नेपालमा प्रदर्शन भइरहेको फिल्म ‘मालती मंगले’ अब अमेरिकामा रिलिज हुने भएको छ। सेभेन सिज इन्टरनेसनल फिल्म्स र नेपाल ११ इन्टरटेनमेन्टको सहकार्यमा यो फिल्म अमेरिकामा १५ मेबाट बक्स अफिसमा दैनिक शोसहित प्रदर्शनमा आउन लागेको हो।
अमेरिकाको सान फ्रान्सिस्को, ड्यालस, सिकागो, क्लिभल्यान्ड, सिनसिनाटी, कोलम्बस र अस्टिन लगायतका प्रमुख सहरमा रिलिज हुन लागेको जनाइएको छ। यस चलचित्रको अग्रिम बुकिङ निकै उत्साहजनक रूपमा भइरहेको निर्माण टिमले जनाएको छ।
अंग्रेजी सबटाइटलसहित प्रदर्शन हुने चलचित्रको क्यानडा रिलिजका लागि पनि अधिकार बिक्री भइसकेको छ। आँगन इभेन्ट्सले क्यानडाको प्रदर्शन अधिकार खरिद गरेको हो। अन्य देशमा पनि ‘सोल्ड आउट’ भइरहेको र यसको जानकारी छिट्टै दिने निर्माता रामकृष्ण ढकालले बताए।
नेपालमा यस फिल्मले सकारात्मक प्रतिक्रिया पाइरहेको छ। रानी फिल्म्सको ब्यानरमा युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको चलचित्रलाई प्रकु पाण्डेयले निर्देशन गरेका हुन्। निर्देशक पाण्डेयकै कथा रहेको चलचित्रको पटकथा तथा संवाद संयोग गुरागाईँले तयार पारेका हुन्।
चलचित्रमा विजय, वर्षा र मेक्समका साथमा प्रकाश घिमिरे, सरिता गिरी, नरिन थापा, मान्सु सापकोटा, सुस्मा निरौला र सुनिल तामाङको सशक्त अभिनय रहेको छ। सागर ज्ञवाली कार्यकारी निर्माता रहेको यस चलचित्रमा बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईँ सह-निर्माताका रूपमा रहेका छन्।
Shares

प्रतिक्रिया