पाएँ, करिअरकै टर्निङ प्वइन्ट हो

लक्ष्मी बलायर
जेठ १ , काठमाडौँ

‘नाइँ नभन्नु ल ४’ बाट डेब्यु गरेकी अभिनेत्री आँचल शर्माले १० वर्षे करिअरमा थुप्रै फिल्म खेलिन्। धेरैजसो फिल्ममा उनी ग्ल्यामरस र लभरगर्लको भूमिकामा देखिइन्। तर, उनको सधैँ एउटै गुनासो थियो: आफूलाई जहिले पनि एउटै खालको भूमिकामा मात्र हेरियो।

अब भने आँचलको त्यो स्थापित परिचय फेरिदैँछ। किनकि ‘एक मुठ्ठी बादल’ मा आँचल फरक भूमिकामा देखिँदैछिन्।

‘मेरो त धेरै अगाडिदेखि यस्तो भूमिका गर्ने मन थियो, तर अफर नै आउँदैनथ्यो। यसलाई फलानो सुहाइराखेको छ, यसलाई यति मात्र दिऊँ भन्ने खालको हुन्थ्यो। स्टेरियोटाइप गरिदिनुहुन्थ्यो। जसले गर्दा फरक भूमिकामा देखिन १० वर्ष लाग्यो,’ उत्साहित हुँदै उनले भनिन्।

जब आँचललाई यस फिल्मका निर्माता सामीप्यराज तिमिल्सेनाले प्रस्ताव गरे, तब उनी अचम्ममा परिन्। अन्तत: यस्तो पात्रको लागि अफर आयो भन्दै निकै खुसी भइन्। र, आफूभित्रको कलाकारलाई प्रमाणित गर्नुपर्ने बेला आएको महसुस गरिन्।

यस फिल्ममा आँचल माइली पात्रको भूमिकामा छिन्। जुन भूमिकाका लागि पहिले सिकेका अभिनयका सबै सूत्रहरू बिर्सनुपरेको उनको भनाइ छ।

‘यो भूमिकाको लागि मैले सिकेको सबै कुरालाई अनलर्न गर्नुपर्‍यो। मैले सिकेको सबै कुरालाई बिर्सिदिएर अनि फेरि नयाँ सुरुवात गर्नुपर्‍यो,’ उनले भनिन्, ‘अहिलेसम्म गरेका फिल्महरूमा मभन्दा त्यो पात्र खाने, लगाउने कुरामा माथि थियो। त्यही भएर मैले अझै एक्ट गरिराछु, अझै देखाउन खोजिराछु भन्ने हुन्थ्यो। तर, यो पात्र एकदमै नेचुरल छ। त्यसैले मैले एकदमै अनेस्ट भएर काम गर्ने मौका पाएकी थिएँ।’

आँचलका अनुसार उनले निर्वाह गरेको पात्रमा थुप्रै तहहरू छन्। जसले क्यारेक्टरको अन्तरद्वन्द्वलाई प्रस्तुत गर्छ।

‘मेरो पात्रमा धेरै पत्र, धेरै सूक्ष्म कुराहरू छन्, गहिराइ र उतारचढाव छ। यो अन्तरद्वन्द्वको कथा हो, जहाँ एउटा महिलाले विद्रोह पनि खुलेर गर्न सक्दिन। विद्रोह गरे पनि त्यो सुन्ने र बुझ्ने मान्छे छैन भनेर देखाइएको छ,’ उनले भनिन्।

सुटिङका क्रममा आँचलले सेल पकाउनुपर्ने दृश्य थियो। पात्रमा उनी यति डुबिन् कि तातो तेलले उनको हातमा ठूलो फोका उठ्यो। तर, उनले ऐया समेत भनिनन्।

भन्छिन्, ‘मलाई सहाराजीले किन केही नभनेको भनेर सोध्नुभयो। अनि मैले यो पात्रले रियाक्ट नै गर्दैन भनेँ। ओहो! यो पात्र त म जस्तै रहेछ भन्ने भयो। म पनि भित्रभित्रै द्वन्द्वमा हुन्छु तर कति कुरा राख्न सक्दिनँ।’

उनका अनुसार फिल्मले समाजमा महिला र आमालाई हेर्ने संकुचित सोचमाथि प्रश्न गर्छ। आमा भन्नेबित्तिकै घरको काम गर्ने र बच्चा स्याहार्ने यन्त्र मात्र होइन भन्ने आँचलको तर्क छ।

यो फिल्म गरिरहँदा आँचलले आफ्नै आमालाई पनि अझै चिन्ने मौका पाइन्। आफ्नी आमाले विचार राख्नुअघि १५ पटक सोच्नुपर्ने बाध्यता र गरेका त्यागहरूलाई उनले माइली पात्रमार्फत अनुभव गरिन्।

‘मैले पनि मेरो ममीलाई देख्थेँ अनि यही त गर्ने हो जस्तो हुन्थ्यो। तर, यो फिल्म गरिरहँदा मलाई बिचरा मामुले त कति त्याग गर्नुपरेछ भन्ने फिल भयो। उहाँको विचार नै हुँदैन थियो। अनि विचार राख्नुअगाडि नै १५ चोटि सोच्नुपर्ने। यस फिल्मले अलिकति सोच्न बाध्य गराउँछ जस्तो लाग्छ,’ उनले भनिन्।  

केही दिनअघि ‘एक मुठ्ठी बादल’को प्राइभेट स्क्रिनिङ गरिएको थियो। जहाँ पूर्वप्रधानमन्त्री सुशीला कार्कीदेखि सबैले आँचलको अभिनयको तारिफ गरे।

यस फिल्मलाई उनी करिअरकै टर्निङ प्वइन्ट मान्छिन्। साथै अभिनय यात्राको दोस्रो अध्याय पनि।

‘प्राइभेट स्क्रिनिङमा पूर्वप्रधानमन्त्रीज्यूले एकदमै राम्रो फिडब्याक दिनुभयो। त्यहाँ आउने सबैजनाले कस्तो नेचुरल अभिनय भन्ने प्रतिक्रिया थियो। यो फिल्मले अरू यस्ता फिल्महरूको लागि ढोका खोल्दिन्छ। आँचलले यस्तो खालको फिल्म खेल्छ भन्नेहरूले पनि अब मलाई बक्समा राख्नुहुन्न भन्ने लाग्छ, यसलाई करियरको टर्निङ प्वइन्ट नै मान्न मिल्छ। दोस्रो अध्याय पनि भन्न मिल्छ,’ उनी भन्छिन्।

आँचलका लागि यो फिल्म अर्को एउटा कारणले पनि विशेष रह्यो। महिला निर्देशक सहारा शर्माको नेतृत्व। पुरुष प्रधान सेटहरूमा काम गरिरहेकी आँचलले यसपटक अलग आत्मीयता पाइन्।

‘पुरुष डिरेक्टर हुँदा र महिला हुँदाको अनुभूति फरक हुँदोरहेछ। मैले सजिलै मेरो पिरियडको बारेमा भन्न पाएँ। रातिसम्म कोठामै गएर स्क्रिप्टको कुरा गर्न पाइयो। पुरुष डिरेक्टरसँग चाहिँ साथी हुन पनि अलिकति गाह्रो, अर्कोले के भन्ला भन्ने डर हुन्थ्यो,’ उनले सुनाइन्।

गत वर्ष मात्रै आँचलको मुख्य भूमिका रहेको ‘जेरी अन टप’ १२ करोड कमाउँदै सुपरहिट भयो। त्यो उनको करिअरकै सर्वाधिक कमाउने फिल्म समेत हो। यस्तोमा आँचललाई ‘एक मुठ्ठी बादल’ चल्नुपर्ने प्रेसर कत्तिको छ?

जवाफमा भन्छिन्, ‘व्यावसायिक रूपमा राम्रो भयो भने त सबैको लागि राम्रो हो। तर, कुनै फिल्म कस्तो हुन्छ भने नाफाकै लागि बनाइँदैन। सन्तुष्टिको लागि पनि बनाइन्छ। अझ महिला क्यारेक्टरहरूलाई चाहिँ यसरी देखाउन मन छ भन्नु उहाँहरुको विद्रोह पनि हो। यस फिल्मको स्क्रिप्ट नै हिरो हो।’

आँचल सामाजिक र राजनीतिक मुद्दामा आफ्नो स्पष्ट धारणा राख्छिन्। उनले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्त्वको विषयमा पनि विचार राखिन्।

सरकारको मूल्याङ्कन गर्ने बेला अझै नभएको उनको भनाइ छ। तर, सुकुम्बासी व्यवस्थापनमा सरकार गम्भीर हुनुपर्ने तर्क राखिन्।

‘सरकारले अझै धेरै काम गर्न बाँकी छ, त्यसैले अहिल्यै राम्रो वा नराम्रो भन्न सकिन्न। तर, सुकुम्बासीहरूको घर भत्काउँदा उहाँहरूको विकल्पका बारेमा सरकारले सोच्नुपर्छ। एउटा सुरक्षित छानो पाउनु सबैको अधिकार हो, सरकारले उहाँहरूलाई विशेष ध्यान दिनु जरुरी छ,’ उनले भनिन्।  

‘एक मुठ्ठी बादल’ जेठ १ गतेबाट रिलिज हुँदैछ।

‘यो कुनै बाहिरी फाइट भएको फिल्म होइन, यो त मनभित्रको विद्रोह हो। फिल्म हेर्दा दर्शकलाई आफ्नै झ्यालबाट छिमेकीको घर चियाएजस्तो महसुस हुनेछ।’

बैशाख ३१, २०८३ बिहिबार २१:२

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad